• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
डबली

कथाकार प्रधानको निधन

काठमाडौं । कथाकार परशु प्रधानको  ८० वर्षको उमेरमा गएराति काठमाडौं बानेश्वरस्थित निवासमा निधन भएको छ । कथाकार प्रधानको जन्म २००० सालमा भोजपुरमा भएको हो । नेपाली साहित्य र राजनीति शास्त्रमा एमए गरेका प्रधानले २०१६ सालबाटै नेपाली साहित्यमा कलम चलाउन थालेका थिए । २०२६ सालदेखि प्रशासन सेवामा लागेका उनले राष्ट्रिय समाचार समिति र साझा प्रकाशनमा  पनि जागिर खाएका थिए ।

 

प्रधानले २०१६ सालमा ‘जीवन पथ’ कविता लेखेका थिए भने २०२५ मा सबै बिर्सिएका अनुहारहरु प्रकाशित भएको थियो । उनका १३ वटा कथा संग्रह प्रकाशित भएका छन् । बक्ररेखा, फेरी आक्रमण, यौटा अर्को दन्त्यकथा, असम्बद्ध, समुद्रमा अस्ताउने सूर्य, प्रतिनिधि कथाहरु, यौटा क्रान्तिपुरुषको जन्म, कथा र रचनागर्भ, उत्तरार्ध, द लिटिल बुद्ध इन टोकियो, परशु प्धानको उत्कृष्ट कथा, नेपलिज लभ स्टोरी र धनिया कथा संग्रह हुन् ।

 

उनका सीताहरु र घर कथोपन्यास पनि प्रकाशित भएका छन् भने यसका साथै करिब एक दर्जन बाल कथाहरु पनि प्रकाशित छन् । नानीको कथा, सुनको छाती, रीताको स्कूललगायतका बालकथा संग्रह प्रकाशित भएका छन् । प्रारम्भमा परशु प्रधान र भूमिकै भूमिकामा परशु प्रधान भन्ने भूमिका संग्रह पनि प्रकाशित भएका छन् । 

 

त्यसैगरी भोजपुर : एक अध्ययन, सजिलो नागरिक शास्त्र, सगरमाथा अञ्चलको भूगोल, सामान्य ज्ञान डाइजेस्ट ९२९ संस्करणसम्म प्रकाशित भएका छन् । प्रधानलाई नेपाल साहित्य संस्थान पुरस्कारसहित दुई दर्जन पुरस्कारबाट सम्मान गरिएको थियो ।

 

प्रधानकी जीवनसँगिनी कल्पना प्रधान पनि लेखन क्षेत्रमा चिनिएको नाम हो । उनी वरिष्ठ बालसाहित्यकार पनि हुन । उनले ‘मेरो सानो खरायो आज कता हरायो’ जस्तो चर्चित कविता लेखेका थिए । जुन उनको पहिलो कविता थियो । त्यसअघि उनी लोककथाहरू लेख्ने गर्थे । प्रधान बाह्रखरी अनलाइनका प्रधान सम्पादक प्रतीक प्रधानका बुवा हुन भने उनका दुई छोरा र दुई छोरी छन् ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार