पत्रकार श्रेष्ठको रिहाइको माग गर्दै महासंघको धर्ना
काठमाडौँ ।नेपाल पत्रकार महासंघले वरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै काठमाडौँ प्रहरी परिसर भद्रकालीमा धर्ना दिएको छ । समाचारसँग सम्बन्धित विषयलाई लिएर वरिष्ठ पत्रकार श्रेष्ठ पक्राउ परेको घटनाको विरोधमा महासंघले र धर्ना दिएको हो ।
जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष श्रेष्ठलाई बुधबार राति काठमाडौँ प्रहरी परिसरको टोलीले ललितपुरस्थित निवासबाट पक्राउ गरेको थियो ।
समाचारमा चित्त नबुझेका विषयमा हेर्ने क्षेत्राधिकार प्रेस काउन्सिल नेपाल हो । यसको दुरुपयोग गर्दै सरकारी संयन्त्र प्रयोग गरेर पत्रकार श्रेष्ठमाथि गरिएको यस्तो व्यवहार प्रेस तथा अभिव्यक्ति स्वन्तत्रता, पत्रकार आचारसंहिता र संविधानविरुद्ध रहेको महासंघले जनाएको छ ।
'यो घटनाले लोकतान्त्रिक मूल्य–मान्यता र स्वतन्त्र प्रेसको विश्वव्यापी मान्यतामाथि प्रहार गरेको महासंघको बुझाइ छ । महासंघ सरकारको यो स्वेच्छाचारी शैलीप्रति खेद प्रकट गर्दै कडा भर्त्सना गर्दछ ।
महासंघ प्रेसविरोधी यस्ता व्यवहार सच्याउन र पत्रकार श्रेष्ठलाई तत्काल बिनाशर्त रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गर्न माग गर्दै समाचारको विषय भए प्रेस काउन्सिल नेपालमार्फत आवश्यक प्रक्रिया अवलम्बन गरी समाधान खोज्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।
साथै, आफ्नो क्षेत्राधिकारको स्वामित्वको विषयमा प्रभावकारी भूमिका निर्वाह गर्न प्रेस काउन्सिल नेपाललाई आग्रह गर्दछ ।'विज्ञप्तिमा उल्लेख छ ।





प्रतिकृया दिनुहोस