• आइतबार १०-११-२०७७/Sunday 01-24-2021
डबली

गोविन्दप्रसाद लोहनीको सम्झनामा केही शव्द

गत दशैँको शुरुवातको दोश्रो दिन पिताजीको लागि चिया र अखवार उहाँको वैठक कोठामा सँधै झैं राखिदिएर सँगैको कोठामा गई उहाँलाई व्युँझाइकन उहाँको कोठा र शौचालय सफा गरिदिनुका साथै उहाँको लागि चिया र अखवार बाहिर वैठकमा राखिदिएको जनाउ दिएर म आफ्नो नित्य हिँडाईको निम्ति घरको छतमा गएँ । हाल कोभिडको महामारीले गर्दा म घरैमा हिँड्ने र व्यायाम गर्ने गर्दछु। बिहानको हिँडाई पश्चात तल पिताजीको वैठकमा अखवार लिन जाँदा त चिया र अखवार जहाँको त्यहीँ नै रहेछ। उहाँ किन बाहिर आउनु भएन भनेर भित्र उहाँको शयनकक्षमा गएपछि थाहा भयो कि उहाँ कोठाको गलैँचामा लडेर बसिरहनु भएको रहेछ। हामी परिवारका सदस्यहरु तत्काल भेला भएर उहाँलाई उठाएर विछौनामा बसायौँ । चिया र अखवार पनि त्यहीँ लगेर दियौँ । कुनै चोट लागेको छ कि भनेर शरीरमा जाँच गर्‍यौँ । उहाँको दाहिने कम्मरनीर दुखेको कुरा बताउनुभयो। एकजना पारिवारिक विशिष्ट चिकित्सकलाई फोनमा सोध्दा उनले उहाँलाई कुनै शारिरिक समस्याको कारणले कमजोरी गरेकोले उहाँको खुट्टाले नथामेर लड्नु भएको हुनसक्ने तथा एकचोटी अस्पतालमा लगेर एक्सरे गरेर हेर्नुपर्ने बताए । हामीले तत्काल उहाँलाई अस्पताल लगेर एक्सरे गरायौँ, जसबाट उहाँको दाहिने कम्मर मुनिको खुट्ठाको हड्डी चर्किएको र सोको लागि उहाँले पुरै विश्राम लिएर बस्नुपर्ने कुरा थाहा भयो यसका साथै उहाँको स्वास प्रश्वासमा समेत केही समस्या देखिएकोले हाल केही समयलाई अक्सिजन दिनुपर्ने कुरा पनि थाहा भयो। 

 

हामीले अस्पतालको निर्देशन बमोजिम अक्सिजन र उहाँको विश्रामको वन्दोवस्ती घरमा नै मिलायौँ। तर केही दिन पश्चात नै उहाँ निकै धेरै विरामी परेर अचेत अवस्थामा नै पुग्नु भएकोले हामीले उहाँलाई मेडिसिटी अस्पताल पुर्‍यायौँ । शुरुमा त भेन्टिलेटरमा नै राख्न परेको र चिकित्सकहरुले उहाँलाई बचाउन निकै हम्मे परिरहेको कुरा बताएपछि हामी चरम विलापमा पर्‍यौँ तर केही दिनमा उहाँको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएपछि भने चिकित्सक टोली र हाम्रो मनको आशा बढ्दै गयो । अस्पताल लिएर जाने वित्तिकै पीसीआर परिक्षण र आइसोलेसनमा राखिए पनि सोको रिपोर्ट नेगेटिभ आयो तर निमोनियाले पिडित उहाँको स्वास्थ्यमा खास सुधार आउन भने धेरै दिन लाग्यो । भाइटिकाको दिन जन्मदिन परेकोले सो पनि आइसीयुमा नै मनाइयो । केक काटेर उहाँको हालै प्रकाशित कथा संग्रहको विमोचन समेत अस्पतालबाट नै गरायौँ । आफ्नो कृती प्रकाशित भएकोमा उहाँ निकै प्रसन्न देखिनुहुन्थ्यो । नाकमा अक्सिजन लगाएर अस्पतालको आइसीयुमा छँदा पनि उहाँ दैनिक अखवारहरु पढ्नु हुन्थ्यो । चिकित्सक टोलीले उनीहरुको पुरै क्यारियरमा यस्ता बलियो मन भएका र आइसीयुमा बसेर पनि पुस्तक र अखवार पढ्ने विरामी कहिल्यै नदेखेको बताउँथे ।

 

झण्डै पाँच हप्ताको अस्पताल बसाई पश्चात हामीले पिताजीलाई घरमा ल्याएर चिकित्सकको निर्देशन मुताविक वातानुकुलीत कोठामा अस्पतालको जस्तै विछौना र अन्य आधारभूत सामग्रीहरुको जोहो गरेर २४ घण्टे नर्सिङ सेवा सहित फिजियोथेरापिस्टको पनि व्यवस्था गरेर सानोतिनो अस्पतालमा राखेझैं नै सुविधा प्रदान गर्‍यो। उहाँका चिकित्सकसँग पनि दिनहुँ कुराकानी भई नै रहन्थ्यो। तर घर ल्याएको केही दिनमा नै उहाँको अक्सिजन लेभल फेरी अकस्मात तल झर्न शुरु भयो र हामीसँग उपलव्ध अक्सिजनका मेशिनहरुले पनि धान्न नसकेर उहाँको मुटुको चाल अप्रत्याशित रुपमा बढ्न थाल्यो। चिकित्सकको सल्लाहमा हामीले उहाँलाई तत्काल अस्पताल पुर्‍यायौँ। यसपाली पनि उहाँको पीसीआर जाँच गरियो र सोको नतिजा नेगेटिभ आयो तर उहाँलाई निमोनियाले फेरी जकडीसकेको रहेछ। यसपाली उहाँ निकै कमजोर भईसक्नु भएकोले भण्डै दुई हप्ता आइसीयुमा नै राखियो। उहाँको स्वास्थ्यमा केही दिन सुधार भए जस्तो हुने र फेरी खस्कँदै जाने क्रम बढ्दै गयो। चिकित्सक टोलीले जीवन बचाउन प्रयोग हुने सबै औषधीहरु र उपायको प्रयोग गरेता पनि आखिर उहाँ शनिवार ११ पौष (मार्ग शुक्ल द्वादशी) को राती ९ बजेर ३५ मिनेटमा यो धरतीबाट बिदा भएर वैकुण्ठको बाटो लाग्नुभयो । यस दुखद घडीमा हामी सम्पुर्ण परिवारजनले निकै वात्सल्य प्रदान गर्ने र उचित दिशानिर्देश गर्ने वरिष्ठ अभिभावक गुमायौँ भने राष्ट्रले एक इमानदार, विद्घान दार्शनिक, अर्थशास्त्री, साहित्यकार तथा वहुआयामिक चिन्तकलाई गुमाउनुपर्‍यो । जन्म पश्चात मरण त अवश्यम्भावी हुन्छ नै तर यी दुई बिचको समयमा मनुष्यले के के उपलव्धि र लोक कल्याणकारी कार्यहरु गर्‍यो भन्ने कुराले विशेष महत्व राख्दछ। मेरा पिताजीले आफ्नो लामो जीवन निकै सार्थक बनाएर मृत्यु पश्चात पनि मानव जातीले सम्झिरहने कृति र सम्झना छाडेर जान सफल हुनुभयो।

 

सन् १९२८ को भाईटिकाको पावन अवसरमा जन्मनु भएका मेरा पिता गोविन्दप्रसाद लोहनीको वाल्यकाल र शिक्षाका अधिकांश समय भारतको वनारसमा बित्यो । मामाघरमा हुर्किनु भएका उहाँले केही समय काठमाडौँको जुद्धोदय पव्लिक हाईस्कुलमा पनि अध्ययन गर्नुभयो। उहाँका पिता स्व. पं. दिपकेश्वर शर्मा लोहनी मध्यकालिन साहित्यका एक विशिष्ट व्यक्तित्व हुनुहुन्थ्यो । जोगवीर साहित्यिक मण्डलीसँग सम्वद्ध उहाँ श्रृंगार रसका ठुला कविको रुपमा चिनिनुहुन्थ्यो। वरिष्ठ अर्थशास्त्री स्व. डा. यादवप्रसाद पन्त, वरिष्ठ अधिवक्ता स्व. कृष्णप्रसाद पन्त तथा वरिष्ठ महिला समाजसेवी स्व. अंगुरवावा जोशीकी फुपुसँग विवाह वन्धनमा बाँधिनुभएका स्व. दिपकेश्वर शर्मा लोहनीलाई राणा शासकहरुले लाइब्रेरी काण्डमा फँसाएर सर्वस्वहरण सहित देश निकाला गरेका थिए। त्यसैले उहाँले राणा शासनको अन्त नहुन्जेलसम्म वाराणसीमा नै वसोवास गरी आफ्नो साहित्यिक यात्रालाई उतैबाट निरन्तरता दिनु भएको थियो । गोविन्दप्रसाद लोहनीले अर्थशास्त्रमा एम.ए. वनारस हिन्दु विश्वविद्यालयबाट सक्काउनु भयो। वनारसमा नै छँदा विपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, डिल्लिरमण रेग्मी, आदीको संगतले गर्दा नेपाली राष्ट्रिय कांग्रेसको स्थापनाको समयमा पनि उहाँ लगायत अन्य विद्यार्थीहरु यीनै नेताहरुको साथमा कलकत्ता गएर सो कार्य भव्य रुपमा सम्पन्न गरेका थिए । तर केही समय पश्चात सम्भ्रान्त राणा परिवारका सुवर्ण र महावीर शमशेरहरुको डेमोक्रेटिक कांग्रेससँग राष्ट्रिय कांग्रेसको विलय र त्यसपछिका नेतृत्वका लागि शुरु भएको खिचातानीदेखि अवाक भएका तथा कम्युनिष्ट विचारधारा अंगाल्दै गएका पुष्पलाल, मेरा पिताजी तथा अन्य धेरै व्यक्तिहरुले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरे । राणा शासनको विरोधमा भएको क्रान्तिमा समेत भाग लिनुभएका मेरा पिताजी राणा शासन पश्चात राणाहरुलाई बचाउने र उनीहरुलाई नै प्रमुख भूमिकाका पदहरु दिने जस्ता कार्य तत्कालिन राजा र नेताहरुले गरेका तथा तिनै सम्भ्रान्त राणाहरुको जीवनशैलीको सिको सिकेर नेताहरु हिँड्न थालेपछि र कम्युनिष्टहरु पनि एकापसमा शंका र विभाजनको राजनीतिमा लाग्न थालेपछि राजनीतिबाट नै सन्यास लिनुभयो । रुसमा स्टालिनको क्रुर शासनले उहाँलाई रुसी कम्युनिज्म प्रति वितृष्णा जगाएको थियो भने चीनमा माओको नेतृत्वमा भएका कम्युनिष्ट क्रान्ति र मुलुकको विकासका कार्यहरुको उहाँ निकै सह्राहनासहित शुक्ष्म अध्ययन गर्नुहुन्थ्यो। त्यसैले पनि उहाँ निकै पहिले देखि साइनोलोजिस्ट यानी चीन सम्बन्धि अध्येताको रुपमा पनि चिनिन थाल्नुभयो । नेपालका कम्युनिष्टहरु समेत रुस र चीनको फरक व्यवस्थाले गर्दा विभाजित हुँदै जान थालेपछि भने उहाँले स्वतन्त्र रुपमा नै माक्र्सवाद र माओवादको प्रचार गर्न थाल्नुभयो। उहाँसँग यस विषय वारे जानकारी हासिल गर्न र शिष्यकै रुपमा अध्ययन गर्न धेरै व्यक्तिहरु घरमा आउँथे भने प्रत्येक साँझ टुँडिखेलको खुला मैदानमा उहाँका कुरा सुन्न आउनेको ठुलै भिड लाग्दथ्यो । केही समय त सरकारी निगरानीले गर्दा उहाँले भुमिगत जीवन समेत विताउनु पर्‍यो । यस्तै बेला तिर नेपालका अग्रणी विद्युतीय इन्जिनियर काशीराज पाण्डेकी जेठी छोरी रुचिला वाला देवी पाण्डेसँग विवाह वन्धनमा बाँधिएपछि उहाँलाई घर गृहस्थी चलाउन आर्थिक संकट पर्न थाल्यो। कम्युनिष्टको छाप लागेका उहाँलाई सरकारी नोकरी समेत मिल्न कठिन भयो, त्यसैले केही समय विद्यालयमा मास्टरी गरे पश्चात भने नेपाल बैंक लिमिटेडमा अधिकृतमा छानिएर काम गर्न शुरु गर्नुभयो । युवावस्थामा उहाँले आर्थिक संकटका कारण निकै धेरै दुख झेल्नु परेको भएता पनि पछिल्लो समयमा भने उहाँको जीवन राम्रैसँग बितेको थियो ।  

 

टंकप्रसाद आचार्यसँग राम्रो सम्बन्ध भएकाले उहाँ प्रधानमन्त्री भए पश्चात नेपाल राष्ट्र बैंकको स्थापना टोलीमा हिमालय शमशेर राणाको नेतृत्वमा उहाँ पनि सामेल भएर नेपाल राष्ट्र बैंकको स्थापनाका साथै सो बैंकमा झण्डै २० वर्ष कार्य गर्नुभयो। यसै अवधिमा उहाँलाई केही समय भूमिसुधार मन्त्रालयमा समेत काजमा पठाइएको थियो भने त्यहाँ रहँदा उहाँले नेपालको भूमिसुधार सम्बन्धि एक निकै महत्वपुर्ण दस्तावेज तयार गर्नुभएको थियो । हामी कहाँ यस्ता विद्घत वर्गलाई महत्वपुर्ण कामहरुमा लगाएर यस्ता दस्तावेजहरु तयार गर्न लगाउने र पछि सोको जश आफुले लिने परिपाटी पहिले देखि कै हो र त्यतिबेला पनि यस्तै भयो। तर कसैले गरेको महत्वपुर्ण काम त्यसै लुकाएर लुक्दैन। आज पनि धेरै व्यक्तिहरुलाई सो काम गोविन्दप्रसाद लोहनीले नै गरेका हुन् भन्ने कुरा अवगत छ ।

 

राष्ट्र बैंकको उच्च तहमा रहँदा नै उहाँले देश विदेशको भ्रमण र विभिन्न ठुला साना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गोष्ठी तथा तालिमहरु र अनुसन्धानहरुमा भाग लिने मौका पाउनुभयो । राष्ट्र बैंकको अनुसन्धान विभागको स्थापना देखि भारु र नेरुको स्थायी विनिमय दर निर्धारण गर्ने महत्वपुर्ण कार्य उहाँ कै नेतृत्वमा सम्पन्न भयो । नेपालभर नेपाली रुपैयाँको चलन चलाउने काम पनि तत्कालिन गभर्नर हिमालय शमशेरले उहाँलाई नै दिनुभएको थियो। यस्तै विभिन्न समयमा अन्तर्राष्ट्रियस्तरका वित्तिय तथा अन्य संस्थाहरुबाट नेपाल आएका विशेषज्ञहरुसँगको भेटको क्रममा उनीहरुले विश्व बैंकजस्ता अन्तर्राष्ट्रिय संस्थाहरुमा नोकरी गर्ने अवसर प्रदान गर्दा पनि उहाँले आफ्नो मातृभूमिमा नै आफु जस्ता पढेलेखेका मानिसहरुको कमी भएकाले आफुले यतै बसेर सेवा गर्नुपर्ने कुरा व्यक्त गर्दै जस्तै आर्थिक संकटबाट गुज्रनु परे पनि विदेशमा पलायन हुन खोज्नु भएन ।

 

राजा वीरेन्द्रले गद्दी आरोहण गर्ने वित्तिकै पिताजी गोविन्दप्रसाद लोहनीलाई बोलाएर राष्ट्रिय योजना आयोगमा उहाँ लगायत डा. हर्कबहादुर गुरुङ र डा. बद्रीप्रसाद श्रेष्ठको टोली बनाउन लागेको कुरा राजाले बताउनुभयो । यो टोली योजना आयोगको इतिहासमा नै एक अद्वितिय टोली रह्यो । यसमा पछि डा. मोहनमान सैंजु र डा. रत्नशम्शेर राणा पनि थपिए । नेपाललाई शुरुमा चार विकास क्षेत्र र पछि पाँच विकास क्षेत्रमा विभाजन गर्न तथा नेपालमा भौतिक पुर्वाधारको विकास गर्न यो समयको योजना आयोगले निकै ठुलो भुमिका खेल्यो । राजा वीरेन्द्र विकास प्रेमी भएकाले प्रत्येक महिना जस्तो यो टोलीलाई दरवारमा रात्रीको खाना खाने गरी बोलाएर विकासका कुराहरुमा छलफल गर्न उनी रुचाउँथे ।  

 

सरकारी सेवामा रहँदा समेत पिताजी विभिन्न विषयमा गहन लेखहरु अटुट रुपमा लेखी नै रहनुहुन्थ्यो। उहाँले कलेजमा अध्ययन गर्दा देखि नै दैनिक डायरी लेख्ने र लेखहरु प्रकाशित गर्ने काम गर्न थाल्नु भएको हो । राणा शासनको समाप्ती पश्चात नै उहाँका पाँच पुस्तकहरु प्रकाशित भएका थिए। आजसम्म उहाँका दर्जनौँ पुस्तक र दुई हजार भन्दा बढी गहन लेखहरु प्रकाशित भइसकेका छन् ।

 

सन् १९७८ मा उहाँ पाकिस्तान, इरान र टर्कीका लागि नेपाली राजदुतमा नियुक्त हुनुभयो। पाकिस्तान बसाईको दौरान उहाँ नेपालको राजदुत मात्र नभई त्यहाँका राष्ट्रपति जिया उल हकका पनि नजिकका व्यक्ति हुन पुग्नुभयो भने उनलाई विभिन्न विषयमा सल्लाह दिने व्यक्ति पनि बन्नुभयो। अफगानिस्तानमा तत्कालिन सोभियत संघले हमला गरेपछि पाकिस्तानमा लाखौँ अफगान शरणार्थीहरु ओइरिए। त्यतिबेला जियाले हाम्रा पिताजीलाई विशेष अनुरोध गरेर अफगान–पाक सिमानामा गएर शरणार्थीहरुलाई कसरी व्यवस्थापन गर्दा राम्रो होला सो हेर्न अनुरोध गरे र हाम्रा पिताजीले पनि आफ्नो भ्रमण पश्चात उनलाई लिखित सुझाव नै दिनुभएको थियो। स्वर्गीय राजा वीरेन्द्रको पाकिस्तान भ्रमणको बेला जियाले मुस्कुराउँदै हाम्रा पिताजी तिर देखाएर ‘महाराज, यिनी मेरा भाई जस्ता हुन् र मलाई सल्लाह सुझाव पनि दिइराख्छन्, केही वर्ष यतै राखि राख्नुहोला है’ भनेछन् । राजाले पनि हाँस्दै टाउको हल्लाए छन् । हाम्रा पिताजीको नभन्दै पाकिस्तानको बसाईँ साँढे चार वर्षको भएछ ।


राजा वीरेन्द्रले २०३६ सालमा जनमत संग्रह गर्ने घोषणा गरेपछि असंलग्न राष्ट्रहरुको शिखर सम्मेलनमा भाग लिन हवाना जाँदा कराँचीमा उनको हवाइजहाजमा इन्धन भर्न त्यहाँ उत्रेका रहेछन् र त्यहीबेला मेरा पिताजीलाई पनि कुवेतसम्म जान आग्रह गरेछन् । हवाइजहाजमा जाँदै गर्दा उनले मेरा पिताजीलाई आफुले जनमत संग्रह गर्न लागेकोमा उहाँको के प्रतिकृया छ भनेर सोध्दा उहाँले ‘सरकारले बहुदल नै घोषणा गरिबक्सनु पर्दथ्यो यतिबेला’ भन्नुभएछ । यो कुरा सुनेर राजा हाँसे रे तर त्यहाँ उपस्थित परराष्ट्र मन्त्री र अन्य व्यक्तिहरु पिताजीलाई आँखा तर्दै हेरिरहेका थिए अरे । पाकिस्तानमा पिताजी कार्यरत छँदा नै सार्कको स्थापनाको तयारी शुरु भएको थियो र यसमा पनि उहाँको विशेष सक्रियता रहेको थियो।

 

पकिस्तानबाट राजदुतको कार्यकाल सकेर फर्केपछि भने उहाँले राजाबाट फ्रान्सको राजदुत, राष्ट्रिय योजना आयोगको उपाध्यक्ष, राष्ट्र बैंकको गभर्नर आदि पद दिन खोज्दा अब यस्ता कामहरु नगर्ने र बाँकी जीवन स्वतन्त्र वुद्घिजिवीको रुपमा बिताउने इच्छा भएको कुरा बताउनुभएछ। शुरुमा राजाले भेट्न बोलाइरहने भएता पनि पछि पछिका केही भेटहरुमा बडामहारानीले बिना कारण गाली गर्ने र झाँट्ने गर्न थालेपछि उहाँको राजदरवार जाने क्रम भंग हुँदै गयो । २०४४ सालतिर बहुदलको पक्षमा निकै धेरै मानिसहरु लाग्दै गइरहेको बेला उहाँले पञ्चायत भित्र वर्गीय संगठनको प्रावधान हटाएर बहुदलीय पञ्चायती व्यवस्था ल्याउन राजालाई पटक-पटक आग्रह गर्नुभएको थियो तर पञ्चायती व्यवस्थाको उत्तराद्र्ध तिर राजा भन्दा पनि रानीको हुकुम बढी चल्ने भएकोले यस्ता नयाँ कुराहरुले ठाउँ पाउने त कुरै थिएन । बरु हाम्रा पिताजी जस्ता धेरै वुद्धिजिवीहरुलाई विस्तारै दरवारको ढोका बन्द गरिँदै लगियो । मुलुकमा राजा र सबै खाले राजनीतिक नेताहरु अट्ने माहौल बन्न निकै कठिन भएपछि पिताजी पनि बिस्तारै बहुदलीय प्रजातान्त्रिक आन्दोलन कै पक्षमा उत्रिन थाल्नुभयो भने २०४६ सालको जन-आन्दोलनको लागि तयारी गर्न पटक-पटक उहाँको निवासमा कांग्रेस, माले र अन्य पार्टीका नेताहरु र वकिल, पत्रकार तथा वुद्धिजिवीहरुको भेला हुन थाल्यो । यस्तो भेलामा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला लगायत मनमोहन अधिकारी, तुलसीलाल अमात्य, राधाकृष्ण र चन्द्रप्रकाश मैनाली लगायत त्यतिबेलाका अधिकांश हस्तीहरुको सहभागिता हुने गर्दथ्यो । आखिर २०४६ सालको आन्दोलन सफल पनि भयो र राजाले बहुदलको घोषणा गर्ने दिनको एक दिन अगाडि पिता गोविन्दप्रसाद लोहनीलाई पनि बोलाएर सल्लाह लिएका थिए। तत्पश्चात पिताजीले राजा कै आज्ञा मुताविक विभिन्न कारागारहरुमा गएर त्यहाँ बन्दी भएर बसेका नेताहरुलाई राजाको सन्देश पनि सुनाउनु भएको थियो । बहुदलीय प्रजातन्त्रको पुनर्वहाली पश्चात भने पिताजी लामो समयसम्म विरामी हुनुभयो र विस्तारै नेपाली राजनीतिबाट ओझेलमा पर्दै जानुभयो। त्यसपछिको बाँकी जिन्दगी भने उहाँले लेखपढमा नै बिताउनुभयो । उहाँकी अर्धाङ्गीनीको अल्पायुमा नै देहावसान भएपछि उहाँ केही समय विचलित हुनुभएको भएपनि पछि भने घरपरिवारसँगै घुलमिल गरेर समय बिताउन थाल्नुभएको थियो ।

 

समग्रमा उहाँको जीवन निकै सुखद रह्यो । जीवनको अन्तिम समयसम्म पनि उहाँ गहन अध्ययनमा नै व्यस्त रहनुहुन्थ्यो । केही वर्ष अघि उहाँका एक निकै मन परेका शिष्यले भेटेर अब उहाँको इच्छा के गर्नेमा छ भनेर सोध्दा उहाँले मुस्कुराउँदै ‘म अब आफ्नो मृत्यु हुँदा कस्ता अनुभव हुँदोरहेछ भनेर जान्न चाहन्छ, तर मेरो त्यो अनुभव भने मेरो साथमा नै जानेछ यानी मैले सो वारे केही लेख्न पाउने छैन’ भन्नु भएको थियो । केही दिन अगाडि उहाँले मृत्युको अनुभव पनि गर्नुभयो र साँच्चै नै उहाँको त्यो अनुभव उहाँसँगै विलिन भयो ।

 

लेखक विकास अर्थशास्त्री र पुर्वबैंकर तथा नेपाल एकल व्यक्तित्व समाजका अध्यक्ष समेत हुन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार

पिताप्रति

१० माघ, २०७७

७७—३६=४१

९ माघ, २०७७

मेरी सपना

३ माघ, २०७७

आज म धेरै खुसी छु

२७ पौष, २०७७