• शनिबार ७-१४-२०८३/Saturday 10-31-2026
मनोरञ्जन

काठमाडौं हरर फिल्म फेस्टको दोस्रो संस्करण सुरु

काठमाडौं। काठमाडौं हरर फिल्म फेस्टको दोस्रो संस्करण शुक्रबार दिउँसो १२ः४५ बजे रसियन हाउस काठमाडौंमा सुरु भएको छ। कूटनीतिक प्रतिनिधि, संस्कृतिकर्मी तथा चलचित्रप्रेमीहरूको उपस्थितिमा सुरु भएको महोत्सवले हरर चलचित्रलाई उत्सवका रूपमा मनाउँदै नेपालमा विधागत ९जनर० चलचित्र निर्माणको विकासलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ।

 

समारोहमा प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष मनिष पण्डित, जापानी दूतावासका उपनियोग प्रमुख श्री यासुहारु सिन्तो, रसियन हाउस काठमाडौंकी निर्देशक अनास्तासिया खोख्लोभा, पाकिस्तानी दूतावासका प्रथम सचिव (प्रेस तथा संस्कृति) वकास अहमद तथा नेपाल फिल्म तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष  के.पी. पाठकको गरिमामय उपस्थिति रहेको थियो। प्रमुख अतिथि पण्डितसहित अतिथिहरूले संयुक्त रूपमा दीप प्रज्वलन गरी महोत्सवको उद्घाटन गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि पण्डितले नेपालमा विधागत चलचित्रको प्रवर्द्धन र यसको भावी विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। रसियन हाउस काठमाडौंकी निर्देशक खोख्लोभाले नेपाल र रुसबीचको सांस्कृतिक आदानप्रदान सुदृढ बनाउन र रसियन हाउसबीचको सहकार्यलाई अझ गहिरो बनाउने प्रतिबद्धता जनाए।

 

महोत्सव निर्देशक राशिक पाठकले दर्शक, महोत्सवका साझेदार तथा प्रवर्द्धकहरूप्रति आभार व्यक्त गरे। उनले यस वर्षदेखि सुरु गरिएको दर्शक सहभागिताको नयाँ पहलबारे पनि जानकारी गराए। यस अन्तर्गत दर्शकले मतपेटिका मार्फत प्रत्यक्ष मत खसालेर 'दर्शक रोजाइ' विजेता छनोटमा सहभागी हुन सक्नेछन्। नेपाल फिल्म तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा सञ्चालित महोत्सवमा रसियन हाउस काठमाडौं स्थल साझेदार, सिनेमेकर्स सहयोगी साझेदार तथा आईएमई खल्ती टिकटिङ साझेदारका रूपमा रहेका छन्। समारोहपछि दिउँसो १ :१५ बजे लेबनानी निर्देशक नादिम ताबेतद्वारा निर्देशित 'इन दिस डार्कनेस आई सी यू'को प्रदर्शनसँगै महोत्सवका स्क्रिनिङहरू सुरु भएका थिए। ८५ मिनेट अवधिको यो अरबी भाषाको अलौकिक थ्रिलर फ्रान्स, लेबनान, कतार र साउदी अरबको संयुक्त निर्माण हो।

 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले फिल्ममा अलौकिक त्रास र राजनीतिक विषयवस्तुको विशिष्ट संयोजन रहेको भन्दै यसको चर्चा गरेका छन्। स्क्रिन डेली  ले निर्माणस्थल भूतप्रेतले ग्रस्त भएको आशंकापछि सिरियाली कामदार र लेबनानी गाउँलेबीच तनाव चर्किने अलौकिक कथाका रूपमा फिल्मलाई वर्णन गरेको छ। अहराम अनलाइनले फिल्ममा आप्रवासीप्रतिको शत्रुता र विगत तथा वर्तमान दुवैले सताइएको भूभागको चित्रण गरिएको उल्लेख गरेको छ। त्यसैगरी, अमान अलायन्स न्युजले ५८औं कार्लोभी भारी अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको 'वर्क्स इन प्रोग्रेस' खण्डमा यो फिल्म छनोट भएको समाचार प्रकाशित गरेको थियो।

 

शनिवारसम्म चल्ने महोत्सवमा आगामी दुई दिन नेपाल तथा विश्वका विभिन्न देशका हरर तथा विधागत चलचित्रहरू प्रदर्शन हुनेछन्। अन्तर्राष्ट्रिय चलचित्र प्रदर्शन, दर्शक सहभागिता र सांस्कृतिक आदानप्रदानमार्फत नेपालमा विधागत चलचित्रको उपस्थिति सुदृढ बनाउँदै चलचित्रकर्मी तथा चलचित्रप्रेमीहरूका लागि नयाँ अवसर सिर्जना गर्ने महोत्सवको उद्देश्य रहेको आयोजकले जनाएको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार