• शुक्रबार ६-२१-२०७९/Friday 10-07-2022
पत्रपत्रिका

दागबत्ती दिन पाँच लाख माग

काठमाडौं । बिहेको बेला दाइजोका लागि हुने सौदाबाजीको घटना सामान्यजस्तै लाग्छ। तर यहाँ मृत्युको शोकमा पनि त्यस्तै सौदाबाजी भएको छ। त्यस्तो सौदाबाजी पनि अरूले नभएर छोरा नभएका मृतकका ज्वाईंले गरेका हुन्। मृतकको परिवारले मागेजति रकम दिन नसकेपछि मृतकको अन्त्येष्टि पनि हुन सकेन। दोस्रो दिनमात्र अविवाहित छोरीले दागबत्ती दिएर आफैँ किरिया बस्नुभएको छ।

 

मानवतालाई नै लज्जित पार्ने यो संवेदनाहीन घटना बर्दिबास नगरपालिका वडा नम्बर १४ को हो। छोरा नभएका एक वृद्धको मृत्युपछि दागबत्ती दिन मृतककी जेठी श्रीमतीतर्फका ज्वाईंले नै पाँच लाख माग गरेका थिए। रकम दिन नसक्दा पहिलो दिन दाहसंस्कारै हुन सकेन। शव दिनभर घरमै रह्यो।

 

लामो समयदेखि पक्षघातले थलिएका ७० वर्षीय फकिरा साह सोनारको साउन २४ गते अपराह्न ४ बजे घरमै मृत्यु भएको थियो। मृतकका दुई श्रीमतीबाट आठ छोरी छन्। जेठी श्रीमती मनतोडियातर्फ पाँच छोरी भए पनि छोराको आसमा फूलोदेवीसँग फकिराको दोस्रो विवाह भएको थियो। कान्छीबाट पनि छोरा भएनन् तीन छोरीमात्र भए। छोरा नभएकै कारण दाहसंस्कारका लागि विवाद सुरु भयो। दागबत्ती पुरुषको हातबाटै दिइनुपर्ने जिरह जातीय सभाले ग(यो। बर्दिबासस्थित सोनार जातिका ‘मान्यजन’ ९जातीय मुखिया० इनरजित साह सोनार हुनुहुन्छ। इनरजित मृतक फकिराकै जेठी श्रीमतीतर्फका साँइली छोरीका श्रीमान् अर्थात् ज्वाईं हुन्। 

 

इनरजितकै नेतृत्वमा बसेको सभाले मृतककी जेठी श्रीमती (मनतोडिया) तर्फकी जेठी छोरीका छोरा अर्थात् मृतकका नाति शम्भुले दागबत्ती दिने र काजकिरिया उसैले गर्ने निधो गर्यो। तर यसका लागि मृतककी कान्छी श्रीमतीले दागबत्तीबापत पाँच लाख रुपियाँ दिनुपर्ने उर्दी जारी भयो। “नदिए दाहसंस्कार पनि हुन नदिने र जातबाट पनि निकाल्ने धम्की दिए,” मृतककी कान्छी श्रीमती फूलोदेवीले रुँदै भन्नुभयो, “मैले त्यत्रो पैसा कहाँबाट ल्याएर दिनु रु तैपनि दुई लाखजति दिन्छु त भनेकी थिएँ। मान्दै मानेनन्।”

 

घटनाको साक्षी बनेका फूलोदेवीका छिमेकी पनि यो कलह देखेर चकित् छन्। छिमेकी सीता नेपाल र गीता श्रेष्ठका अनुसार त्यो रात पैसामा कुरा नमिलेपछि “मलामी पनि जाँदैनौँ, हेरौँ कसरी गर्दा रहेछौ अन्त्येष्टि भनेर ज्वाईंसमेत सबैले छाडेर गए।”

 

“मान्छे मरेकोभन्दा पनि मानवता मरेको देखेर मृतकको घरमा रुवाबासी भयो,” नेपालले भन्नुभयो, “पैसाका लागि मान्छे यतिसम्म तल झर्न सक्छ भनेर सोचेका पनि थिएनौँ।” असहाय मृतक परिवारले शवको अगाडि रुँदै रात काटे। तर भोलिपल्ट पनि इनरजितले पाँच लाख रुपियाँ नदिए दाहसंस्कार हुन नदिने अडान छाडेनन्। पीडित फूलोदेवीका अनुसार त्यसपछि भने १५ वर्षीया छोरी रूपाले हिम्मत गरिन्। गोरखापत्र

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार