बुढाको काइयो कैची र ऐना !
निधार बढेर पछाडीको गर्दन सम्म पुग्यो त के भयो ?
बगलीमा काइँयो चै राख्नुपर्छ
सबेरै सबेरै कानको अगाडी करेसाबारी कोर्नुपर्छ
नाक मुनिको फुलबारी बढार्नुपर्छ
टाउकोको छेउकुनामा बाँकी रौ काईयोले बेलाबेला तह लगाउनुपर्छ
सोरह बर्षे जवानी के जवानी ? जवानी त बुढाहरुको हेर्नुपर्छ
दारिलाई एकचोटी सोझो खौरियेर चित्तै बुझ्दैन
दोहोर्याएर उल्टो पनि खौरनु पर्छ
दार्ही दोहोरो खौरीए पछि पनि चित्त बुझ्दैन
गर्दन देखि खौरिएको सबै ठाउँ बिस्तार उल्टो सुल्टो हातले छाम्नुपर्छ
दाह्रीका ठुटा बाँकी रहेको नरहेको सुनिस्चित गर्नुपर्छ
चाउरिको मुजा भित्र दार्हीका ठुटा लुकेका छन् कि ?
एउटा हातले चाउरी तन्काएर फेरी चाउरीको खाल्डो पनि खौरिनु पर्छ
सोरह बर्षे जवानी के जवानी, जवानी त बुढाहरुको हेर्नुपर्छ
जयहोस चाइनिज सानो कैंचीको
त्यो नाकको फोहोरा भित्र कोचेर नाकको रौँ छिमल्नु पर्छ
कानको लोतीका रौँ मुठार्न पर्छ
कन्चटका रौँ ले तोकिएको सिमाना नाघे तिनका टाउको छिनाउन पर्छ
सिमाना भन्दा अगाडी आएकालाइ पछाडी धकेल्नु पर्छ
पछाडी गएकालाई अगाडी ठेल्नु पर्छ
बेला बेला उस्तै परे आखि भौं पनि कलमी गर्नुपर्छ
सोरह बर्षे जवानी के जवानी, जवानी त बुढाहरुको हेर्नुपर्छ
जवानीमा हातेझोला भित्रको स्थाई बासिन्दो ऐना बुढीले हेर्दिनन आजभोली
त्यो ऐना त आजभोली बुढाले हेर्नुपर्छ
टाउकोको छेउकुनामा बाँकी रौ काईयोले तह लाउदा ठुलो ऐना
दार्ही जुँगा तह लाउदा मझेउलो ऐना
नाक र कानका रौ तह लगाउदा सानो ऐना
आखि भौं कलमी गर्दा जुनसुकै ऐना
कति साइजका र कस्ता कस्ता डिजाइनका ऐना पाइन्छन बजारमा आजभोली ?
त्यसको सहि उत्तर पाउन त बुढालाई सोध्नुपर्छ
बाथरुममा टाँसिएको ऐना बुढाले पसे पछि र बस्नु अघि हेर्नुपर्छ
बसेर उठेपछि निस्कनु अघि हेर्नुपर्छ
प्रत्येक पटक बाथरुमबाट निस्कदा जुरुर्र उठेका आँखीभौं हातले समम्याउनु
कसले हेर्यो होला ऐना जवानीमा त्यति ?
आफ्नो जवानीमा खुब ऐना हेर्थिन बुढी
अहिले त्यो भन्दा बढी ऐना बुढाले हेर्नुपर्छ
ए, कुरकुरे बैंस र गधा पच्चिसेका ठिटाहरु हो !
धेरै नहेर है ऐना, ऐना त बुढो भएपछि हेर्नुपर्छ
सोरह बर्षे जवानी के जवानी, जवानी त बुढाहरुको हेर्नुपर्छ !
प्रतिकृया दिनुहोस