• मंगलबार ८-८-२०८३/Tuesday 11-24-2026
देश/प्रदेश

प्रधानमन्त्री बालेन आज भारत जाँदै,यस्तो छ कार्यतालिका

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको दुईदिने राजकीय भ्रमणका आइतवार दिउँसो नयाँ दिल्ली प्रस्थान गर्दैछन्। दिउँसो १ः४५ बजे नेपाल एयरलाइन्सको नियमित उडानमार्फत भारत प्रस्थान गर्ने प्रधानमन्त्री शाहलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने कार्यक्रम तय भएको छ। 

 

विमानस्थलबाट प्रधानमन्त्री सिधै नयाँ दिल्लीस्थित होटल ताज मानसिंह ९ताज महल० जानेछन्। साँझ ६ बजे सोही होटलमा भारतीय विदेशमन्त्री डा एस जयशंकरले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेटवार्ता गर्ने तय भएको छ।

 

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति  द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन्। उनले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भोलि सोमबार प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री शाहले सोमबार नै नयाँ दिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा गई श्रद्धासुमन पनि अर्पण गर्नेछन् ।

 

भ्रमणका क्रममा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी विभिन्न सम्पन्न परियोजनाहरूको उद्घाटन र नयाँ परियाजनाको शिलान्यास गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री शाहको भ्रमणका क्रममा दुवै देशका नेतृत्वबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ । त्यस क्रममा सहकार्यका क्षेत्र शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन, मानव संसाधन विकासजस्ता विषय समेटिएका विभिन्न समझदारीपत्रहरू (एमओयू) पनि आदानप्रदान गरिने कार्यक्रम रहेको छ । 

 

भ्रमणका क्रममा नेपाल–भारत बिजनेस फोरमको छलफल कार्यक्रम आयोजना हुनेछ । नेपालमा भारतीय लगानी आकर्षित गर्ने उद्देश्यले भारतीय व्यवसायी समुदायलाई सम्बोधन गरिने र व्यवसायी समुदायका चासो तथा सरोकारहरू सुन्ने तथा नेपाल सरकारका तर्फबाट भारतबाट थप लगानी आकर्षित गर्न अवलम्बन गरिएका नीतिगत दृष्टिकोण तथा प्रयासहरू प्रस्तुत गरिनेछ ।
 

प्रधानमन्त्री शाहको टोलीमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारीहरू, व्ययवसायी र पत्रकारलगायत रहेका छन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार