• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
रंगमञ्च

जोखना नाटकको 'धनसुवा' को भुमिकामा अभिनय गर्दा डेढ महिना लगातार रोए

आँसु के हो ?
आँसु संवेग हो र मनको भाषा हो। सुखमा दुखमा आँसु कसको नझर्ला। आँसुले कसको साथ छोडेको छ र। आँसु साथी पनि हो।

 

पहिलो पटक आँसु आएको कुनै सम्झना ?
म त्यतिबेला १ क्लासमा पढ्थे सायद। स्कुल जादा एकदिन गाउँकै केटा साथीले मेरो पेन्सिल भाँचिदियो। म त्यो आधा भाँचिएको पेन्सिल बोकेर दाईहरुसंग घर आए। अनि बुवालाई साथीले पेन्सिल भाँचिदियो भनेर भने। बुवाले ठट्टैमा तँ स्कुल पढ्न गएको कि केटासंग जिस्किन गएको  त्यसैसंग पोइला जा भनेर भन्नूभयो । म त्यो साँझ बहुत रोए। पछि बुवा आमाले तलाई ठट्टा गरेको भन्नूभयो। र पनि त्यो कुराले धेरै पछिसम्म पछ्याइरह्यो ।

 

रोइसकेपछि कस्तो महसुस हुन्छ ?
रोइसकेपछि बहुत हलुको महसुस हुन्छ। मानौं हृदयलाई थिचेर बसेको गह्रुङ्गो ढुङ्गा आफै निस्किएर गए जस्तो। पहिले पहिले रुनु भनेको कमजोर हुनु हो जस्तो लाग्थ्यो र सकभर रुनै नपरे हुने भन्ने लाग्थ्यो। अहिले त्यस्तो लाग्दैन रुन्छु रुँदा आफैलाई बलियो पाउँछु । म भित्र भएको बेकार कुराहरुलाई पखाले जस्तो लाग्छ।

 

झरर्र आँसु झर्न सघाउने कुनै विशेष परिवेश वा कारण ?
धेरै छन् त्यस्ता घटना परिवेश। सम्झिदा आँसु झरिहाल्ने । म गायिका बन्छु भनेर काठमाडौ आएको मान्छे घाँटिमा समस्या आएर ६/७ बर्ष रेस्ट गर्नुपर्‍यो । त्यो कुराले अहिले पनि बहुत सताउँछ सम्झियो कि आँसु आउँछ। गायिका बन्छु संगीत पढ्छु भनेर घर छोडेर काठमाडौं आएपछी आमा बुवासंग घर जादा मात्र भेट हुन्थ्यो र कुरा गर्न पाउँथे। कहिले एक बर्ष कहिले छ महिनामा घर जान पाउँथे तेतिन्जेल कुराकानी हुँदैन थियो । मलाई यहि कुराले रुवाउथ्यो र अझै पनि रुवाउँछ ।


सबैभन्दा धेरै रोएको कुनै घटना वा समय ?
मण्डला नाटकघरमा जोखना नाटकको 'धनसुवा' को भुमिकामा अभिनय गर्दा झण्डै डेढ महिना हरेक दिन लगातार रोए । मैले गरेको पात्रको जीवन बाच्दाखेरी मलाई त्यो पात्रबाट बाहिर निस्कन पनि झन्डै ५/६ महिना नै लाग्यो । त्यो पात्रसंगसँगै हरेक दिन त्यो नाटक हेर्न आउने संयौ मान्छे रुन्थे । त्यो मेरो जीवनको पहिलो अनुभव थियो त्यति लामो समयसम्म हरेक दिन रोएको ।
 
किन आउँछ होला आँसु ?
कसैको बचनले होस या कसैको साथले या कसैको प्रहारले या कसैको मायाले यी यावत कुराहरुले अर्को कसैलाई छोइदियो भने आँसु आउँछ होला। आँसु आउनुमा यिनै कारणहरु हुनसक्छ या यस्तै अरु कुनै कारणले आँसु आउँछ होला ।

 

आँसु आएको बेला, जो सुकैको किन नहोस्, बिसाउने काँध चाहिन्छ भन्छन् । चाहिन्छ ?
आँसु आएको बेला बिसाउने काँध भयो भने कोहि छ भन्ने महसुस गर्छ होला तर बिसाउने काँध नै चाहिन्छ भन्ने छैन। कोहि नहुँदा पनि मज्जाले रुन सकिन्छ। अझ बढी धक फुकाएर पोखिन सक्छ होला ।

 

आँसु र खुसीमा के फरक छ ?
आँसु खुशीमा पनि आउँछ । खुशी हुँदा पनि आउँछ । खुशी बनाउन पनि आउँछ । हरेक पटकको खुशीमा आँसु झर्छ भन्ने चाँही हुँदैन।

 

आँसुको बाँध भत्किएपछि कतिञ्जेल झरिरहन्छ आँसु ?
त्यो  स्वयं ब्यक्ति आफुमा पनि भर पर्छ होला। किनभने जुन प्रहारले जुन चोटले मन टुक्रिन्छ त्यसलाइ समेट्न समय लाग्छ। त्यही टुक्रिएको मन समेट्न हो गाह्रो हुने। कोहि चाडै सम्हालिन सक्छ कोहिलाई अलिक समय लाग्नसक्छ। जति समय आफुलाई सम्हाल्न लाग्छ त्यतिन्जेल आँसु झरिरहन्छ होला ।

 

मायाप्रेमका प्रसङ्गमा कतिपटक आँसु आयो ?
माया प्रेमको सम्बन्ध फरक फरक ब्यक्ति अनुसार हुनसक्छ। सबैसंगको सम्बन्ध उस्तै सुमधुर रहन्छ भन्ने हुन्न। कति सम्बन्धले बिझाउछ पनि। यहि सम्बन्धमा यहि प्रसङ्गमा कतिपटक आँसु झरे त्यस्को कुनै लेखाजोखा नै छैन र राख्नु पनि हुन्न ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार