• शनिबार १०-२१-२०७९/Saturday 02-04-2023
विचार

गृहकार्य विनाको विकासकार्य

मेलम्चीको पानी अब छिट्टै घर घरमा आउने भनेर केही दिन अघिका छापाहरूमा समाचार आएपछि मनको एउटा कुना केही प्रसन्न भए पनि अर्को मनले त्यो कुरालाई पत्याउन नै सकेन । नपत्याउनुको मुख्य कारण हाम्रो पुस्ताले जीवनभर मेलम्चीको पानीको कुरा सुनेर नै जीवन बिताइरहेकोे छ। तर खुशी चाहिँ केमा छ भने, विरलै भएपनि महिनामा एकाध चोटी पानी आउने धाराको पानी भन्दा पनि ज्यादै फोहर र दूषित जारको पानी वा ट्युववेलको पानी पिउन सर्वसाधारण काठमाडौँवासी वाध्य भइरहेको अवस्थामा केही स्वच्छ  पानी धाराबाट थापेर खान पाइने भयो ।

 

सुन्दरीजलको रिजभ्र्वायरको पानीमा नै पर्ने गरेर छेउछाउमा केही स्थानीय व्यक्तिहरूले मलमूत्र त्याग गरिरहेका र फोहरमैला फ्याँकिरहेको दृश्यको साथै नेपाल टेलिभिजनका समाचार संकलकले एक स्थानीय व्यक्तिलाई प्रश्न गर्दा ‘हामीलाई के मतलब ? यस्तै पानी पिउन् न काठमाडौँवासीहरूले’ भनेर हाकाहाकी भनेको कुरा प्रसार भएको ३ दशकभन्दा बढी भइसकेको भएता पनि आज पनि त्यो सम्वाद र दृश्य झल्झली आँखा अगाडि आइरहन्छ । त्यस्तै २०४६ सालको जनआन्दोलन निर्णायक मोडमा पुगिरहेको बेलामा आधा रातमा अकस्मात घरघरमा टेलिफोन मार्फत अपरिचित व्यक्तिहरूले फोन गरेर ‘सुन्दरीजलको पानीमा विष हालीदिएका छन् आतंककारीहरूले, कृपया नपिउनु होला’ भन्ने झुठा खवर सुनाए पछि काठमाडौँवासीहरूको होसहवास नै उडेको थियो । यो कुरा किन पनि यहाँ दोहोर्‍याइएको हो भने, यदी मेलम्चीको पानी सुन्दरीजल तथा अन्य रिजभ्र्वायरहरूमा जम्मा गरेर घरघरमा दीगो रूपमा बाँड्ने हो भने यसको निर्मलता र सुरक्षामा पनि विशेष ध्यान पुर्‍याउनु पर्दछ। काठमाडौँमा मात्र होइन, मुलुकभरका खानेपानीका मुहान र रिजभ्र्वायरहरूमा यस्तो व्यवस्था गरिनु पर्दछ ।

 

केही दिन अघिदेखि भने साँच्चै नै मेलम्चीको पानी काठमाडौँ आइपुगेछ । धारामा पानी आएपछि भन्दा पनि सडक–गल्ली जलमग्न हुन थालेपछि यो कुराले आधिकारिकता पाएको हो। हामी कहाँ कुनै पनि कुराको यथेष्ट गृहकार्य गर्ने बानी नभएकोले नै यसरी पानी सडकमा नै छताछुल्ल हुन पुगेको हो । काठमाडौँको लाजिम्पाटमा त केही दिन अघि निक्कै धेरै पानी जम्न पुगेको थियो । त्यस्तै अन्य ठाउँहरूमा पनि भर्खरै भरेको कालोपत्र मुनिबाट पानी पलाएर सडक भरी फैलिएको छ भने धेरैजसा मोटरगाडीहरूले सभ्यताको मापदण्डलाई नै कुल्चेर बटुवाहरू निथ्रुक्क हुने गरी पानी माथिबाट गाडी दौडाएर लग्ने गर्दछन् । उनलाई पनि घरमा गृहमन्त्रीले, लालाबालाले तथा खाली खल्तीले तथा काममा जाँदा हाकिमले हैरान पारेकाले सोको रिस निरीह बटुवाहरू माथि पोखेका होलान् नि त ।

 

मेलम्चीको पानी घरघरमा पुर्‍याउनको निम्ति लामो समयसम्म काठमाडौँका सम्पूर्ण सडक खनेर ठूला साना नयाँ पाइपहरू बिछ्याएर ती पाइपबाट पानीको चुहावट भए नभएको जाँच गरेको पनि वर्षौँ बितिसक्यो । तर त्यसो गर्दा गर्दै पनि पाइपहरूबाट पानी लिक भएर सडक जलमग्न हुनु भनेको या त पाइपको गुणस्तरमा कमी भएको हुनुपर्‍यो या पाइप जडान र जाँचमा नै हेलचक्र्‍याईँ भएको हुनुपर्‍यो । मुलुकको राजधानीका सडकमा त यस्तो लापर्वाही हुन्छ भने अन्य ठाउँहरूको के हाल होला हाम्रो देशमा ।

 

गृहकार्य विना नै काम गर्ने बानी हामी नेपालीको नयाँ भने होइन । नालापानीको युद्धभन्दा पहिले राम्ररी गृहकार्य र लेखाजोखा गरेको भए हामीले सायद त्यो लडाईँमा पराजित भएर एक तिहाई भूभाग दुश्मनलाई बुझाउनु पर्ने अवस्था नै आउँदैन थियो होला । आफुले जितेको भुभागमा आफ्नो पकड छ या छैन, त्यहाँका जनतालाई खुशी बनाउने काम गरिएको छ या छैन, स्थानीय व्यक्तित्वहरूलाई विश्वासमा लिएर नेतृत्वको जिम्मा दिइएको छ वा छैन, लडाईँको निम्ति रसद, पानी र हतियार तथा लडाकुको राम्रो व्यवस्था गरिएको छ या छैन भन्ने कुराहरूको लेखाजोखा नै नगरी लडाईँ गर्न हतारो गरेकाले नै नेपाल पराजित हुनुका साथै भक्ति थापा जस्ता थुप्रै वीर गोर्खालीहरूले ज्यान गुमाउनु परेको हो त्यो बेला । यसको सानो प्रमाणको रूपमा पश्चिम कमाण्डका सेनापति अमरसिंह थापाले प्रधानमन्त्री भिमसेन थापालाई गृहकार्य नपुगेकोले हाल लडाईँ गर्न नहुने व्यहोराको पत्र तीन पटक पठाएको कुरा इतिहासमा भएबाट पनि थाहा लाग्दछ ।

 

वि.सं. २००७साल पछिको नयाँ नेपालमा पनि कैयन् कुरामा नेपालीहरूले गृहकार्य नगरेको कारण नै नेपाल आन्तरिक र अन्तर्राष्ट्रिय मामिलामा धेरै चोटी चुकेको कुरा सर्वविदितै छ। टाढाको कुरा के गर्नु, नेपाल–भारत वा नेपाल–चीन वाणिज्य, सिमाना वा अन्य विषयका वार्ता हुनु अघि नेपाली पक्षको गृहकार्य निक्कै फितलो हुने गर्दछ भने भारतीय वा चीनी पक्षले साना विषयमा पनि ज्यादै धेरै गृहकार्य गरेर वार्ताको टेबुलमा बसेका हुन्छन् । त्यसैले त्यस्ता वार्ताहरूमा नेपाली पक्ष वाल्ल परेर बस्ने बाहेक अरू विकल्प रहँदैन। एकजना अवकासप्राप्त वाणिज्य मामिलाका ज्ञाताले समेत यस्तो कुरा बताएको म सम्झन्छु ।

 

सरकारले भैरहवामा गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न गरेर उद्घाटन समेत गरिसकेको छ । तर यत्तिका महिना बितिसक्दा पनि यो विमानस्थल अझै राम्ररी सञ्चालनमा आउन सकेको छैन । यसो हुनुमा धेरै आर्थिक, प्राविधिक, प्रशासकीय, कुटनीतिक र अन्य कारणहरू छन् । ती मध्ये पनि अति महत्वपूर्ण कारण भने भारतसँग नयाँ हवाईमार्गको लागि वार्ता गरेर सोबारेको सम्झौता नै नगरी विमानस्थल निर्माण गर्न हतारिनु हो ।

 

नेपाल र भारतको सिमानामा रहेका प्रमुख नाका र शहरहरूमा विशेष आर्थिक क्षेत्र (सेज) र ड्राई पोर्टहरूको निर्माण पनि गृहकार्य विना नै गरिएकोले ती मध्ये धेरै वटा अझसम्म पनि सञ्चालनमा आउन सकेका छैनन् । रेल तथा औद्योगिक क्षेत्रहरूको पनि आआफ्नै व्यथा छन् र तीनमा पनि गृहकार्यको कमी नै प्रमुख कारक तत्व बन्न पुगेका छन्। निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कुरा पनि त्यस्तै गृहकार्य विनाको सपना हो । गृहकार्य हुँदै नभएको भने होइन । वास्तवमा यी सब आयोजनाको नाममा ज्यादै मोटो रकम कसरी कुम्ल्याउने र ककसले बाँडीचुँडी खाने भन्ने कुराको गृहकार्य भने ज्यादै सोचविचारका साथ हुने गरेको हुन्छ ।

 

विश्वका सबै मुलुकहरूका राजमार्गहरूको आवश्यकता अनुसार मर्मत–सम्भार र विस्तार गरिन्छन्। कैयन् मुलुकहरूको भ्रमणको दौरान त्यहाँका राजमार्गहरूको मर्मत तथा विस्तार गर्दा सो बाटो भएर आवत जावत गर्ने सवारी साधनहरूलाई कुनै पनि असर नपर्ने गरेर कार्य भइरहेको हुन्छ । तर आज हामी नेपालका नारायणगढ–वुटवल वा पृथ्वी राजमार्ग कै मुग्लिङ–पोखरा खण्डको विस्तार कार्यलाई हेरौँ, ती बाटाहरू आज यात्रा गर्न लायककै छैनन्। आयोजना शुरु हुनुभन्दा पहिले ज्यादै राम्रो अवस्थामा रहेका ती राजमार्गहरूको विस्तार गर्नुपर्ने दायाँ–वायाँ खण्डमा मात्र शुरुमा निर्माण कार्यको थालनी गरेर बीचको राम्रो भागलाई निरन्तरता नै दिइराख्न किन नसकेको हो कुन्नी । स्तरोन्नती र विस्तार गर्ने नाममा पुरै राजमार्ग भताभुङ्ग नै पार्नु पर्ने जरुरत किन पर्‍यो कुन्नी । सडक विभाग तथा अन्य सरोकारवाला निकायका इन्जिनियरहरू पनि वर्षेनी तालिमको लागि विदेश गइ नै रहेका हुन्छन् । उनीहरूले यो बारे के सिकेर आएछन् त ? यो पनि सरकारी निकायले नेपालमा योजना र गृहकार्य विना नै कसरी कार्य सञ्चालन गर्छन् भन्ने एउटा नमुना हो।

 

जलविद्युत विकास कै कुरा गरौँ न । नेपालले आज आएर जलविद्युत उत्पादनमा निक्कै ठूलो फड्को मारेको छ। आज आएर मुलुकभित्रको लोडसेडिङलाई निर्मुलै पारेर भारतमा समेत विद्युत विक्री गरेर अर्बौँ रुपैयाँ कमाउने हैसियतमा नेपाल पुगिसक्यो । तर यो क्षेत्रमा पनि सरकारले यथेष्ट गृहकार्य नगरेको नै देखिएको छ । नीजि क्षेत्र र विद्युत प्राधिकरणले निर्माण गरिरहेका कैयन् विद्युत आयोजनाहरूको साथसाथै आवश्यकता मुताविकका शक्तिशाली ट्रान्समिशन लाईनहरू पनि सरकार र प्राधिकरण दुबैले समानान्तर रूपमा निर्माण गर्दै जानु पर्नेमा सो कार्यमा चरम ढिलासुस्ती हुन गई वितरण प्रणाली नै कमजोर भएपछि कसरी विद्युतको सही ढङ्गले आपुर्ति र निर्यात गर्ने । त्यस्तै नेपालमा जलविद्युत तथा वैकल्पिक उर्जाकोे यसरी वृहत् रूपमा विकास भइरहेको बेलामा अन्य इन्धनको आयात कम गर्न आमजनतालाई मुलुकभित्रै उत्पादन भइरहेको विद्युतको खपत बढी से बढी गर्न कसरी उत्साह जगाउने । यो कुराको पनि यथेष्ट गृहकार्य भएको देखिएन । 

 

केही वर्षअघि नेपाल वायुसेवा निगमले ४ थान नयाँ जेट विमान र ६ थान साना विमान खरिद गर्‍यो । उसको सेवा विस्तारको निम्ति अझ बढी यस्ता सबै प्रकारका विमानहरू खरिद गर्नु पर्ने देखिन्छ । तर गृहकार्य खै त ? साना विमान खरिद गरेको १ वर्ष पछि नै उसले ती विमान काम नलाग्ने र तीनबाट सेवा प्रदान गर्दा निगमलाई नपोसाउने कुरा अघि सारेर तिनको उडान नै बन्द गरेर अहिले लिलाम विक्रीको लागि राखेको छ । यसो गर्दा एकातर्फ त्यति धेरै रकम खर्चेर ल्याएका विमानले यात्रुको सेवा गर्न नसक्दा आर्थिक रूपमा पनि घाटा पर्न जानुका साथै संस्थाको तथा विश्वसनीयता नै घट्न गयो भने अर्कोतर्फ मित्र राष्ट्र चीनको प्रविधिको उच्च विकास माथि नै सियो समेत बनाउन नसक्ने नेपालले शंका गरेको वा हवाइजहान निर्माण गर्ने पश्चिमा मुलुकको दवावमा परेको पनि देखियो । त्यस्तै अन्तर्राष्ट्रिय सेक्टरमा उत्कृष्ट सेवा प्रदान गर्ने भनेर खरिद गरेका जेट विमानहरूलाई आजसम्म पनि राम्ररी व्यवस्थापन गरेर बढी से बढी गन्तव्यमा पुर्‍याउन नसक्नु भनेको पनि निगम र सरकार दुबैले गृहकार्य विना नै अघि बढिरहेको देखियो । पुराना जेट र पार्टपुर्जाको विक्री र हिनामिनाको कहानी आफ्नै ठाउँमा छ ।

 

खेलकुद कै कुरा गर्दा सन् २०१५ को महाभुकम्पले क्षति पु¥याएका खेलकुदका संरचनाहरूको मर्मत र पुनर्निर्माण गर्न सरकारलाई निक्कै हम्मे परेको थियो भने मुलुकको जनसंख्याको माग अनुसार यस्ता नयाँ पुर्वाधारहरूको विकास गर्दै लग्ने कुरामा पनि खासै गृहकार्य भइरहेका देखिएको छैन। त्यसैले त राष्ट्रिय तथा सार्क स्तरिय खेलकुद प्रतियोगिताहरू मुखैमा आउँदा पनि हाम्रा खेल संरचनाहरू तयारी अवस्थामा रहेका नै हुँदैनन् ।

 

हाम्रो देशले मुलुकको सर्वाङ्गीण विकासको लागि पञ्चवर्षिय योजना बनाउन थालेको पनि सात दशक भइसक्यो । तर योजना बनाएर मात्र मुलुकको विकास हुने होइन । योजनाको कार्यान्वयन पक्ष पनि त्यति नै चुस्त र स्फुर्त हुनु जरुरी हुन्छ । सबैभन्दा पहिलो कुरा त योजना बनाउनु भन्दा पहिले पनि प्रसस्त गृहकार्य गरेर घाँटी हेरेर हाड निल्न सक्ने किसिमको विकास योजना तर्जुमा गर्नु पर्‍यो र त्यसको कार्यान्वयनको निम्ति प्रत्येक वर्ष आवश्यक वजेट विनियोजन गर्नुका साथै आयोजना शुरु भएदेखि नै व्यावहारिक कार्यतालिका बनाएर काम अघि बढाउँदै कार्यप्रगतिको नियमित रूपमा अनुगमन र मुल्याङ्कन हुनुपर्‍यो । यो सब कुराको निम्ति पनि निक्कै धेरै गृहकार्यको जरुरत पर्दछ ।

 

संक्षेपमा भन्नु पर्दा मुलुकको सर्वाङ्गीण विकास र सर्वसाधारणको हित र सुख–समृद्धिको निम्ति सरकार तथा सम्बन्धित निकायले कुनै पनि कार्य गर्दा प्रसस्त गृहकार्य गरेर सो कामको दौरान आउन सक्ने सम्भावित समस्याहरूको पहिचान र तिनका समाधानका उपाय समेत खोजेर अवलम्बन गर्नु पर्दछ। सर्वप्रथम त सरकार र नेतृत्व पक्षमा इमान्दारिता र लगनशीलता चाहियो ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार