• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
डबली

नरेन्द्रकुमार नगरकोटीका दुई कविता 

१.केटी : एक सिङ्गो कविता

एउटी केटीले भनी-
मेरो बारेमा कविता लेखिदेऊ न कवि
कवि तुरून्त प्रत्युत्तरमा बोल्यो-
तिमी स्वयम् एक तेजिलो कविता हौ

 

केटीले बदलामा मीठो मुस्कान दिई
कवि पुलकित हुँदै शब्दको जोहो गर्न लागिपर्‍यो
कविले शब्दहरू फेला पार्न सकेन
कविले विम्बहरू भेला पार्न जानेन
कविले केवल केटी मात्र देखिरह्यो
केटी आँखाको डिलमा
केटी हृदयको तालमा
केटी कविताको छालमा

 

कविले एउटा कविता लेख्नु भन्दा कैयौं गुणा प्रभावशाली काम
कसैको अधरमा मुस्कान ल्याउन सक्नु हो भन्ने बुझ्यो
उसले आजसम्म लेखेका सबै कवितामा केके छन् भनेर गम्यो

 

मुस्कान
खुसी
स्पन्दन
चञ्चलता

 

आगो
क्रान्ति
इन्कलाब

 

घृणा
द्वेष
वैरभाव

 

कविले सम्झ्यो,
जानीनजानी
कत्ति कमजोरहरूको आँसु बगाएँ होला
कत्ति अबोधहरूको मुस्कान खोसेँ होला
कत्ति दुःखीहरूको दुःखको पारो चढाएँ होला

 

लेख्न त लेखेँ होला
निमुखाका पक्षमा दुई वाक्य
निम्नवर्गका लागि एक आवाज
असहायको वकालतमा केही प्रश्न

 

तर पनि, हर कोहीले एउटा मानिसको अधरमा मुस्कान ल्याउन सके
सर्वाधिक प्रभावशाली कविता त्यही हुने थियो

 

कविले लेख्यो,
मेरो अधरमा मुस्कान ल्याउने तेजिली केटी
तिम्रा चम्किला नयन जत्तिकै उज्याला सपनाले
यो जुनीमा तिम्रो साथ दिन सकोस्

अन्ततः कविले कविताका लागि केही शब्द जोहो गरेको छ ।

 

०००

२.गाउँबाट एउटा चिठी

जरिकोटको खल्तीमा 
शरीरकै एक अङ्गजस्तो मोबाइल फोन
जब बज्छ टिरिङ् टिरिङ्
त्योभन्दा बढी धड्किन्छ 
हृदयको रिङ्टोन

 

तैंले ताते गर्दै हिँडेको
घरमास्तिरको बाटो हुँदै अचेल गाडी पो कुद्छ
सोचिबस्छु, 
कुनै न कुनै गाडीले त
तँलाई मसम्म ल्याइपुर्‍याउला नि कुनै दिन !

 

तेरो बालापनका छाप पुरिने गरी
असाध्यै बाक्लोसँग मौलाएको छ
गोरेटा, बारीका डिल र चिप्लेटी खेल्ने भीरमा 
बनमारा
मनमा माया मौलाएभन्दा पनि बढी !

 

नाप्न नसकिने रहेछ मायाको रोपनी
आफ्नै आँगनबाट

 

तैंले गाउँ छाडेपछि
मोटरबाटो हुँदै सहर पसे मान्छेजस्तै रूख र बुटीहरू
छोरीचेलीका तेजिला स्वप्निल आँखा
विस्थापित भए गाउँका उज्याला सपना

 

गाउँमा आए
म्याद सकिएका ओखती, मोबाइल फोनका नौरङ्गी चटक
गाउँ पसे 
भद्र भेषमा तस्कर र धर्मप्रचारकहरू,
भाइरल समाचार खोज्ने पत्रकार

 

खै नापजाँच नहुने रहेछ आउने र जानेको 
हुलाकी बतासले पनि अचेल बोक्दैन चिठी 
दुधकोसीसँगै बगाउँदै बगाउँदै पठाउँछु
मनको चिठी मायाले बाँधेर

 

बरू, कतिञ्जेल बग्ला यो कोसी यसैगरी ?
धमनीमा रगत बगुन्जेल त बगिरहला नि !

 

०००
(काभ्रेपलाञ्चोकका कवि नगरकोटीको 'सन्नाटाको लय' कविता संग्रह प्रकाशित छ । उनी 'बाल उदय' का प्रधान सम्पादक समेत हुन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार