• शनिबार ३-१३-२०८३/Saturday 06-27-2026
रंगमञ्च

सामाजिक विकृतिविरुद्ध ‘सहीछाप’

काठमाडौं । नमोबुद्ध नगरपालिकाको आयोजनामा सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडकनाटक ‘सहीछाप’ प्रदर्शन हुने भएको छ  । नगरपालिकाले नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा वर्ग र स्थानीय समुदायलाई सामाजिक विकृतिविरुद्ध जागरूक बनाउने उद्देश्यले उक्त अभियान सञ्चालन गर्न लागेको हो ।

 


विशेष गरी नेपाली समाजमा अझै पनि चुनौतीको रूपमा रहेका बालविवाह, लागू पदार्थको दुव्र्यसनी, साइबर अपराध तथा अन्य समसामयिक सामाजिक विसङ्गतिहरूलाई नाटकको मुख्य विषयवस्तु बनाइएको छ । सूचना, मनोरञ्जन र चेतनालाई एकैसाथ प्रस्तुत गरिने उक्त नाटकले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।

 


नमोबुद्ध नगरपालिकाको महिला, बालबालिका तथा समाजकल्याण शाखा प्रमुख तारादेवी सुनुवारका अनुसार नाटक असार ११ र १२ गते नगरका दुई विद्यालयहरूमा प्रदर्शन गरिनेछ  । असार ११ गते नमोबुद्ध नगरपालिका वडा नं. ४, भकुण्डेबेसीस्थित जनक माध्यमिक विद्यालयको प्राङ्गणमा दिउँसो १ः०० बजे र असार १२ गते नमोबुद्ध नगरपालिका वडा नं. ९, दाप्चास्थित कृष्ण माध्यमिक विद्यालयको प्राङ्गणमा दिउँसो १ः०० बजे उक्त सडक नाटक प्रदर्शन हुनेछन् । 

 


शाखा प्रमुख सुनुवारले नाटक प्रदर्शनमा उपस्थित भई सचेतना अभियानलाई सफल बनाउन विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय बुद्धिजीवीहरूलाई हार्दिक अनुरोध समेत गरेका छन् ।आदिइत्यादिको प्रस्तुति रहेको नाटकलाई रङ्गकर्मी तथा निर्देशक पुरु लम्सालले लेखन तथा निर्देशन गर्नुभएको हो ।

 

नाटकमा प्रमुख कलाकारहरू बरिष्ठ कलाकार प्रभाकरदेव शर्मा, चर्चित कलाकार खुपीका बाउका रुपमा परिचित कमलमणि नेपाल, गौरीका रुपमा परिचित अनामीका लामिछाने, सागर कार्की, सेविता अधिकारी, रुपेश मण्डल र अन्जु खड्काको अभिनय रहेको छ ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार