• शनिबार ३-९-२०८१/Saturday 06-22-2024
रंगमञ्च

'रंगमञ्चले जीवन चलेको छ'

पशुपती राई,रंगकर्मी

रंगमञ्चको सुरुवात
म रंगमञ्चमा २०६१ साल देखि प्रवेश गरेकी हुँ । त्यसभन्दा अघि धरानमा हुँदा मैले रंगमञ्चमा केही कामहरु गरेकी थिए । रंगमञ्चमा पुर्ण रुपले लागको आज १४ वर्ष जति भयो । 
 

रंगमञ्चको अनुभव 
रंगमञ्चमा प्रवेश गर्दा गाह्रो हो तर यसलाई बुझदै जाँदा सजिलो हुन्छ । मलाई सुरुवाती दिनमा रंगमञ्च प्रवेश गर्दा केही गाह्रो भएको थियो तर बिस्तारै बिस्तारै यसलाई बुझ्दै गए र यसमा रमाउन थाले । अहिले पनि कामको हिसाबले रंगमञ्चमा चुनौती नै छ । काम भनेको काम हुन्छ चाहे त्यो अहिलेको होस् या पहिलाको । अहिले रंगमञ्च अलि व्यवस्थीत भएको छ । आर्थिक हिसाबले थोरै भए पनि माथी उठे्को छ । रंगमञ्चमा अहिले धेरै परिवर्तनहरु भएका छन् । 

 

रंगमञ्चमा प्रवेश
म धरानको स्कुलमा हुने कार्यक्रमहरुमा डान्स गर्थे । त्यहाँ एउटा पुरानो संस्था अनाम नाट्य जमात,  थियो जहाँ म एकजना कर्ण सुनावर भन्ने दाईको माध्यमबाट आवद्ध हुन पुगे । अनाममा संगीत, नाट्य र अन्य कुराहरु पनि हुन्थे । त्यहाँ म डान्सको विभागमा छिरेकी थिए । त्यहाँका दाईहरु नाटकमा एकदमै चर्चित हुनुहुन्थ्यो, पुर्वमा सबैले चिन्ने । दाईहरुले नै मलाई सडक नाटक र अन्य त्यहाँ आयोजना हुने कार्यक्रमहरुमा लिएर जान थाल्नुभयो । त्यहि क्रममा उहाँहरुसँग काम गर्दा गर्दै मेरो रंगमञ्चको यात्रा सुरु भयो ।    
 

 

पहिलो नाटक 
मैले अभिनय गरेको पहिलो नाटक ‘अघोशित’ हो जुन मैले स्टेजमा पहिलोपटक अभिनय गरेकी थिए । त्यो नाटक मैले अनाम नाट्य जमातमा गरेको नाटक थियो । त्यसमा मेरो सानो भूमिका भएपनि त्यसबाट नै मलाई सबैले चिन्न थाले । मैले मौरीको भुमिका गरेकी थिए । यसरी नै दुईवर्ष मैले त्यहि काम गरे । यता काठमाडौंमा पनि गुरुकुल स्थापना हुँदैथियो । गुरुकुलले पनि दोस्रो व्याचका बिद्यार्थीहरु कुरिरहेका रहेछ । गुरुकुलबाट यसपटक उपत्यका बाहिरबाट पनि बिद्यार्थी लिने बिचार गरेको भनेर अनाममा खबर आयो । त्यहि क्रममा अनामबाट मलाई गुरुकुलमा पठाउने निर्णय गरियो । त्यसले म भित्र खुशीको बिजारोपण भयो । गुरुकुलमा म नृत्य सिक्न पुगेकी थिए तर त्यहाँबाट मैले नृत्य भन्दा नाटकको बारेमा बुझ्ने अवसर पाए ।   

 

पहिले र अहिलेको नाटक
नाटक बिगतको तुलनामा फरक ढंगबाट अघी बढ्दै छ । मैले नाटक सुरु गर्दा ‘नाटक पनि सिक्ने, पढ्ने विषय हो र ?’ भन्ने पनि लाग्थ्यो । त्यतिबेला हामीहरुले नाटक पढ्दा हामी प्रति मान्छेहरुको हेर्ने दृष्टिकोण फरक थियो । मान्छेहरुले हामीलाई काम के गर्नुहुन्छ भनेर सोध्दा हामीले नाटक गर्छौ भन्थ्यौं । तर हामीले भनेको नबुझेर हो या जिस्काउनलाई उहाँहरुले हामीलाई पुन काम के गर्नुहुन्छ भनेर सोध्नु हुन्थ्यो । अहिले मान्छेहरुमा नाटक बारे जान्ने कौतहलता बडेको छ । नाटकको कक्षा भर्ना हुन आउँदा मान्छेहरु सोध्दछन्, के हुन्छ कति महिनाको कोर्ष हुन्छ । अहिले रंगमञ्च राम्रो छ । रंगमञ्चमा दर्शकहरु छरिएका छन् । यसमा कमाइ हुन थालेको छ ।  यो हामी रंगकर्मीहरुको लागी राम्रो पक्ष हो । रंगमञ्चमा भएका नाटकहरुलाई अहिले खोजी–खोजी हेरिन्छ । अहिले धेरैले नाटकको भाषा बुझन थालेका छन् ।

 

नाटकबाट आम्दानी 
यसमा धेरै नै त होइन तर म काठमाडौंमा स्थापित भएकी छु । मैले एकदमै धेरै कमाएको छैन र  मोजमस्तीमा हिडेकी पनि छैन । आफुलाई पुगेको छ । म सन्तुष्ट छु । रंगमञ्चमा लागेपछि मैले अरु काम गर्नु परेको छैन । मेरो जीवन चलेको छ ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार