काका, कचौरो र यादहरू !
कतिपय कुराहरू व्यक्त गर्न नसकिने हुँदोरहेछ ! लेख्छु भन्दाभन्दै पनि लेख्न नसकिने हुँदोरहेछ ! भन्छु भन्दा पनि भन्न नसकिने हुँदोरहेछ ! सायद शब्दहरू हुँदैनन् होला, अक्षरहरू हुँदैनन् होला !
मैले लेख्न खोजेको दुई वर्ष भयो यो विषय । आजभन्दा ठ्याक्कै दुई वर्षअगाडि जब हामीले कान्छा काकालाई गुमायौँ, उहाँको तेह्रौं दिनको पुण्यतिथिमा नै लेख्छु भनेर सोचेको थिएँ, तर सकिनँ । हरेक पटक लेख्न बस्छु, यति धेरै स्मृतिहरू, यति धेरै सम्झनाहरू, यति धेरै यादहरू आउँछन् र म कुनै एउटा ठाउँमा पुगेर एकदमै भावविह्वल हुन्छु । त्यहाँबाट अगाडि बढ्नै सक्दिनँ !
जिन्दगीमा यस्तो अवस्था, यस्तो क्षण, यस्तो खालको मनस्थिति पनि निर्माण हुन्छ भन्ने कुरा कहिल्यै कल्पना गरेको थिइनँ । यति धेरै स्मृतिहरू छन् काकासँगका ! हरेक कुराले मलाई एउटा यस्तो पीडामा पुर्याउँछ र नचाहँदा-नचाहँदै मेरा आँखाहरू कति बेला रसाईसक्छन्, म पत्तै पाउँदिनँ ।
बाल्यकालको एउटा यस्तो कालखण्ड मैले काकासँग बिताएँ र म उहाँसँग यति धेरै नजिक भएँ कि, सायद जीवनमा काकाको बिदाइको क्षणभन्दा बढी दुःखी कहिल्यै हुनुपरेन । यति धेरै सम्झनाहरू, यति धेरै स्मृतिहरू छन् कि यो सहर र त्यो गाउँ-दुवै ठाउँका प्रत्येक कुनामा उहाँका यादहरू जिउँदा छन् । त्यही भएर पनि म शब्दहरू जोडेर लेख्न सकिरहेको छैन, कतिपय कुराहरू मनमै थुपारेर राख्न विवश छु ।
जब काका बिरामी हुनुभयो, सुरुमा त हामीलाई सामान्य किसिमको रोग होला झैँ मात्रै लाग्यो । किनभने, काका त्यतिबेला पनि उत्तिकै सक्रिय हुनुहुन्थ्यो, मज्जाले हिँडडुल गरिराख्नु भएको थियो र बाहिरबाट हेर्दा खासै त्यस्तो ठूलो समस्या केही पनि देखिएको थिएन । केही समयअगाडि मात्रै उहाँ गोसाइँकुण्ड गएर आउनुभएको थियो, त्योभन्दा केही समय पहिले दामोदरकुण्ड पुग्नुभएको थियो ।
काकाले यति छिट्टै हामीलाई छोडेर जानुहोला र हामीले उहाँलाई यसरी सदाका लागि बिदाइ गर्नुपर्ला भन्ने कुरा हामीले सपनामा पनि सोचेका थिएनौँ । त्यो त हाम्रो कल्पनाभन्दा कैयौँ कोस टाढाको कुरा थियो । तर विडम्बना, जम्मा पाँच दिनकै अन्तरालमा काकाले हामीलाई सधैँका लागि छोडेर जानुभयो । त्यसपछाडिको कहालीलाग्दो यथार्थ र शून्यता आज पनि उस्तै छ... !
मसँग आज पनि एउटा स्टिलको कचौरो सुरक्षित छ, जसलाई म अथाह प्रेम गर्छु । त्यो त्यही कचौरो हो जसको संवेदना मेरा कान्छोकाकासँग गाँसिएको छ । त्यो समय अहिले जस्तो स्टिलका भाँडाकुँडा सहज र सुलभ थिएन । धेरैजसो भाँडाहरू सिलावरकै हुन्थे । हाम्रो घरमा पनि केही मात्र स्टिलका भाँडा थिए, जसमा दुईवटा कचौरा पनि थिए—एउटा बाको अर्को कान्छाकाकाको १ मलाई प्रायः हजुरआमाले काकाको कचौरोमा भात दिनुहुन्थ्यो । हामी छुट्टिएपछि, भाँडाकुँडा पनि छुट्टिए । एकदिन भात खाने बेलामा त्यही कचौरो नभई मैले भात खाइनँ र रुवाबासी गरेँ । त्यो देखेर काकाले भन्नुभयो, “यो कचौरो छोरालाई नै दिनू, बच्चा हो उसैले भात खाओस् ।“ र, काकाले त्यो कचौरो मलाई नै दिनुभयो ।
सम्भवतः त्यो घटना विक्रम संवत् २०४२-४३ तिरको होला । त्यो दिनदेखि आजसम्म पनि त्यो स्टिलको कचौरो मेरै साथमा छ । म काठमाडौं आएपछि पनि यो कचौरोलाई मसँगै लिएर आएँ र आज पर्यन्त जोगाएर राखेको छु ।
घरीघरी सोच्दा काकाको जीवन कुनै वियोगान्त चलचित्र जस्तै लाग्छ । हाम्रो घरभन्दा अलिकति टाढा बन्चरे खेत थियो । बैशाख जेठमा कल्छे खोलामा पानी कम हुने भएकाले बन्चरे खेतमा दिनमा पानी पाउन मुस्किल हुन्थ्यो । रातभरि जाग्राम बसेर खेतमा पानी लगाउनु पर्थ्यो । खोलाको पानी कहिले गंगटाले प्वाल पारेर खोदिदिने त कहिले कसैले राति मारेर आफ्नो खेतमा लगाउने ।
म काकासँग धेरै पटक रातभरि बन्चरे खेतमा पानी लगाउन गएको छु । रातभर खेतमा पानी लगाएर बिहान त्यतैबाट स्कुल गएको छु । हाम्रो परिवारको अर्को पाटो जोडिएको छ मिलको इतिहाससँग । पानीमिल र पानीघट्टको धेरै किस्साहरू सुनेको छु मैले । चितवनको टाँडीको पानीघट्ट देखी ढिकुरे र गाउँकै दोभानेसम्म । पछि साइलो काका र कान्छा काका मिलेर गाउँमै डिजेलबाट चल्ने मिल ल्याउनुभयो । केही समयपछि डिजेल मिल कान्छा काका एक्लैले चलाउन थाल्नुभयो । तर दुर्भाग्य, पुरानो मेसिन बारम्बार बिग्रिरह्यो । मेसिनको सामान लिन काका कहिले विरगंज कहिले काठमाण्डौ गरिरहनु भयो तर मसिन एकथोक बनाए अर्कोथोक बिग्रिने भइरह्यो र पूर्ण रूपमा बन्द गर्नुपर्ने अवस्था आयो । मिल बन्द भएपछि काकाको आर्थिक व्यवहार र घरायसी स्थिति बिस्तारै बिग्रिदै गयो ।
हार नमानेर काकाले मिल मर्मत गरेर गाउँबाट अझ तल खोलाको किनारमा थापेर फेरि चलाउने प्रयास गर्नुभयो । तर मेसिनले साथ दिएन, बिग्रिरह्यो । अन्त्यमा, त्यही ठाउँमा पानीबाट चल्ने मिल चलाउने अर्को जुक्ति पनि लगाउनुभयो, तर खोलामा आएको ठूलो बाढीले नयाँ मिललाई पूर्ण रूपमा पुरिदियो ।
त्यसपछिको समय काकाका लागि झनै कष्टकर बन्दै गयो । व्यवसाय डुबेपछि काका टाउकोसम्मै ऋणमा डुब्नुभयो । आफन्तै नाता पर्नेसँग सय कडा पाँचमा लिएको ऋणको चेपुवामा काका नराम्ररी पर्नुभयो । जब ऋणको बोझले थिचेर जिन्दगी झन्झन् असह्य बन्दै गयो, तब बाध्य भएर काकाले पारीखेत बेच्नु भयो र गाउँ छाडेर काठमाडौँतिर लाग्नुभयो ।
काठमाडौँ आएपछि पनि काकाको जिन्दगीले कहिल्यै सुखको सास फेर्न पाएन, सङ्घर्षले उहाँको साथ कहिल्यै छाडेन । सुरुमा काका एक्लै काठमाडौँ छिर्नुभयो र जीविकोपार्जनका लागि अनेक काम गर्नुभयो । कहिले किराना पसल थाप्नुभयो, कहिले च्याउ खेती गर्नुभयो, त कहिले गाई पाल्नुभयो । इनार खन्ने कामदेखि लिएर इनारमा हाल्ने सिमेन्टका रिङ बनाउने कामसमेत गर्नुभयो । कहिले तरकारी पसल र ठेलामा फलफूल बेच्ने कामसम्म गर्न भ्याउनुभयो ।
यसरी काठमाडौँको खाडलमा टिक्न र बाँच्नका लागि उहाँले अनगिन्ती पसिना बगाउनुभयो । जब यहाँ अलिअलि गरेर बस्ने र टिक्ने वातावरण बन्यो, तब गाउँमा रहनुभएकी कान्छी काकी र दुईजना बहिनीहरू-सरिता र दुर्गालाई पनि काठमाडौँ नै ल्याउनुभयो । सङ्घर्षका यी नै काँडाघारीहरूबीच उहाँहरूको सानो परिवारमा भाइ युगलको जन्म भयो, र जीवनयापनको एउटा पांग्रो जसरीतसरी गुड्न थाल्यो ।
समयले बिस्तारै कोल्टो फेर्दै गयो। बहिनीहरूले मिहिनेत गरेर पढे, आफैँ खुट्टामा उभिएर बिस्तारै भत्किएर खण्डहर बन्न लागेको परिवारको संसारलाई आफ्नै पसिनाले टालटुल पारेर जोड्ने र सजाउने अवस्थामा पुर्याए ।
पछिल्लो समय सबै कुराहरू राम्रो र लयमा फर्किंदै थिए । ठूली बहिनी सरिता अध्ययनका लागि अस्ट्रेलिया पुगिन्, उतै मेहनत गरेर आफ्नो जीवनलाई व्यवस्थित बनाइन् र सकेको जति बुबालाई सबै किसिमको सहयोग गरिरहिन् । कान्छी बहिनी दुर्गा पनि जापान गइन्, अध्ययन सकिन् र बिस्तारै आफ्नो खुट्टामा उभिएर काम गर्न थालिन् । कान्छो भाइ युगल पनि कक्षा १२ को परीक्षा दिँदै थियो ।
कस्तो विडम्बना ! हिजो भएका सबै सम्पत्ति र खुसी एकैपटक खोसिएर खण्डहर बनेको संसारलाई फेरि मुश्कीलले जोड्दै, तान्दै एउटा उचाइमा पुर्याएको अवस्थामा काकालाई घातक क्यान्सरले घेर्यो । रोग पनि यस्तो अवस्थामा मात्रै पत्ता लाग्यो, क्यान्सरको अन्तिम चरण, जसले हामीलाई सम्हालिनै दिएन ।
२०८१ साल असोज ९ गते काकालाई अलिकति सन्चो भएन, काका हिँडेरै अस्पताल जानु भएको थियो । असोज १० गते आएका केही प्रारम्भिक रिपोर्टहरूमा अल्सर भएको कुरा थाहा भयो । डाक्टरहरूले क्यान्सरको आशङ्का व्यक्त गरे र तुरुन्तै बायोप्सीका लागि नमुना पठाए । ११ गते सिटी स्क्यान गर्दा त्यो आशङ्का पुष्टि हुने धेरै आधारहरू डाक्टरहरूले दिएपछि बहिनीहरूसँग सल्लाह गरेर १२ गते हामीले काकालाई भक्तपुर क्यान्सर हस्पिटल लिएर गयौँ । हस्पिटल पुर्याउँदासम्म उहाँ सामान्य नै हुनुहुन्थ्यो, त्यस्तो धेरै गाह्रो भइसकेको थिएन । तर अस्पताल पुगेर एकपटक बान्ता भएपछि उहाँलाई अचानक गाह्रो भयो ।
ठूली बहिनी मेडिकलको विद्यार्थी भएकोले हामीले उहाँबाट कुनै पनि कुरा लुकाएनौँ, अवस्था कति गम्भीर छ भन्ने सबै जानकारी दिएका थियौँ । भाइ त सुरुदेखि सँगै नै थियो । खबर पाएलगत्तै अस्ट्रेलियाबाट ठूली बहिनी सरिता र दीपक ज्वाइँ नेपालतर्फ उड्नुभयो ।
अस्पतालमै रहँदा १३ गते बेलुका बायोप्सीको रिपोर्ट आयो, जसमा चौथौ चरणको क्यान्सर पुष्टि भयो । १४ गतेबाट काकालाई अलि गाह्रो भयो । दिसा नभएपछि डाक्टरले नाकबाट पाइप हान्दिनुभयो र खानेकुराहरू केही पनि खान नदिनुस् भन्नुभयो । तर काकाले 'मलाई तिर्खा लाग्यो, पानी खान देऊ, पानी खान देऊ' मात्रै भनिराख्नुहुन्थ्यो । डाक्टरले मुख मात्रै कपडाले भिजाइदिनुस्, तर पानी खान नदिनुस् भनी निर्देशन दिनुभएको थियो ।
जब म मुखमा कपडा लगेर ओठ मात्रै भिजाइदिन खोज्थें, उहाँ त्यो टालै चुस्न खोज्नुहुन्थ्यो । बिरामीले यति धेरै पीडा सहँदा 'पानी खान्छु' भन्दा पनि पानी दिन नमिल्ने—जिन्दगीमा यस्तो लाचारी र दर्दनाक अवस्था पनि निर्माण हुँदो रहेछ भनेर मेरा आँखाहरू रसाउँथ्यो र मुटु भक्कानिएर आउँथ्यो ।
१४ गतेसम्म काका अलिअलि बोलिरहनुभएको थियो । उहाँसँग हाम्रा धेरै कुराकानी भए, घरव्यवहारका कुराहरू र एक-अर्कालाई दिने आडभरोसाका अनेकौँ कुराहरू गर्यौँ । तर १५ गते बिहान काकाले मलाई भन्नुभयो, 'मलाई एकदमै धेरै अनारको जुस खान मन लागेको छ, पुरुषोत्तम, मलाई अनारको जुस ल्याइदेऊ न ।' मैले काकालाई निको पारेर घर फर्काएर लैजान सक्छु भन्ने आशा मरिसकेको थिएँ । त्यसैले, कम्तीमा पनि उहाँले इच्छा गरेको कुरा खान दिन पाए हुन्थ्यो भन्ने सोचले एक गिलास अनारको जुस लिन पठाएँ भाइ युगललाई । जुस ल्याएपछि मैले चम्चाले खुवाउन खोजेँ, तर उहाँले आफैँ हातले समातेर गिलासबाटै पिउन खोज्नुभयो । आधा गिलास जति जुस खाइसकेपछि उहाँले, 'भयो, पुग्यो, अब खान्नँ,' भन्नुभयो ।
१५ गते दिउँसो १ बजेतिर सरिता बहिनी र ज्वाइँ अस्पताल आइपुग्नुभयो । केही समय ठूली छोरीको हात समातेर बेस्कन रुनुभयो काका । म आफूलाई सम्हाल्न नसकेर बाहिर निस्किएँ र कतै कुनामा गएर चुपचाप आँसु झारेँ । सकेसम्म भाइ-बहिनी र काकाको अगाडि आँसु झार्दिनँ भनेर कोसिस गरेँ ।
कान्छी बहिनी दुर्गाले १६ गते नेपाल आइपुग्ने गरेर टिकट काटी । तर काकाको जीवनसँगको लडाइँले धेरै लामो समय टिक्नसकेन । १५ गते दिउँसो ३स:३० बजे तिर काकाले यो भौतिक संसार सधैँका लागि छोडेर जानुभयो । २०२३ साल भदौ ८ गते जन्मिनुभएको कान्छा काका युवराज लम्साललाई हामीले २०८१ साल असोज १५ गते गुमायौं । काकासँग जोडिएका अनगिन्ती स्मृतिहरू मेरा मानसपटलमा सधैँ ताजै छन् । काठमाडौँमा काकाले जति पनि सङ्घर्ष गर्नुभयो, ती सबै दुःख र कष्टको साक्षी म थिएँ । जीवनमा कुनै दुःखको भारी बिसाउनु वा खुसीको खबर साट्नुपर्यो भने पनि मलाई खबर गर्नुहुन्थ्यो ।
कान्छी बहिनीको जापानमा ग्र्याजुएसन हुने भयो । जापान जानका लागि काका र काकी दुवै जना पासपोर्ट बनाउन जानुभएको थियो । हामी मायाले कान्छी बहिनी दुर्गालाई 'पुन्टु' र ठूली बहिनी सरितालाई 'कालू' भन्छौँ । पासपोर्ट बनाउन जाने बेला काकाले मलाई फोन गरेर भन्नुभएको थियो, 'हामी त जापान जान पर्ला जस्तो छ पुन्टेको टोपी लगाउने बेलामा । पासपोर्ट बनाउन जान लागेको ।' पछि पासपोर्ट हात परेपछि पनि उहाँले मलाई खुसीसाथ फोन गरेर 'पासपोर्ट आयो' भनी सुनाउनुभएको थियो ।
जापान जाने ती तयारीहरूका क्रममा उहाँले आफ्ना लागि नयाँ लुगासमेत सिलाउन लगाउनुभएको रहेछ, कमिज, सुरुवाल र ज्वारीकोट । तर विडम्बना, त्यो लुगा सिलाउन दिएको पसलबाट ल्याउन पनि काकाले भ्याउनुभएन ।
तपाईंले यो संसार छोडेर जानु भएको पनि आज ठ्याक्कै दोस्रो वर्ष पूरा भयो । तपाईं नहुँदाको असीम पीडा र शून्यता म अहिले पनि पलपल महसुस गरिरहेको छु । यद्यपि, तपाईंको अभाव काकी, भाइ र बहिनीहरूलाई महसुस हुन नदिन म मेरो तर्फबाट सकेको प्रयास गरिरहेको छु, उहाँहरूको साथमा उभिने कोसिस गरिरहेको छु ।
तपाईंको छत्रछायामा हाम्रो जुन एउटा न्यानो पारिवारिक जमघट हुन्थ्यो, अब केवल सम्झना बनेर बाँकी छ । कहिले हजुरबुबाको श्राद्ध, कहिले हजुरआमाको पुण्यतिथि, हामी सबै भेट्थ्यौँ ।
'आज यतिकै भेटौँ, तास खेलौँ, रमाइलो गरौ भन्दै साइलो काकाका छोराहरू मधु र सन्तोष भाइ, ठूलोबाका छोरा केशव दाइ र छोरी गोमा दिदी, माइलो हजुरबाका नाति नारन भाइ, माइली दिदीका छोरा पुस्कर भान्दाइ, साइली दिदीका छोरा रमेश भाइ, हरिशरण दाइ लगायत भेटेर रमाइलो गरेको पल हिजोजस्तो लाग्छ ।
हामी सबै काठमाण्डौमा भएका परिवारका सदस्यहरू जम्मा हुने एउटै साझा चौतारी हुनुहुन्थ्यो तपाईं ! हाम्रो त ओत लाग्ने चौतारी सदाका लागि ढलेको छ ! तपाईंको अभाव सदैव महसुस भइरहनेछ काका !





प्रतिकृया दिनुहोस