• शनिबार १-२२-२०८१/Saturday 05-04-2024
पत्रपत्रिका

समस्याग्रस्त बिस सहकारी, आफैँ सञ्चालक आफैँ ऋणी

काठमाडौँ ।  सङ्घीय सरकार मातहत दर्ता भएकामध्ये २० सहकारी संस्थालाई ‘समस्याग्रस्त’ घोषणा गरिएको छ । गलत तरिकाले ऋण प्रवाह, आर्थिक अनियमितता र सर्वसाधारणको सेयर र बचतको चरम दुरुपयोगकै कारण यी सहकारी संस्था समस्याग्रस्त बनेका पाइएको हो । 

 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार समस्याग्रस्त सहकारी संस्थाको सूचीमा पछिल्लो पटक गौतमश्री बहुद्देश्यीय सहकारी संस्था लिमिटेड पनि थपिएको छ । २० मध्ये दुई/दुई वटा सहकारी संस्थाको सञ्चालक पनि एउटै व्यक्ति रहेको खुलेको छ । यी २० वटै सहकारी संस्थाबाट झन्डै १७ अर्ब रुपियाँ अपचलन भएको छ । 

 

रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा १३ करोड रुपियाँ लगानी गराउने फरार अभियुक्त गितेन्द्रबहादुर राईले अर्को सहकारी संस्था पनि डुबाएका छन् । 

 

सरकारले २०७५ असार १८ गते खुशचन्द्र श्रेष्ठ अध्यक्ष रहेको कुबेर बचत तथा ऋण सहकारी संस्था लमिटेड र प्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त घोषणा गरेको थियो । त्यसै गरी राजु श्रेष्ठ अध्यक्ष रहेको स्ट्यान्डर्ड मल्टिपर्पोज  कोअपरेटिभ लिमिटेड र चार्टर्ड सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडलाई २०७५ असार १८ गते नै समस्याग्रस्त घोषणा गरेको थियो ।

 

सरकारले कोहीनुर हिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेड, भेगास बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पशुपति सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेड, तुलसी बहुमुखी सहकारी संस्था लिमिटेड, शिवशिखर बहुद्देश्यीय सहकारी संस्था लिमिटेडलाई पनि समस्याग्रस्तको सूचीमा राखेको छ ।

 

उहाँका अनुसार हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेड, कृषि विकास बहुद्देश्यीय सहकारी संस्था लिमिटेड, कान्तिपुर सेभिङ एन्ड क्रेडिट सहकारी संस्था लिमिटेड र लालीगुराँस बहुद्देश्यीय सहकारी संस्था लिमिटेड पनि समस्याग्रस्त सूचीमा परेपछि समितिले छानबिन, सम्पत्ति रोक्का र कारबाही प्रक्रिया अगाडि बढाएको छ । अशोक अधिकारी/ गोरखापत्र 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार