• आइतबार ३-६-२०७८/Sunday 06-20-2021
विचार

फर्केर हेर्दा : २०७७

हाम्रो उमेरका मानिसहरुका दुईतीन पुस्ताले आफ्नो जीवनकालमा २०७७ सालको जत्तिको असहज र दुखद परिस्थितिको सामना कहिल्यै गरेका थिएनन् होला । यो भन्दा पहिले पनि भूकम्प, हडताल, आन्दोलन, भारतीय नाकावन्दी आदिले निकै सताएको भएता पनि २०७७ सालको महामारीको दाँजोमा त्यस्ता विपतहरुत्यति ठुला देखिएनन् ।यो वर्षको थालनी भन्दा झण्डै चार महिना अघिदेखि नै नेपाल लगायत पुरै विश्व कोरोनाको चपेटामा परेको थियो । एकातिर कोरोनाले लाखौँ मानिसहरुको ज्यान लियो भने अर्को तर्पm पुरै विश्व चरम आर्थिक मन्दीको शिकार हुन पुग्यो ।

 

शुरुमा कोरोनाको संक्रमणबाट नेपाली जनताहरुलाई मुक्त राख्न सरकारले निकै साहसिक तथा सह्राहनीय कदमहरु अपनाएको थियो । कोरोनाको उपचारका लागि छुट्टै अस्पतालहरु र उपकरणहरुको जोहो गर्नुका साथै तिनवटै तहका सरकारहरुलाई परिचालन गरेर संक्रमण नियन्त्रणका विभिन्न उपायहरु अवलम्वन गरेको भएता पनि त्यसको केही समय पछि नै सबै जिल्ला र क्षेत्रहरुलाई खुल्लम खुल्ला छोड्नुका साथै सरकार र केही प्रमुख राजनीतिक पार्टीहरुले नै भिड जम्मा गर्ने र भाषण, हडतालमा संलग्न हुन थाले पछि हामी कोरोना विरोधी लडाईमा आफ्नै कारणले पराजित हुँदै गयौँ। कति ठूलो कडाई र व्यवस्थापन गरेका विकसित मुलुकका नागरिकहरु त त्यसरी अराजक हुँदा रहेछन् भने हामी कहाँ राज्यले नै यस्ता लापर्वाहीहरु गरेपछि जनताले के टेर्दथे र ? केही हप्ता अघिसम्म केही समयको निम्ति साम्य जस्तो भएको संक्रमण पुनः बढ्दै गइसकेको छ तर राज्यले यसलाई नियन्त्रण गर्न भाषणमा वाहेक कुनै तयारी गरेको पाइएको छैन भने हामी जनताहरु पनि भिड गरेर सबै जात्रा, चाडपर्व र रमाइला क्षणहरुको निर्धक्क रसस्वादन गर्न लागी परेकै छौँ।

 

विश्वका केही मुलुकहरुले कोरोना विरुद्धका भ्याक्सिनहरुको विकास गरिसकेका र नेपालले पनि अनुदानमा र खरिद गरेरै भएपनि भारतीय र चिनीया भ्याक्सिन ल्याएर आफ्ना जनताहरुलाई निःशुल्क लगाउने कार्य गरिरहेको छ । तर आफ्नै देशका जनतालाई भ्याक्सिन पूर्ण रुपमा उपलब्ध गराउन हम्मे परिरहेको बेला ती भ्याक्सिन उत्पादक राष्ट्रहरुले हामीलाई धेरै सहयोग गर्ने स्थिति नरहेकाले हामीलाई यसको अभाव भइरहेको र यसको प्रभावकारितामा पनि अभैm प्रश्न उठिरहेको बेलामा सरकारले स्वास्थ्य सम्बन्धि समस्या भएका विपन्न जनताहरुलाई कम्तीमा पनि निमोनिया र रुघाखोकीका भ्याक्सिन निशुल्क लगाइदिनु पर्ने हो ।

 

कुनै ठोस तयारी विना नै नेपाल भ्रमण वर्ष मनाउन तम्सेको नेपाल सरकारले सो महोत्सवको शुरुवातमा नै महामारीको कारण यसलाई रोक्नु प¥यो भने, त्यसपछिका दिनहरुमा खासगरी पर्यटन उद्योगको विकास कै लागि खुलेका धेरै व्यवसायहरु या त सँधैको निम्ति बन्द हुन पुगे वा निकै घाटा सहेर अर्धचेतन अवस्थामा पुगे र अझसम्म पनि उठ्न सकेका छैनन् । सरकारी क्षेत्रको कुरा गर्दा यस्तो समयको सदुपयोग गरेर भविष्यमा मनाइने भ्रमण वर्षहरु तथा पुरै पर्यटन क्षेत्रका लागि आवश्यक पुर्वाधारहरुको विकास कार्यको व्यापक थालनी गर्नु पर्नेमा काम शुरु भइसकेका आयोजनाहरु पनि सम्पन्न हुन सकिरहेका छैनन् । यसो हुनुमा सरकारी अकर्मण्यता, योजना तथा प्रतिवद्धताको कमी, राजनीतिक अस्थिरता र महामारी सबै नै दोषी छन्। तर नीजि क्षेत्रले भने ठूलो घाटा सहेर भएपनि निर्माणाधीन होटल, रिसोर्ट, केवलकार तथा अन्य आयोजनाहरुको निर्माण सम्पन्न गर्न तल्लिन भएको अवस्था छ ।

 

अर्कोतर्फ २०७२ सालको महाभूकम्पले ध्वस्त पारेका धेरै मठ–मन्दिर तथा अन्य धार्मिक र सांस्कृतिक संरचनाहरु र सार्वजनिक भवनहरु तथा घर–टहराहरुको पुनर्निमाण कार्य भने नेपाल पुननिर्माण प्राधिकरणकै पहलमा सम्पन्न भए तथा कैयन् यस्ता संरचनाहरु २०७८ सालसम्ममा पुनः ठडिने क्रममा छन्। त्यस्तै मकवानपुर, सिन्धुली र अन्य गढीहरुको जिर्णोद्धारको काम पनि सरकारले शुरु गरेको छ । तर सिंहदरवारस्थित पुरानो संसद भवन, केशरमहल, चारखाल अड्डा, हरिहरभवन, घण्टाघर परिसर आदि तथा मुलुकका विभिन्न ठाउँहरुमा रहेका शाहवंश र सोभन्दा अघिका ऐतिहासिक तथा कलात्मक दरवार तथा भवनहरुको सम्वर्धनमा भने सरकारलाई अझसम्म चासो नगएको देख्दा निकै आश्चर्य लागेको छ । 

 

राष्ट्रिय गौरवका विभिन्न आयोजना जस्तै पोखरा र भैरहवामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलहरु पनि सम्पन्न हुने क्रममा छन् भने मेलम्ची खानेपानी आयोजना र माथिल्लो तामाकोशी जलविद्युत आयोजना पनि करिव करिव सम्पन्न भइसकेका छन् । त्यस्तै मुलुकका विभिन्न ठाउँहरुमा निर्माणाधीन सडक तथा पुलका आयोजनाहरु पनि धमाधम सम्पन्न हुँदैछन् र अब नेपालमा झण्डै ९५,००० किलोमिटर सडकको सञ्जाल पुगेको छ, जबकी राणा शासनको अन्त्यताका ५०० किलोमिटर सडक पनि बनेको थिएन । रेल यातायातको कुरा गर्दा सम्पन्न भइसकेको जयनगर–जनकपुर–कुर्था रेलवे र ८५ करोड खर्चेर ल्याएका रेलगाडी पनि सरकारी ढिलासुस्तीले गर्दा सञ्चालनमा आउन सकेका छैनन् । तर यिनीहरु पूर्ण रूपले सम्पन्न हुन पाउँदा नपाउँदै सरकारलाई यिनको उद्घाटन गरेर आफ्नो पालामा यी आयोजनाहरु तयार भएका हुन् भन्ने कुराको छाप जनतामा पार्न बेचैनी किन भइरहेको होला ? यस्तै कुराहरुले आश्चर्यमा पार्ने गरेका छन् । त्यस्तै विना योजना, डि.पि.आर. र वजेट दर्जनौँ सडक आयोजनाहरुको शिलान्यास गर्न पनि किन हतार परेको होला ? पुर्वाधारका आयोजनाहरु सम्पन्न हुन निकै समय र रकम लाग्छ भन्ने कुरा त सबैले बुझेका नै छन् । त्यसैले यस्ता आयोजनाहरु तयार हुनमा विभिन्न समयका धेरै सरकारहरुको हात रहेको हुन्छ र तिनीहरु सबै नै धन्यवादका पात्र हुनु पर्दछ । आजका जनता पनि त्यति अबुझ कहाँ छन् र यत्ति कुरा पनि नबुझ्ने ?

 

विप्रेषणले निकै सहयोग गरिरहेको हाम्रो अर्थतन्त्रमा रोजगारी दिने वैदेशिक रोजगारदाता कम्पनीहरु नै आर्थिक संकट र कोभिडका कारण बन्द रहेपछि यो अवधिमा ठूलो संख्यामा विदेशमा काम गरिरहेका नेपालीहरु स्वदेश फर्कन वाध्य भए । विश्वको कोभिड नक्शामा दोश्रो पंक्तीमा पुगेको भारतबाट फर्केका नेपालीहरु मध्ये धेरैजना संक्रमित भएर आआफ्ना गाउँघर फर्कँदा नेपालमा पनि कोरोना ह्वात्तै बढ्यो भने हालसम्म झण्डै ३,०५० जनाको ज्यान पनि लिइसकेको छ यो महामारीले ।

 

यस वर्षको झण्डै आधा भन्दा बढी समय मुलुकमा पुरै लकडाउन वा अन्य प्रकारका बन्दहरु गर्नुपर्ने वाध्यताका कारण शिक्षा,उत्पादन, कृषि, यातायात, वितरण, बैंकिङ, लघुवित्त, सहकारी, धार्मिक, सांस्कृतिकसबै क्षेत्रलाई निकै नै नकारात्मक असर पर्न गयो । यसै समयमा देश भित्र र विदेशमा पनि धेरैजना प्रख्यात व्यक्तिहरुको पनि अवसान हुन पुग्यो । लामो समयसम्म मुलुक अप्रत्याशित रूपमा बन्दाबन्दीमा पर्दा सबैभन्दा बढी असर दैनिक ज्यालादारी र मजदूरी गर्ने मानिसहरु, एकल व्यक्तिहरु र विरामी, वृद्ध–वृद्धाका साथै पशुपंछीमासमेत पर्दोरहेछ । त्यसैले पनि सरकारले आफ्ना तिनवटै तहका सरकारी निकायहरु र त्यसमा पनि खासगरी स्थानीय तहका सरकारहरुका दैवीप्रकोप तथा आपतकालिन सेवाहरुका लागि आवश्यक पुर्वाधारहरुको विकास गरिदिएर उनिहरुको तथ्यांक प्रणालीलाई पनि अझ चुस्त बनाएर केन्द्रिय प्रणालीसँग आवद्ध गरिदिनु पर्दछ ।

 

मानव जातिले प्रकृतिको चरम खिल्ली उडाएर अप्राकृतिक दोहन गरेकोले नै होला आज मानिसलाई मात्र यस्तो महामारीले गाँजेको । लकडाउनकै बेला नेपाल वा अन्य जहाँतहीँको वातावरण कत्ति स्वच्छ भएको थियो। धुवाँ–धुलो रहित सफा आकाश, हराभरा र फुलैफुल फुलेको रमाइलो वातावरण अनि टाढा टाढासम्मकै मनोरम दृश्य देख्न सकिने पहिलेकै अवस्था । तर ती सब केही क्षणको लागि मात्र सिमित रहे। इश्वरले हामीलाई विर्सने शक्ति दिएको त अप्रिय घटनाहरु छिटो बिर्सिउन् र फेरी आफ्नो नियमित कार्यमा फर्कन सकुन् भन्नाको खातिर पो होला । तर हामी त प्रदूषण गर्नुहुँदैन, प्रकृतिको अनुचित दोहन गर्नुहुँदैन र हामी मात्र होइन, हाम्रा सन्ततीले पनि यही धरतीमा सुख र खुशीका साथ जिउनु पर्छ भन्ने कुरा समेत बिर्सेर छिटै आफ्नै स्वार्थमा लिप्त हुन थाल्दछौँ ।

 

नेपालमा झण्डै ६० वर्षपछि बल्ल दोश्रो पटक अत्यधिक बहुमतको सरकार बनेको थियो। राम्रो नियत भएका नेता र पार्टीलाई यस्तो सफलता मिलेको खण्डमा मुलुकले थोरै अवधिमा नै विकासको ठूलो फड्को मार्न सक्दछ । तर सरकार बन्नु अघि नै प्रधानमन्त्रीको कुर्सीलाई बाँडीचुँडी गरेर शासन गर्ने, आफ्नालाई विभिन्न पदहरु दिने, सार्वजनिक खरिद तथा अन्य नियमहरु नै मिचेर चरम भ्रष्टाचार गर्ने, महामारीलाई हल्कासँग लिएर जुलुस र भिड निकाल्ने, जनतालाई चरम महँगी र अभावको मारमा पार्ने, राजनीतिक, धार्मिक र साम्प्रदायिक दंगा हुने स्थितिको सिर्जना गर्ने तथा मुलुकलाई अन्योलग्रस्त स्थितिमा पुर्‍याउने जस्ता कार्यहरुले गर्दा फेरी मुलुक अराजकता र अनिश्चितता तर्पm धकेलिँदै गएको छ । 

 

सुगौली सन्धिले खुम्चाइदिएको हाम्रो भूभाग अझै अतिक्रमणको चपेटामा परेको बेला नेपालको आधुनिक इतिहासमा नै पहिलो चोटी पुरै मुलुक एक भएर उठेको आवाजको कदर स्वरुपदुबै संसदबाट हाम्रो नक्शामा कालापानी, लिपुलेक र लिम्पियाधुरा पार्न भएको ऐतिहासिक निर्णय र सफलता अनि अभुतपूर्व राष्ट्रिय सहमति नै ओझेलमा पर्ने गरी कुन शक्तिको प्रभावमा हामी अकस्मात फुटको संघारमा पुगेका छौँ बुझ्नै गाह्रो परिरहेको छ । तर सिमा सम्बन्धि जुन ऐतिहासिक निर्णय भएको छ, चाहे त्यो कागजी निर्णय मात्र भएको किन नहोस्, त्यसलाई कुनै हालतमा पनि उल्टाउन दिनु हुँदैन । किनकी समय यती बलवान छ कि क्षेत्रफल, जनसंख्या र सैन्य शक्तिले मात्र कुनै पनि मुलुक विशाल र तागतिलो हुँदैन । परिस्थिति र समय मात्र बलियो हुन्छ । समय र परिस्थितिले विश्वका सबै शक्ति, व्यवस्था र भू–वनोट तथा सिमानालाई नै कायापलट गराई दिन सक्तछ । 

 

गत वर्ष नेपाली पाठकहरुले केही उत्कृष्ट पुस्तकहरु पनि पढ्ने मौका पाए। डा.विश्वम्भर प्याकुरेल, डा. बाबुराम भट्टराई, डा.देवेन्द्रराज पाण्डे, मदन भट्टराई, राजिव उपाध्याय, रविन्द्र मिश्र, विजयकुमार, गोविन्दप्रसाद लोहनी, मिनबहादुर रायमाझी, सुभेक्क्षा घिमिरे, डा. गोविन्द टण्डन, मोदनाथ प्रश्रित, केशव बडाल, बुद्धिनारायण श्रेष्ठ, कल्पना श्रेष्ठ, कालीप्रसाद रिजाल, गे्रटा राणा, सरला गौतम, लव गाउँले आदिका नेपाली पुस्तकहरु पाठकहरुको हातमा परे भने विभिन्न नयाँ अंगे्रजी र हिन्दी पुस्तकहरु पनि नेपाली बजारमा आए । 

 

नेपाली सिने उद्योग भने २०७७ साल निकै अफाव सिद्ध हुन गयो । कैयन् नयाँ सिनेमाहरु रिलिज नै हुन पाएनन् भने गत वर्षको अधिकांश समय सिनेमा हलहरु बन्द नै रहे । केही महिनापछि हलहरु खुलेता पनि कोरोनाको डरले सिनेमा हेर्न जानेहरुको संख्या निकै कम रह्यो । फलस्वरुप काठमाडौँ र अन्य ठूला शहरहरुका धेरै हलहरु सदाका लागि बन्द हुन पुगे । तर नाट्यकलाको प्रदर्शन भने यदाकदा भईनै रहेको छ ।

 

सन् २०१९ को मध्यतिर देखि अष्ट्रेलियामा शुरु भएको भयानक डढेलोले लाखौँ जीव–जन्तु तथा कैयन् मानिसहरु र वनजंगलको ठूलो क्षेत्रफल ध्वस्त पार्नुका साथै अरवौँ डलर बराबरको धनसम्पत्तीलाई खरानी बनाए लगत्तै अमेरिकाको पश्चिमी किनारा र नेपालका पनि अधिकांश वन क्षेत्रमा डढेलो लागेर निकै ठूलो क्षतिका साथै वातावरणमा नकारात्मक असर पर्न गयो । वनजंगलमा लाग्ने मानवीय तथा प्राकृतिक कारणहरु र त्यसबाट हुने क्षतिलाई कम गर्ने उपायहरु अवलम्वन गर्ने बेला नेपालमा पनि आइसकेको छ । विश्व तापमानमा आगलागी, औद्योगिक, शहरी र अन्य प्रदूषण, वनजंगलको फँडानी र रामसार क्षेत्रको बढ्दो अतिक्रमण आदिले गर्दा झनै विकराल रूप लिएर वृद्धि भएको कुरा विभिन्न तथ्यांकहरुले बताएका छन् ।

 

एकातिर वेलायतका राजकुमार ह्यारी र उनकी श्रीमती मेघान मर्कलले राज परिवारको हैसियतमा जीवनयापन नगर्ने घोषणा गरेर वयोवृद्धा रानी एलिजावेथ द्वितियालाई आघात परिरहेको बेलामा वहाँका छोरा युवराज चाल्र्सलाई कोरोनाको संक्रमण हुनुका साथै श्रीमान् राजकुमार फिलिपको पनि हालैमात्र ९९ वर्षको उमेरमा निधन भइदिनाले रानी एलिजावेथलाई एक पछि अर्को तोडको सामना गर्नुपर्ने स्थिति पनि यही वर्षमा आयो ।

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी हार पछि पुरै विश्वले राहतको श्वास फेर्न पायो भने नयाँ राष्ट्रपति जोए वाइडेन र उपराष्ट्रपति कमला ह्यारिसका कार्यहरुको प्रारम्भिक लेखाजोखा भने गर्नै बाँकी छ । यस्तै बेलातिर उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनको निधनको झुठो खवर पनि निकै समयसम्म फैलियो । कोरोनाकै कारण नेपालमा मात्र होइन, विश्वकै शेयर बजार धरासायी हुन पुगेको छ । कोरोनाको कहरमा पुरै विश्व परेको बेलामा अफ्रिका र मध्यपूर्वबाट फैलिएको सलहको बथान धेरै मुलुकहरुमा पुगेर वालीनाली खतम बनाउन सफल भयो । दक्षिण एशियामा पाकिस्तान र भारतको बाली नराम्ररी बिगारे पनि नेपालमा भने त्यति धेरै क्षति हुन पाएन । 

 

यो अवधिमा विश्वका धेरै मुलुकहरु जस्तै लेवनान, इरान, इराक, यमन, सिरिया, भारत, युरोप र अमेरिकामा समेत आतंककारी गतिविधिहरु बढेका थिए भने वोस्निया हर्जगोभिना माथिको अधिकारको कुरामा पूर्वी युरोपका दुई राष्ट्रहरु बीच युद्ध नै हुन पुग्यो । भारत र पाकिस्तान तथा भारत र चीन बीचको सम्बन्धमा निकै ठूलो दरार पैदा भएर युद्धको स्थितिमा नै पुग्न लागेको थियो भने चीन र अस्ट्रेलियाबीच पनि निकै ठूलो वाक युद्ध छेडिएको थियो ।

 

यस्तै अनेकन घटनाहरु घटेर २०७७ सालले बिदा लिँदै नयाँ आशाका साथ २०७८ शुरु आएको छ । विगतका राम्रा नराम्रा क्षणहरुबाट पाठ सिकेर मानव जातीले अघि बढेमा विश्वका सबै ठाउँहरुमा शान्ति, समृद्धि र खुशीयाली छाउन सक्दछ, तर तिता मिठा अनुभवहरुलाई सहजै बिर्सेर आफ्नै सूर र लहडमा हिँड्ने गरेमा मनुश्य जातीले आउँदा दिनहरुमा अझ विकराल संकटहरुको सामना गर्नुका साथै आफ्नो र आउँदा पिँढीहरुको भविष्य पनि अन्धकारमय बनाइदिनेछन् । त्यसैले विश्वलाई राम्रो वा नराम्रो बनाउने रोजाई हामीसँग नै छ ।  आशा गरौँ, हामीले विगतबाट सिकेर भविश्यलाई उज्ज्वल बनाउने बाटो नै पक्रने छौँ । 

 

(लेखक विकास अर्थशास्त्री र पुर्वबैंकर तथा नेपाल एकल व्यक्तित्व समाजका अध्यक्ष समेत हुन् )
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार