• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
प्रविधी

एनसेलको शंकास्पद सेयर बिक्री प्रकरण

काठमाडौं । नेपाल सरकार वा नेपाली जनताको मातहतमा आउन पाँच वर्ष मात्र बाँकी रहँदा शंकास्पदतवरले एनसेलको ८० प्रतिशत सेयर खरिद बिक्री भएपछि संसदको अर्थसमिति र लेखा समितिले छुट्टाछुट्टै रूपमा अध्ययन थालेको छ ।

 

बुधबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समिति र लेखा समितिले यो विषयमा बैठक राखि सेयर खरिदबिक्री विषयमा अनुसन्धान गर्नुपर्ने जोड दिएको छ । अर्थ समितिले दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई छलफलका लागि बोलाउनुपर्ने आवश्यकता औंल्याएको छ भने । लेखा समितिले एक महिनाभित्रमा अध्ययन गर्न निर्देशन दिएको छ ।

 

आजियटाले एनसेलको ८० प्रतिशत सेयर सतीशलाल आचार्यको स्पेक्ट्रलाइट यूकेलाई शंकास्पदतवरले बिक्री गरेको पाइएपछि अर्थसमितिले एनसेलका सीईओ जाबोर कायुमोभलाई छलफलका लागि बोलाउने निर्णय गरेको हो । आजियटा मलेसियाकै सीईओलाई बोलाउनुपर्ने माग उठे तापनि एनसेलेको सीईओ मात्र बोलाउने निष्कर्षमा संसदको अर्थ समिति पुगेको छ । बैठकमा रास्वपा सांसद स्वर्णिम वाग्लेले आजियटाका सीईओलाई पत्र काटेर बोलाउन समितिलाई आग्रह गरेका थिए ।

 

अर्थ समितिको बैठकमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेल आजियटालाई कानुनी घेरामा ल्याउन अप्ठ्यारो रहेको जिकिर प्रस्तुत गरेका थिए । एनसेलमा तीन लेयरका सीईओ भएको र नेपालको दूरसञ्चार ऐनको दायरामा ल्याउन कानुनी प्रावधान नभएको प्रस्टीकरण दिए । अर्थ समितिको बैठकमा दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेलको सेयर खरिद मूल्य शंकास्पद रहेकाले छानबिन हुने स्पष्ट भने पारेका थिए । एनसेलको सेयर खरिद बिक्रीको अंक र प्रक्रिया शंकास्पद भएकाले यसमा छानबिन हुने उनको धारणा थियो ।

 

एनसेलको स्वामित्व रहेको रेनाल्ड होल्डिङको शतप्रतिशत सेयर खरिद बिक्रीका लागि आजियटा र यूके स्पेक्ट्रलाइटबिच सहमति भएको जवाफ आफूहरूले पाएको र सो सहमतिको कागजातपत्र अध्ययनका लागि माग गरिएकोे बताए । एनसेलको ८० प्रतिशत सेयर सो कम्पनीको रहेको छ भने २० प्रतिशत सेयर सतिशलाल आचार्यको रहेको छ ।आचार्यले नै प्रलोभनमा पारी स्मार्ट सेलको लाइसेन्स एनसेललाई लिन लगाउने गरी कानुन संशोधन गराएका थिए । जसले गर्दा आचार्यले एनसेलको नाममा स्मार्ट सेलको लाइसेन्स ६ अर्बमा टेन्डर पार्नेछ । २०८६ पछि सरकारको स्वामित्वमा जाने एनसेल पनि ६ अर्बमा हात पारी कुल १२ अर्बमा नेपालको दूरसञ्चार क्षेत्रमा आचार्यले एकछत्र राज गर्ने सम्भावना बढेको छ ।

 

बुधबारको अर्थ समितिको बैठकले प्राधिकरणका अध्यक्ष खनाललाई एनसेलको सेयर स्वामित्व खरिदबिक्री भएको विषयमा यथार्थ जानकारीसहितको विवरण आगामी १५ दिनभित्र पेस गर्न प्राधिकरणलाई निर्देशन दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेल आजियाटाको जवाफ प्राप्त जानकारी दिए । प्राधिकरणले एनसेल आजियाटालाई पत्र लेख्दै सेयरधनीको सेयर खरिद बिक्री वा नामसारी गर्नुपूर्व प्राधिकरणको स्वीकृति प्राप्त गर्नुपर्ने व्यवस्था स्मरण गराएको थियो ।

 

‘दूरसञ्चार नियमावली, २०५४ को नियम १५ बमोजिम चुक्ता पुँजीको पाँच प्रतिशतभन्दा बढी सेयर खरिद वा बिक्री गर्नुअघि प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था उल्लेख भएको र नेपाल दूरसञ्चार प्राधिकरण ९अनुमतिपत्र प्राप्त व्यक्तिको सेयर खरिद बिक्री० विनियमावली, २०७६ को विनियम ४ ९क० बमोजिम अनुमतिपत्र प्राप्त व्यक्तिले आफ्ना सेयरधनीको सेयर खरिद बिक्री वा नामसारी गर्नुपूर्व प्राधिकरणको स्वीकृति प्राप्त गर्नुपर्ने व्यवस्था रहेको छ ।

 

यसैगरी, संसदको सार्वजनिक लेखा समितिको बैठकमा सेयर खरिद–बिक्रीका सम्बन्धमा नेपाल दूरसञ्चार प्राधिकरण एवं कम्पनी रजिस्ट्रारको कार्यालयका पदाधिकारीलाई बोलाएर छलफल गर्दै ३० दिनभित्र कार्य सम्पादन गर्नेगरी तत्काल स्वतन्त्र अनुसन्धान गर्न, गराउने सरकारलाई निर्देशन पनि गरेको छ ।

 

लेखा समितिले कानुनी व्यवस्थाको परिपालना नगरिनु, सेयर खरिद–बिक्री गर्दा अवास्तविक, अनपेक्षित एवं अविश्वसनीय र अपारदर्शीतवरमा अति न्यून मूल्यांकन गरी खरिदबिक्री गरिनु शंकास्पद रहेको उल्लेख गरेको छ । पूर्णभक्त दुवाल/राजधानी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार