निर्मलकुमार रिमालका एघार ताङ्का
१.
इतिहासको
पाना छ भरिएको
रक्त र पित्त
वेदनाको कहानी
दोहोरिएर सँधै ।
२.
विचार वेग
उदाएको छ ममा
सहज छैन
सो गहिराई बुझ्न
सितिमिति ढङ्गले ।
३.
गाँजिरहेछ
विश्वलाई द्वन्द्वले
नहटेसम्म
विभेद मनबाट
रोकिँदैन बवाल ।
४.
कवि श्रष्टा हो
गर्छ सिर्जना सँधै
रमण गर्छ
आफ्नै संसारमा ऊ
विशुद्ध विचार लिई ।
५.
पर्दा पछाडि
भइरहेछ खेल
अनभिज्ञ छ
मानिस यसबारे
आफ्नै काम धन्दाले ।
६.
कुनाकुनामा
पनि पर्छ बढार्न
फोहोरलाई
त्यस्तै हो मन पनि
धुनुपर्छ सदा ।
७.
सकिन्छ नाप्न
समयको रफ्तार ?
अन्धो विज्ञानले
गरी चमत्कार
झन् पो बढ्यो पाप ।
८.
शीतको थोपा
आवरण भोरको
सुशाशित छ
यो धराको सचित्र
पार्छ सदा मोहित ।
९.
सीमित भई बाँच्न
म त चाहन्नँ
आकाशजस्तै
उदाङ्ग र उदात्त
भएर बाँच्न सकूँ ।
१०.
रातमा पनि
निन्द्रा छैन मलाई
पीरले मलाई
हो शरिर सुकेको
छैन मनमा शान्ति ।
११.
युधिष्ठिरले
हारेको झोँकमा
जुवामा
राखे द्रौपदीलाई दाउमा
हार्नुपर्यो द्रौपदीले ।
(दिवङ्गत रिमालले आयुर्वेदीय औषधि उत्पादनमा लामो समय बिताए । तर, साहित्यसँग उनको समीपको सम्बन्ध रह्यो । उनका डेढ दर्जन साहित्यिक कृतिहरु प्रकाशित छन् । –सम्पादक)
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस