प्रधानको उपन्यास ‘एक चिहान’ मा रंगकर्मी सागरको निर्देशन
काठमाडौं । कक्षा १२ को पाठ्यक्रममा समावेश गरिएको प्रसिद्ध उपन्यास ‘एक चिहान’ पुन : मञ्चन हुने भएको छ । विभिन्न तहका पाठ्यक्रममा समावेश भएको कृतिहरुलाई नाटक मञ्चन गरेर विद्यालय शिक्षालाई फरक ढंगले सहयोग गर्न यस उपन्यासलाई नाट्यमा रुपान्तरण गरी मञ्चन गर्न लागिएको हो । काठमाडौको रातोपुलमा रहेको श्री ओजस थिएटर नेपालमा भदौ ७ गतेबाट नाटकको मञ्चन सुरु हुने निर्देशक सागर कार्कीले बताए ।
वरिष्ठ साहित्यकार हृदयचन्द्र सिंह प्रधानद्वारा लिखित उपन्यास तत्कालीन समयमा नेपाल खाल्डो अर्थात् काठमाडौं उपत्यकाको नेवारी किसानको जीवन परिवेशमा आधारित छ । सामाजिक जागरण र प्रगतिशील विचारहरु उपन्यासमा रहेका छन । २०१०-११ सालको काठमाडौ उपत्यका भित्रका नेवार किसान परिवारमा केन्द्रित रहेको नाटकमा जातीय र वर्गीय विभेद, अन्धविश्वासबारे कथा समेटिने निर्देशक कार्कीको भनाई छ ।
नाटकको अन्त्यमा त्यही समाज आर्दश उन्मुख रहेको देखाइन्छ र अन्त्य दुःखान्त भए पनि विचारले समाज सुधार र रुपान्तरणमा भूमिका खेल्न सक्छ भन्ने सन्देश नाटकमा मार्फत उजागर हुन्छ । उक्त उपन्यासका माध्यमबाट प्रधानले लेखनकालिन नेपाली समाजका नारीहरुले भोग्नुपरेका यातना, किसानहरु माथिको आर्थिक शोषण, सामाजिक अन्धविश्वास र त्यस प्रकारका विकृतिबाट मुक्तिको मार्ग निर्देश गर्नुभएको छ । जसको अनुभूति नाटक हेर्दा पाइने उपन्यास एक चिहानलाई नाट्य रुपान्तरण तथा निर्देशन गर्नुभएका कार्कीले बताए । नेवारी पोशाक, नेवारी लवजले नाटकलाई परिपक्व बनाउने प्रयासमा लागिपरेका छौं,ू निर्देशक कार्कीले भने । नाटकको अहिले ‘रिहर्सल’ भइरहेको छ ।
नाटकमा नारायण भण्डारी, विकास जोशी, कल्पना थापा, प्रदीप विश्वकर्मा, धीरेन कार्की, रश्मि गुरुङ र रचना पाण्डे, सन्केन्मा, पुरान राई, गोविन्द खड्का, मुकेश बराइली लगायतका कलाकारहरुको अभिनय रहने छ । कल्पना थापाको निर्माणमा मञ्चन हुन लागेको नाटकलाई एचबी मगरले नाट्य रूपान्तरण गरेका छन् । नाटक असोज १४ गतेसम्म मञ्चन हुनेछ ।





प्रतिकृया दिनुहोस