मौन आवाज
बडो मेहनतका साथ
एक एक शब्दमा लगाएर धार
मेरा प्रत्येक मौन आवाजमाथी
नचाइरहेको हुन्छ समयले नयाँ नयाँ खुकुरी
हर प्रहर...
मानौ
कुनैदिन बटुलेर एक एक आवाज
म कसैको कानसम्म पुग्नेछु
र प्रतिध्वनी भएर
मस्तिष्कमा रोटे पिङ्ग घुमाउनेछु
यस्तै अकल्पनीय भयले
प्रतिबन्धित भित्ता बनेर कोहि
उभिदिन्छ मेरो अगाडि
अनि, मेरो प्रयास ठोक्किएर भित्तातिरै
एउटा शक्तिशाली आवाजको अवसान हुनपुगोस भन्ने ठान्दिन्छ ।
मानौ
निकाल्नलाई तातो–तातो आवाज
म भरभरी बल्छु आफैं सल्किएर आगो
तर यदि छुन सकिन भने कसैलाई
निरीह भैदिन्छ आगोको आवाज
निरिह आवाजको खिल्ली उडाउने अगेना पनि
मात्र मूकदर्शक बन्न सक्दोरहेछ।
जन्माउनलाई अर्को आवाज
मेरो आखाँमा छारो हाल्ने दुष्प्रयासहरू बटुल्दै
म हावाको हात समाउन पुग्छु र
परिणत हुनखोज्छु हुरीमा
तर
भत्किने डरले ढोका बन्द गर्नेहरूको हुलको जीत हुन्छ यहाँ पनि।
आवाजको आविष्कार गर्नलाई त
हजार उपाय संचित छ मभित्र अझै
जस्तोकी
म भत्किदा पनि निस्किन्छ आवाज
म पोखिदा पनि निस्किन्छ आवाज
म टुक्रिदा पनि निस्किन्छ आवाज
तर आवाजको लोभमा
कसैको लागि पहिरो जान सक्दिनँ
कसैको लागि भेलबाडी उर्लिन सक्दिनँ
न त सक्छु भुवा जस्तो बादल आकाशिएर
कसैको आकाशमा च्ट्याङ्ग पड्किन
त्यसैले समय
म मौन छु
एकदम मौन...
सक्छौ अझै नचाउ नयाँ नयाँ हतियार
मेरो मौनताको शिरमाथी ।
प्रतिकृया दिनुहोस