• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
पत्रपत्रिका

‘नेकपा’ ब्युँताउने गृहकार्यमा शीर्ष नेता

काठमाडौं । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ब्युँताउने गृहकार्यमा शीर्ष नेता जुटेका छन् । चर्चा भएजस्तै तत्कालै सम्भव नभए पनि केही समयपछि हुनसक्ने नेताहरू बताउँछन् । नेपाली कांग्रेससहितको पुरानो गठबन्धन टुटेर नयाँ गठबन्धन बनेपछि सो चर्चा भएको हो ।

 

नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी नेपाल (जसपा)सहितको नयाँ गठबन्धन पछिल्लो समय बनेको छ । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनअघि एक सार्वजनिक कार्यक्रममा गठबन्धन बदलेसँग आफू बृहत्तर वामपन्थी एकताको पहल गर्नेतर्फ लाग्ने बताएका थिए ।

 

एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका बीचमा पार्टी एकीकरण गरी नेकपा ब्युँताउन लागिएको बताइएको छ । प्रधानमन्त्री प्रचण्डले दिएको सार्वजनिक अभिव्यक्ति मात्रै नभई यी तीनवटै पार्टीका नेताले वाम एकताको पक्षमा धारणा राख्दै आएका छन् । नेकपा ब्युँताउनेगरी अगाडि बढ्नुपर्नेमा फरक मत कसैको छैन । तर, अहिले नै त्यसका लागि वातावरण बनिनसकेको उनीहरूको बुझाइ छ ।

 

एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले अहिले नै एकीकरण हुनेगरी कुनै छलफल नभएको बताए । यद्यपि, अहिले भइरहेका छलफलले एकीकरणका लागि वातावरण बन्दै गएपछि पछि एकता पनि हुनसक्ने उनले बताए । ‘अहिले सरकार सञ्चालनको विषयमा छलफल, भेटघाट हुने गरेको छ, पार्टी एकीकरणकै विषय भने प्रवेश भएको छैन, तर नेताहरूका बीचमा भेटघाट, छलफल हुँदै अगाडि बढ्ने, वातावरण बन्दै गएपछि बिस्तारै एकीकरण पनि हुनसक्छ,’ ज्ञवालीले भने ।

 

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका बीचमा पछिल्लो समय भेटघाट एवं छलफल बाक्लिँदै गएको छ । ती छलफललाई कतिपयले ‘नेकपा’ ब्युँताउने चर्चा गरेका छन् । तर, नेकपा ब्युँताउनेगरी छलफल अगाडि नबढेको ज्ञवालीले बताए ।सुभाष साह/ राजधानी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार