जेष्ठ जुनी
विश्रामालयमा बसिरहेछन्
आश्रमालयमा पर्खिरहेछन्
साठी सत्तरी कटेको निवृत्त उमेरका धनी
टाकुरी चढिसकेको परिपक्वताको जेष्ठ जुनी
डाँडाको जून–घाम बनेर तापिरहेछन्
बोझको डोको बिसाएर आफन्तमा
टेकोझैँ भरथेक लाग्छन् बा हजुरबाहरू
आफ्नै दामली आफ्नै दौंतरी खोजेर
छहारी बोकेको चौतारीमा
विगतका व्यस्त र ऊर्जावान् खादाहरू
कहिले घाम कहिले आझेल तापेर बाँचिरहेछन् ।
देख्छु कसैको खल्वाट आज कसैको सेताम्पुर निधार
फुक्लिएका दाँत र कुच्चिएको अनुहार
दोस्रो जुनी हो कि बाआमाहरू
जोडेर एउटा लठ्ठीको साहारा
गन्दै गन्दै पाइतालाका पदचापहरू
कैद गर्दै हरेक शिथिल अङ्ग प्रत्यङ्ग
बाँसको बैंसपछि साटिएको शरीरजस्तै
बाआमा समय काट्न हतारिएका छन्
भजन कीर्तनका खैंजडीसितै ताली थपडीमा
ईश्वर भेट्न अत्तालिएका छन्
धेरैजसो फाटेका मन लिएर
थोरैजसो मिष्टान्न र खानदानमा जिएर
आगत ऋतु र शाश्वत् मृत्युको पर्खाइमा
लाग्छ, एउटा साइत कुरेर बाँचिरहेछन्
जीवनको उत्तराध्र्द कालसँग जिस्किएर
फेरि पनि कतै बाल्यकालीन स्वभाव बटुलिरहेछन्
कल्पिंदै अतीत दीर्घायुको जीवन साँचिरहेछन् ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस