• शुक्रबार ५-५-२०८३/Friday 08-21-2026
डबली

डा.विमलको राजकीय सम्मानका साथ अन्त्येष्टि

काठमाडौं । साहित्यका अग्रणी स्रष्टा, भाषाविद् तथा शिक्षाविद् डा राजेन्द्र विमलको  जनकपुरधामस्थित स्वर्गद्वारीमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । डा.विमलको पार्थिव शरीरमा उनका जेठा छोरा डा आभाषलाभ कर्णले दागवती दिएका थिए । लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित डा विमलको गएराति १२ः४५ बजेतिर जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा निधन भएको थियो । 

 

डा विमलको पार्थिव शरीरमा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गणेश), मधेस प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्ण, मधेस प्रदेशसभाका सभामुख रामअशिष यादव, प्रतिनिधिसभा सदस्य मनिष झा, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल लगायतले श्रद्धाञ्जली दिएका थिए। अन्त्येष्टिको क्रममा नेपाल प्रहरीको टोलीले स्व डा विमललाई सलामी अर्पण गरेको थियो ।

 

साहित्यका क्षेत्रमा अग्रणी श्रष्टा विमलको पहिलो कथा ‘विपतिया’ १५ मार्च १९६३ मा मिथिला मिहिर पत्रिकामा प्रकाशित भएको थियो । त्यसयता उनी कथा, कविता, गीत, गजल, नाटक, उपन्यास, समालोचना, बालसाहित्य, अनुवाद तथा भाषा विज्ञानका क्षेत्रमा निरन्तर सक्रिय रहेका थिए। उनका चर्चित कृतिमा ‘ई हमरे कथा थिक’, ‘इतिहासक घाओ’, ‘डा विमलका कथाहरू’, ‘सरबरिआ गाउँको कथा’ तथा ‘फिस्टी रानी’लगायतका पुस्तक प्रकाशित छन्। उनका रचना गोरखापत्र, मधुपर्क, गरिमा लगायतका प्रतिष्ठित पत्रपत्रिकामा प्रकाशित हुँदै आएका थिए ।

 

उनी विद्यापति पुरस्कार कोषद्वारा स्थापित ‘नेपाल विद्यापति भाषा, साहित्य पुरस्कार’का पहिलो प्राप्तकर्ता थिए । यसका अतिरिक्त उनी गरिमा सम्मान, जगदम्बा सम्मान, राष्ट्रिय प्रतिभा पुरस्कार, सिद्धी श्री पुरस्कार लगायतका सम्मानबाट विभूषित भएका थिए ।  
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार