• बुधबार २-१३-२०८३/Wednesday 05-27-2026
रंगमञ्च

भुइँमा छरिएका अछेताहरु

म अझै पनि सहरका केही 'विद्वान्', निर्देशक, समालोचक र अझ पछिल्लो समय साहित्यिक महोत्सव गर्ने ठेकेदारहरूले ठुलो स्वरमा फलाकेको सुन्छु, 'नेपालीमा नाटकहरू कहाँ लेखिएका छन् र ? नेपालीमा नाटक छैनन् !' ती महासयहरूलाई आफ्नै आँखा अगाडिको रङ्गमञ्च र आफ्नै माटोको सुगन्ध नदेख्ने कस्तो अचम्मको मोतियाबिन्दु लागेको होला ? म अचम्मित हुन्छु ! उनीहरूका लागि नाटक हुन कि त शेक्सपियर ब्युँतिएर आउनुपर्छ, कि त ग्रीक त्रासदीका ठुला-ठुला ठेलीहरू पल्टाउनुपर्छ । हाम्रै आँगनमा खेलिने नाटक, हाम्रा मौलिक कथाहरू र हाम्रै जीवनका भोगाइहरू त उनीहरूका लागि 'नाटक' नै भइदिँदैनन् । तर, मलाई लाग्छ, नेपाली रङ्गमञ्चमा कस्ता नाटकहरू मञ्चन भइरहेका छन् भन्ने कुराले मात्र खासै अर्थ राख्दैन । महत्त्वपूर्ण त यो हो कि, ती नाटकहरू कसले, कुन नियत र कस्तो पृष्ठभूमिबाट भित्री सहरसम्म ल्याइरहेका छन् ?

 

रङ्गमञ्च अफवाहको आकाश पनि हैन र मात्रै मनोरञ्जनको थलो पनि होइन; यो समाजको कुरूप ऐना र सीमान्तकृतहरूको आवाज पनि हो, जसलाई सहरका सुकिला कोठाहरूमा बसेर कल्पिन सकिँदैन। मैले गोविन्द सुनार भाइलाई सुरुमा एउटा अत्यन्तै प्रभावशाली,ऊर्जाशील र इमानदार अभिनेताका रूपमा चिनेको हुँ । नाटक 'हिउँभन्दा चिसो' मा उनको जीवन्त र परिपक्व अभिनय जसले पनि मञ्चमा नियाल्यो, उसले गोविन्दभित्रको सम्भावनालाई पक्कै नजरअन्दाज गर्न सक्दैनथ्यो। मञ्चमा उनी पात्र बाँच्थे, संवाद मात्र बोल्दैनथे । उनको त्यही अब्बल अभिनय क्षमता र रङ्गमञ्चप्रतिको निष्ठाबाट प्रभावित भएर नै मैले उनलाई एउटा चलचित्रमा अनुबन्धन पनि गरेको थिएँ। त्यहाँ उनले आफ्नो चरित्रलाई न्याय मात्र गरेनन्, पर्दामा आफ्नो अमिट छाप छोडे । अभिनयमा उनको निपुणता र शिल्पका अगाडि मेरो मनमा दुई मत हुने ठाउँ कतै थिएन।

 

 

सिर्जनाको भोक र कलाको हुटहुटीले मानिसलाई सधैँ नयाँ उचाइ र नयाँ भूमिकातर्फ डोर्यााउँछ । म विगत सम्झिन्छु, कहिलेकाहीँ शङ्खमूलको ओरालोमा उनैले सञ्चालन गरेको कलाघरमा कालो चियाको चुस्कीसँगै उनले मलाई कर्णालीको जीवन र अनगिन्ती कथाहरू सुनाएका थिए । उनी सधैँ भन्थे,'दाइ, मलाई मेरै कथा भन्नु छ, असाध्यै इमानदारितापूर्वक भन्नु छ।'

 

तिनै कुशल अभिनेता गोविन्द सुनार अहिले आफ्नो त्यही सपना साकार पार्दै बत्तीसपुतलीस्थित शिल्पी थिएटरको मञ्चमा 'अछेता' लिएर आइपुगेका छन् । तर, यसपटक म उनलाई मञ्चको अगाडि उभिएको पाइँदैनस उनी त नेपथ्यको त्यो सूत्रधार बनेका छन्, जसले एउटा सिङ्गो भूगोलको चीत्कार, आँसु र पीडालाई अक्षर र दृश्यको साझा क्यानभासमा उनेको छ । 'अछेता' मार्फत गोविन्द अभिनेताको घेराबाट माथि उठेका छन् र नेपाली रङ्गमञ्चमा एउटा अब्बल लेखक तथा निर्देशकका रूपमा दरिलो गरी उदाएका छन् ।

 

गोविन्दको सबैभन्दा सुन्दर र इमानदार पक्ष मलाई के लाग्छ भने, उनी काठमाडौँको कोठामा बसेर, इन्टरनेट नियालेर कल्पिएको 'काल्पनिक कर्णाली' लेख्दैनन् । उनी त आफैँले बाँचेको, आफ्नै कथा,आफ्नै भूगोल,आफ्नै माटोको सुगन्ध र आफ्नै संस्कृति बोकेर सहर पसेका छन् । त्यसैले त 'अछेता' मा कर्णालीको रैथाने खस भाषा छ, त्यहाँको ढुङ्गेनी लवज छ,मौलिकता छ र जीवन छ । मञ्चमा असारे र प्रेमका रैथाने भाकाहरू गुञ्जिरहँदा वा मृत्यु संस्कारका कारुणिक सुस्केराहरू सल्किँदा दर्शकदीर्घामा बस्ने जोकोहीको पनि शरीर जिरिङ्ग हुन्छ,आँखाहरू रसाउँछन् । गोविन्दले सहरका सुकिला दर्शकलाई नाटक मात्र देखाएका छैनन्, बरु हात समातेर कर्णालीको दुर्गम गाउँको आँगनमै पुर्यानएका छन्, जहाँ आजको २१ औँ शताब्दीमा पनि अभावका डोबहरू र विभेदका तीखा काँढाहरू जीवितै छन् ।

 

निर्देशक र लेखकका रूपमा गोविन्दले यो नाटकमा जुन तीनवटा मुख्य मुद्दाहरू उठाएका छन्, ती मलाई अत्यन्तै विचारोत्तेजक, मर्मभेदी र विद्रोही प्रकृतिका लागे। उनले कथालाई बजारु सस्तो लोकप्रियता वा कुनै कृत्रिम ढाँचामा ढाल्ने चेष्टा गरेका छैनन्, बरु हाम्रो कथित सभ्य समाजको कुरूप मुकुण्डोलाई सिधै मञ्चमा ल्याएर बजारिदिएका छन् । नाटकको पहिलो र सबैभन्दा बलियो प्रहार हाम्रो समाजमा जरा गाडेर बसेको ढोंगी जात व्यवस्था माथि छ। नाटकको मुख्य पात्र दल कामी पेसाले मूर्तिकार हुन्। जसमा अचम्मको विरोधाभास र सामाजिक पाखण्ड छ । उनैले छिनो र मार्तोलको चोटले कुँदेर बनाएका देउता गाउँका ठूलाठालु, जमिनदार र नेताका बैठक कोठादेखि मन्दिरको गर्भगृहसम्म सजाइन्छन् र पुजिन्छन् । तर, विडम्बना ! तिनै देउताको सामुन्ने पुग्दा उनै दलले हातमा लिएको 'अछेता' सम्म मन्दिरमा चढाउन पाउँदैनन् ।

 

अझ उदेकलाग्दो र मर्मभेदी दृश्य छ जब दलको शरीरमा देउता चढ्छ र गाउँका कथित उपल्लो जातका मानिसहरू उनको गोत्र, जात र थर भुलेर उनको खुट्टामा शिर राख्न पुग्छन् । तर, उनी जुनसुकै बेला देउताको आवेशबाट सामान्य मानवीय जीवनमा फर्किन्छन्,मन्दिरको आँगनबाट उनलाई कुकुरलाई जस्तै गलहत्याइन्छ । यो दृश्य नेपाली समाजमा गढेर बसेको जातीय विभेद र हाम्रो ढोंगी राजनीतिक नेतृत्वको गालामा लागेको एउटा कडा थप्पड हो । जातीय विभेदसँगै गोविन्दले नाटकमा अन्धविश्वास र मानवीय चेतनाबीचको एउटा द्वन्द्व पनि उत्खनन गरेका छन्। नवजात शिशु ओछ्यानमा ओइलाएर छटपटाइरहँदा,उसलाई अस्पताल लैजानुको साटो मन्दिर र धामी-झाँक्रीकै चक्करमा अल्झिरहने दल कामीको चरित्रले हाम्रो समाजको एउटा अन्धकार पाटोलाई प्रतिनिधित्व गर्छ । उनी आफ्नै कला र देउतामाथि अन्धो विश्वास राख्छन्। तर,अर्कोतिर उनकी पत्नी गीताको छटपटी, रोदन र आक्रोशले चेतनाको त्यो दियो बाल्छ,जसले अन्धविश्वासको अँध्यारोलाई निरन्तर चुनौती दिइरहन्छ।

 

यो केवल अन्धविश्वासको कथा मात्र होइन,यो सिंहदरबारको शक्ति र कर्णालीको दूरीबीचको डरलाग्दो असमानताको एउटा जीवन्त दस्ताबेज हो। कर्णालीका सदरमुकामहरूमा अस्पतालका नाममा ठूला-ठूला निर्जीव भवनहरू त ठडिएका छन्, तर त्यहाँ बिरामी जाँच्ने डाक्टर बस्दैनन् डाक्टरहरू सहरकै सुखसयल र सुविधायुक्त अस्पतालमा रमाउँछन् । पैसा र पहुँच हुने कथित उपल्लो जातका मानिसहरू उपचारका लागि सहजै सीमापारि 'लखनउ' सम्म पुग्न सक्छन्, तर आर्थिक रूपमा थिचिएका, निमोठिएका दल कामी र गीताका लागि यो देशको राजधानी 'काठमाडौँ' अझै पनि पहुँचभन्दा निकै टाढाको एउटा दुर्गम ग्रहजस्तो भइदिन्छ । सिङ्गो कथानकलाई आफ्नो काँधमा बोकेर दर्शकलाई आद्योपान्त बाँधिराख्ने मुख्य जस 'दल कामी' को भूमिकामा देखिएका अभिनेता झकेन बिसीलाई जान्छ। मञ्चमा झकेनले अभिनय मात्र गरेका छैनन्,उनी दल कामीको नियति र छटपटीमा यसरी पग्लिएका छन् कि मैले मञ्चमा झकेनलाई देख्दै देखिनँ, देखेँ त केवल एउटा अभागी मूर्तिकार ।

 

उनको अभिनयको सबैभन्दा सुन्दर पक्ष उनको शारीरिक र आँखाको भाषा लाग्यो। आफूले बनाएको देउतालाई वडाध्यक्षको हातमा सुम्पिँदा भुइँमा राख्नुपर्ने विवशता झल्किँदा होस्, वा मन्दिरको आँगनबाट गलहत्याइँदा हातबाट अछेता छरपष्ट भएको त्यो कहालीलाग्दो क्षणमा होस्— दल कामीको अनुहारमा देखिने निरीहता र मौन आक्रोशले छाती चर्किएर आउँछ । जब उनीमाथि देउता चढ्छ, उनको शरीरमा देखिने त्यो अद्भुत कम्पन र ऊर्जाले सिङ्गो मञ्च जुरुक्क उठेको महसुस हुन्छ । तर, जसै देउता उत्रिन्छ, एउटा उत्पीडित दलितको रूपमा मन्दिरको ढोकामा टुक्रुक्क बस्दा उनको काँध जसरी नुहिएको देखिन्छ, त्यसले समाजको शताब्दीऔँ लामो उत्पीडनको बोझलाई जीवन्त रूपमा प्रस्तुत गर्छ । कर्णालीको खस लवजको शुद्धता र संवादको उतारचढावमा झकेनले जुन मिहिनेत गरेका छन्, त्यसले उनलाई समकालीन नेपाली रङ्गमञ्चको पछिल्लो पुस्ताको एउटा अत्यन्तै प्रगाढ र भरपर्दो अभिनेताका रूपमा स्थापित गरिदिएको मैले पाएँ ।

 

झकेन बिसीसँगै मञ्चमा सुस्मिता कुँवरको जीवन्त उपस्थिति छ। गीताको रूपमा सुस्मिताको अभिनय निकै सुन्दर र परिपक्व छ। एउटा नवजात शिशुलाई काखमा लिएर, उसको छटपटी र ओइलाउँदै गएको ज्यान हेरेर रुने गीताको रोइलोमा कुनै कृत्रिमता छैन। पतिको अन्धविश्वास र राज्यको लाचारीविरुद्ध उनले ओकल्ने आक्रोश र आँसुले दर्शकको मुटु निमोठ्छ। सुस्मिताले कर्णालीकी एउटी आमा र श्रीमतीको संवेदनात्मक धरातललाई मञ्चमा असाध्यै बलियो गरी समातेकी छन् ।

 

 

केही पात्रको अभिनय र सानातिना प्राविधिक पक्षलाई छोड्ने हो भने नाटकमा खड्किने कुराहरू अरू खासै केही छैनन् । मुगुकै स्थानीय कलाकारहरूको बाहुल्यता रहेको यस नाटकमा जुनमाया परियार, सुवास खत्री, केशव रोकाया, दिपेश खत्री, आरती बुढा, गोमा खत्री, अप्सरा केसी, जमुना शाही, कल्पना मल्ल र शवानी परियारको अभिनय छ । अभिनेता गोविन्द सुनार आज 'अछेता' सम्म आइपुग्दा नेपाली रङ्गमञ्चले एउटा संवेदनशील, परिपक्व लेखक र निर्देशक पाएको मैले महसुस गरेको छु । यो नाटक केवल नियमित मञ्चन मात्र होइन, यो त नेपाली रङ्गमञ्चको विविधता र समावेशी सौन्दर्यशास्त्रमा थपिएको एउटा नयाँ, क्रान्तिकारी र ऐतिहासिक आयाम हो । आफ्नै माटोको सुगन्ध, पीडा र आक्रोशलाई यति सशक्त रूपमा केन्द्रको आँखामै हेरेर भन्न सफल भाइ गोविन्द सुनारलाई हार्दिक बधाई तथा शुभकामना ! आगामी दिनमा उनको यो निर्देशकीय र लेखकीय यात्राले नेपाली नाटक र रङ्गमञ्चले अझै नयाँ र उज्यालो उचाइ लिनेछ भन्ने कुरामा म पूर्ण रूपमा विश्वस्त छु।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार