• सोमबार ८-१९-२०७९/Monday 12-05-2022
विचार

मेरा अहिलेका साथीहरू

स्तनधारी धेरै प्राणिहरू समुहमा बस्न रुचाउँछन्। एकान्त प्रिय कोही पनि समागमको बेला र बालख कालमा समुह वा जोडामा वा आमासँग त रहन्छन् नै । अशक्त हुँदा वा बुढ्यौलीमा उही प्रजाती वा समुहको नजिक पर्न खोज्छन्। साथी नहुने मानिस त को होला ? मानिसका हरेक उमेर समुहमा दौँतरी हुन्छन् । सानो छँदा नजिकका होलान् भने उमेर बढदै गएपछि टाढा–टाढाका र नाता नपर्ने बढी होलान् । महा–विद्यालय तिर अध्ययन गरेको भए त विषय सम्बन्धित साथी पनि थपिए होलान् । सामाजिक राजनीतिक क्षेत्र तिर पनि चाख भएको भए ती क्षेत्रका त्यतीखेर एकै ओछ्यान र एकै थालका सहभागी पनि थपिए होलान्। कतै कर्मचारी भई काम गरेको भए त्यस फाँटका पनि शुक्रवार-शनिबारको रमाइलोमा साथ नछोडने थुप्रै भए होलान् ।

 

पठनपाठनको क्रममा कति चेलाचेली आफ्ना अनुयायी र ‘सर का सर वा म्याडम का म्याडम’ भनी झुत्ती खेलेर पछिलाग्ने साथै गुरु पूर्णिमामा मात्र होइन अरु बेला पनि कोसेलीपात सहित शुभकामना रुपी चाकरी कति वर्षिय होलान् ? साँच्ची ती सबै साथीहरूमा यतिखेर को कता होलान् ? के तपाईँलाई वर्षमा एकपटक मात्र पनि सम्झन्छन रु अथवा सम्झने कुनै सङ्केतसम्म पनि थाहा पाउनुभएको छ ? तपाईँको परिवार पनि होला अथवा नाता-कुटुम्ब त पक्कै हुनुपर्छ । पहिला तपाई सक्रिय हुँदा जस्तै तपाईको चाख अनुसारको खानपान र चिजबिज घरमा भित्रिन्छन् कि ? तपाईँको बिचार र ब्यबहारको चर्चा वा खातिरदारी हुन्छ कि अझैं ? तपाईँ घरमा छ वा छैन भनी वास्ता हुन्छ कि हुन्न ? तपाईँका कुरा वा सोचाई नबिराई समयमा नै पूरा हुन्छ कि हुन्न ? तपाईँलाई परिवारको अभिन्न जिम्मेवार र आदरणीय देख्छन कि अझैं  ? कि देख्या नदेखे झैं गरेर तर्किन्छन् ? दिनभरिमा एक पटक पनि तपाईँलाई के कसो छ भनि सोध्दछन कि ? कि केही अति भएर आफनो बिचार भन्न बाध्य हुँदा सुन्छन कि सुन्या नसुने झैं गर्छन् ? कि घटीमा तपाईँका कुरा पुरा नहुदै ‘हुँ वा अँ’ भन्दै बाटो लाग्छन कि बोल्यो कि पोल्यो को स्थिति छ ? तपाईँलाई सञ्चो नहुँदा कतिजनाले सोधपुछ गरे वा बिरामी पर्दा कतिजना वरपर आए ? कतिजना घर बाहिरकाले मर्दापर्दा केही सहयोग पुर्‍याउन खोजे कि ? यतिखेर तपाईँका ति विभिन्न कालखण्डका अभिन्न भनिएका आफन्त र साथीहरू कत्तिको भेटिन्छन् ? कोही अझैं साथ लाग्न खोज्छन् कि ? म यस्तै चिन्तनमा अल्झिरहेछु । तपाईँ पनि काम कम भए वा अशक्त भए र नित्यकर्म सकेपछि केही त सोच्दै हुनुहोला हैन त, फुर्सदमा हुँदा ?

 

स्थिति
अँ, बिभिन्न सेवामा रहेर सेवानिबृत्त भएपछि सक्षम हुँदा त योग्यता अनुसार काम गर्दा समय गएको पत्तै हुँदैन । बाहिर जाने काम नभए घरमा कत्ति कत्ति । हिजोसम्म परिबारका अरु सदस्यले गर्ने कामनै सघाईदिँदा नि धेरै काम हुन्छ र समय काटन पनि सजिलो हुन्छ । सकेसम्म कम बोल्ने र लुरुलुरु काममा लागि रहने । जाने र मनलागे भान्छाकै काम सघाउँदा पनि घरका अरुलाई धेरै हलुँगो हुन्छ । हुनत, तपाईँको काम कत्तिको मन पराउलान भन्ने चाहिँ आआफ्ना स्थान अनुसार हुन्छ है । तर सारिरीक दुर्बलता र बुढ्यौलीले गाँज्दा भने व्यक्तिका चलखेल सिमित हन्छन् र अलि पराधिन हुँदोरहेछ । त्यस्तो अवस्थामा मनमा लागेका जस्तो कुरा भएपनि, जसरी भनेपनि चुपचाप सुन्ने र मुख फर्काएर चित्त नदुखाउने साथी हुँदामात्र आफु अशक्त भई सिमित स्थानमा रैथाने भईदिँदा मज्जा लाग्दो रहेछ । आफु शारिरिक रुपले अशक्त वा बुढ्यौली लागेर थन्किएपछि आफ्नो  कुरा सुनिदिने, झर्को नमान्ने, सके सञ्चो बिसञ्चो सोध्ने, मद्त गर्ने, नसके मौनरही दुःख प्रकट गर्ने पो साँच्चो साथी हुँदारहेछन् । अझ जानेका राम्रा, घतलाग्दा र फाईदा पुग्ने कुरा एक–अर्कामा साटफेर गर्ने पाए त झन समय काटन सजिलो हुँदोरहेछ । घुस्घुसे, कञ्चुस, स्वार्थी, रिसाहा र ठग त बेकामे हुँदारहेछन् यस्तो अवस्थामा । परिवार र नाता कुटुम्बमा पहिलेको जस्तै भनेको मान्ने र ईच्छागरेको बेला खानपिन र तातोचिसोको ख्याल गरेपो मसक्क केहीगर्ने  अझै आँट आउँथ्यो होला । आफ्नो  काम आफै गर्ननसक्ने भएपछि अझ धेरै सन्तोषी बन्नु चाहीँ आफनै हितमा हुन्छ, आग्रहकारी बन्नु दुखःको बाटो बनिँदो रहेछ । दिन काटे रात कसरी काट्नु, रात काटे दिन कसरी काट्नु भन्नेपर्‍या अवस्थामा, कोही नकोही वा केही साथी चाहिँदो रहेछ, नत्र त बिलौना कस्ले सुन्ने र मन कसरी बुझाउने रु साथीहरूसँग म चैँ रमाईरहेको छु। वास्तवमा रमाउने भनेकै साथीहरूसँग रहेछ । 

 

हिजो मेरा काम र ध्यान अन्यत्र छिरोलिएका थिए । जेजस्तो काम गरियो त्यस्तै साथीहरू बनेका थिए । पढुन्जेल सहपाठीहरू साथी भए, कोही त सँगै खाने सुत्ने समेत । म नगए पढन नै नजाने, मैले नखाए नखाने, अझ एउटै थालमा जुठो पनि खाने । घरमा दिइएको खर्च समेत मेरालागि खर्चगर्ने। कति धेरै मायागर्ने, कत्ति छुट्टिन नखोज्ने । घरघरमा मनाईने चाडबाडमा समेत सँगै बस्न खोज्ने । साथी त छाँया जस्तो, हलगोरु जस्तो सँगसँगै । बिद्यालयको पढाई सकेर महाविद्यालय प्रवेष गर्दा त पास हुने मात्र भेटघाट हुनथाल्यो, कत्ति साथ छुट्ट्यो गनि साध्यै भएन । एक दुई पुराना अरु सबै नयाँ साथी पो थपिए । अझ विषय मिल्ने पो थप साथी हुन पुगे । उमेर बढदै थियो, धेरै कुरा परिबर्तन सँगै चाहाना, ईच्छा र आकर्षण पनि थपिने घटने हुँदै थियो । हिजो सर्वश्व लाग्ने बिस्तारै टाढा हुँदै थिए ।

 

मैले आफु गतिविधि कमगर्ने र धेरै गर्न नसक्ता मेरा साथदिने को होलान भनी हेक्का नै राखेको थिईन। अब साथीहरू छैनन् वा कम भए भनेर, जहान वा नाताकुटुम्बले पत्याएनन् भनेर निराशहुने होइन। बरु आफनो अनुकुलका जोड्न पो थाल्नु पर्छ । नयाँनयाँ साथी आफुलाई सघाउने वा मनपर्ने स्वभावका जोड्नु पर्छ किनकी तिनिहरूमात्र तपाईँको धनसम्पति वा जायजेथाको आकाँक्षी हुँदैनन् । उनीहरु त भेटे पिच्छे ‘कस्तो छ ? कत्तिको रुच्छ ? औषधिले फाईदा पुगेको त छ रुअब कहिले जचाउन जाने, म पनि आउँ ? अस्ति जचाउँदा के भने डाक्टरले ? अलि सञ्चो होला भन्यो ?’ भनेर सोधछन् अथवा आफना गतिविधि सुनाएपनि सुनिरहन्छन झर्को नमानी र जसो गरेपनि यसबेलामा त्यसै हो भनि सान्त्वना दिईरहन्छन्। अब हेर्नोस्न, म बाहिर जाईआई गरिरहन सक्दिन, प्रायःअहिले मेरा अभिन्न साथीहरू पहिला कहिल्यै ध्यान नदिईएका तिन थरीका सन्निकटहरू भएका छन्। समयक्रमले विभिन्न लालसामा नजिक परेका पुराना हराए, यतिखेरका मेरा साथीहरू चैँ मैले आफैं रोजेको हो । ती मलाई मन पर्छन्, म प्रति सहिष्णु छन् र साथ नछोड्ने हुँदा मलाई मन परेका छन्। उनीहरू जस्तोसुकै अवस्थामा मौनभई मेरा कुरा सुनिरहेझै  तथा म जसरी सोचिरहेको हुन्छु, सहमति जनाएको जस्तो लाग्छन्, केही प्रतिबाद वा घोचपेच गर्दैनन्। आफुलाई क्या सन्तोष लाग्छ ! ती मेरा वरपर रहन्छन् र मौन सामिप्यता स्वरुप टुलुटुलु हेरेर मलाई समर्थन गरिरहन्छन्, जसो गरे पनि केही भन्दैनन् । तिनको यसो चर्चा गरौँ है त !

 

भित्ता
म अचेल करिब घटीमा सोह्र घण्टा देखि बाईस घण्टासम्म यी मित्रहरूसँग नै हुन्छु । मेरा कोठाका चार दिशाका चार भित्ता र छत समेत पाँच भाई प्रेम पूर्वक मलाई नियाली रहन्छन्। मैले बसेर वा पल्टेर जसो गरेपनि केही भन्दैनन्। कोठामा बसुन्जेल हेरिरहन्छन्, दिक्क हुँदा निन्याउरो देखिन्छन्, अँध्यारो भएझैँ गर्छन्, खुसी हुँदा मसक्क मस्किएझैँ लाग्छन्, उज्याला देखिन्छन् । मेरो मनोबिज्ञानसँग निकै तादात्म्यता राख्छन् । यीनिहरूले मलाई हुरी बतास, झरीमा जोगाएका छन् र तातो चिसो बाहिरको वातावरणबाट पनि सुरक्षित राखेका छन् । अहिलेसम्म आफनो स्वभावमा स्थिर छन्, समाजको मानविय मौसमी रङ अनुसार रङ फेरेका पनि छैनन् । कहिलेकाहीँ बाहिर जाँदा ‘बसिराख्नु, मेरा किताब, औषधि, ओछ्यान तथा लुगाहरू जहाँको त्यहीँ सुरक्षित राख्नु र यताउति नपार्नु नि’ भनेर हिँडछु, मौन स्विकृती दिन्छन् र फर्केपछि यसो नियाल्छु तलमाथि गरिदिएका हुँदैनन्, अनि धन्यबाद भन्छु, खुसिले उज्याला हुन्छन्। कहिलेकहीँ कोही मनुवा पसेर तलमाथि गरेका दिन, भित्र पस्दा बिचराहरू अशक्तताको घोसे मुण्टो लगाएर याचिका गरिरहेझै, सजल नेत्र बिस्फारीत गरिरहेझै लाग्छ। के गर्नु, रैथाने मित्रहरू एकछिन ठुस्सिए पछि आफनो पनि मनले मान्दैन अनि ‘भैगो एकपल्टलाई, अबदेखि रोक्नु है’ भन्छु, खुसिले पुलकित हुन्छन् र उज्याला देखिन्छन्, फेरी कुनैदिन बिगारी दिनेलाई केही भनेर बर्बराउँदा उनीहरू मेरो कुरा सुनेर कोही आएर मलाई नै झम्टे के गर्नु भनि सोचमग्न अथवा बिलखबन्दमा परे झै गर्छन् । यस काममा बिजुलीको प्वाल टालेको पातोमा रहेका काला किलाको देखिने टाउकोले चक्षु अभिव्यक्तिको राम्रो भूमिका खेल्दछ, ति काला नानी कति खप्पिस भित्री कुरा भन्न ? अस्तिन त्यसो हुँदा मैले बिर्सेर बर्बराउँदा ‘प्रवेशी’ ले थाहापाई आएर मलाई थुर्नुथुर्दा बिचराहरू कम्ता शोकमा परेर । धेरैबेर उदास र निलोकालो अनुहार लगाएर रहे । थुराई खाँदा बोल्ने आँट नभएकाले प्रवेशीको अगाडी त बोल्न सक्तिन, उ गएपछि मैले नै ‘यस्तै हो, मेरो पुरानो अहम बिनासित्ती जागेर आफैंले गल्ती गरेँ, चुप लाग्छु भन्छु, अति भएपछि फुत्किन्छ, तर बेला त चुपलाग्ने हो नि, मेरै गल्ती भयो । भैगो, अबदेखि गल्ति दोहोर्‍याउन्न’ भन्छु, साथीले अब भनाई खानु नपर्ला भनेर उनीहरु खुशी हुन्छन्। त्यसपछि हेर्छु, बिजुलीको प्वाल खुसीले रातो हुन्छ अनि काला किला टाउके आँखा चम्किला देखिन्छन् । मेरो बिचारमा पक्कै मेरो आत्मआलोचना र स्विकारोक्तिमा मस्केर खुसिका आँसु झारिरहेका छन् । मेरा पाँच भाई यी साथीहरू अटल, मौन सम्मती गर्ने, बिना प्रतिबाद मेरा कुरा सुन्ने सच्चा स्रोता र सँधै मेरै वरपर साथदिने अन्यन्न मित्रमा दरेको छु ।

 

झ्याल र ढोका
गर्मी र जाडोमा मौशम अनुसार खोल्दा र लाउँदा मैले छोईदिएको मख्ख पर्छन् मेरा कोठाका झ्याल र ढोका । नचाहिने बेला खुल्ने र लाग्ने नगर्नु भनि सम्झाउन जोर्तीमा साना ग्वाँख राख्दिन्छु, अनि त मरे हल्लँदैनन्। बरु बेलाबेला मेरो मित्रताको सदभाव ठानेर त्यही ग्वाँखमा आड लागिरहन्छन् । यसो बाहिर बतास चले चेपबाट हावा छिरेको जानकारी दिन सिट्ठी बजाएजसरी सुईँईँ गरिदिन्छन्, म ठिक बेठिक छुट्ट्याएर पर्दा लगाई दिउँ कि झ्यालढोका नै खोलुँ केहि भन्दैनन् । अँ, पर्दा लगाए अलि उत्सुक हुन्छन् र चियाएर म के गर्दै छ भनि हेर्छन । आफु मनखुसी लाग्ने बन्दहुने गर्दैनन्, मेरो अर्‍होट मान्छन् । दिउँसोको हावा, घाम र उज्यालो मनग्य कोठाभित्र छिर्न दिन्छन् र राती बत्ति निभाएर सुत्दा सडकको उज्यालो अलिकति छिराएर शौँचालय जान सजिलो पार्छन् । चिसो हुँदा लगाएपनि प्राणबायु चाहिन्छ भनि चेपबाट बिस्तारै छिराउँछन् । मेरो धेरै कुरा ख्यालगर्ने ति मेरा असल शुभचिन्तक मित्रहरू कहिल्यै साथ छोड्दैनन् । यीनिहरू मेरा दोस्रो तहका अन्यन्य मित्र भनि यीनैसँग रमाईरहेछु ।

 

ओछ्यान
मेरो ओछ्यानमा केहि सहभागी छन्, टाउको तिर दुईटा तकिया– एउटा टाउको राख्न अर्को एउटा हात राख्न, गोडातिर दुईटा तकिया– एउटा पाईताला अड्याउन अर्को घुँडाराख्न, सिरक र तन्ना सहितको डसना आ–आफनो ठाउँमा । राती खुट्टा करकर खान लाग्दा तलका दुई तकिया आफना ढाडमा खुट्टा राखिदिन अनुनय गर्छन, कुम दुख्नखोज्दा माथितिरको एउटा तकिया यता ल्याउने कि भनी विनय गर्छ, मित्रहरूले भनेको मान्नै पर्‍यो, बिचराहरू मेरा जर्खरिएका गोडा आफनै थाप्लामा राख्न पनि दिन्छन्, कति मायालु छन् । ओल्टन पल्टन ज्यान लाटो र गर्‍हुङ्गो भएर गाहारो हुन्छ, बिचरा खाट चुइँक्क चुइँक्क गरी मसँग दुःख व्यक्त गरेको लोली मिलाउँछ । डसना मलाई सजिलो पार्न चारहातको भए पनि गाहारो होला एकै ठाउँ सुत्नोस भन्छ र सुत्छु, उसैको त्यो भाग दबेर खाल्डो परिसक्यो त्यैपनि अईया भन्दैन, सहिरहन्छ । खाटसँगैको सानो टेबलमा लहरै औषधि छन्, कुनपछि कुन खाने पँक्तिबध्द बसाएको छु, आफनो ठाउँमा नै बस्छन्, मिसिएर मलाई अल्मल्याँदैनन्, त्यसैले राती बत्ति नबाल्दा पनि छामेरै थाहा पाउँछु र सेवन गर्छु । दिउँसो प्रायः आफनै ठाउँमा पट्टिएर सिरक बस्छ भने सबै सिरानी मेरा ढाड पछाडी आडा दिन जुर्मुराउँदै बिहानै आउँछन् भने सिरक प्रातः नित्यकर्म गर्न म नउठेसम्म मलाई न्यानोगर्न मैमाथि सुकोमल तरिकाले पसारीरहन्छ । म उठेपछि आङतान्दै सिरक आफनो ठाउँमा गुडुँल्कीन्छ, तन्ना एकफेर तङ्ग्रीन तन्कन्छ । धेरैजसो बिहान ८ः३० सम्ममा यी मित्र यथास्थानमा आसन जमाईसक्छन् । 

 

कौशी
अरुलाई बाधा पर्दैन र छ भने मजस्तालाई कौशी र आँगन तिर हल्लनु रमाईलो हुँदोरहेछ । यसो कौशीतीर उक्ल्यो चारैतिर हे¥यो, रङ्गी बिरङ्गी कति घर बनिसके रु कति घरमा तला थपियो ? अनि कुन घरले कति तला किन थप्यो होला ? एकछिन चिन्तन गर्‍यो, यसो गर्‍या भए हुने, उसो गर्‍या भए हुने, किन नगरेको होला भन्नेमा मनोगत छलफल गर्‍यो, कति समय जान्छ पत्तै हुँदैन । अनि भेट भएका साथीलाई सुनायो । एक भेट त त्यसैमा बित्छ । अँ, कौशी अलि अग्लो ठाउँमा भए थप मज्जा, टाढा सम्म देखिन्छ, सूर्य र चन्द्रमा उदाउँदो अस्ताउँदो हेर्न सकिन्छ भने जाडोमा ढाड सेकाउन पनि पाईयो । अझ उपत्यकामा भए वरपरका डाँडा र तिनका विभिन्न तहमा बनेका पैसा र घमण्डका खात अर्थात मठ, मन्दीर, गुम्बा, रिसोर्ट आदी। अथवा बेचेर नसकेको भए बोट बिरुवा र जङ्गलका आकार प्रकार तथा उज्यालो पर्दा तिनमा देखिने कान्ती । अहा, कति मनमोहक हुन्छ ती सब । मध्यप हाडमा तपाईँ बस्दै गरेको भए त हिमालय पनि देखिन्छ कि ? देखिए त कुन चुचुरा देखियो कुन बादलले छोप्यो र कुन समय प्रष्ट देखिन्छ ? कुन चुचुरा वा श्रृङ्खलामा हिँउ कम छ कुनमा ढाकिएको छ भनी गहन चिन्तन मनन गर्न पाइयो र थाहापाएर हौसिन पाइयो । नदेखिएको हेर्न फेरी जान समय सोच्यो अनि मनोविनोद गर्न पाइयो । त्यतीमात्र कहाँ हो र र ? त्यो ठाउँ भएर कति, कति बगाल, कुन प्रजातिका चरा कता जान्छन ? किन जान्छन् होला ? कताबाट आउँछन होला ? चारो कता टिप्छन् होला अनि बास कहाँ बस्छन होला ? आदि जैविक तथा वातावरणीय विषयमा पनि बडो बिषद गम्भीर चिन्तन गर्न सकिन्छ, त्यसमा अल्झँदा त समय त कति सकिन्छ कति ? समय बिताउन कति सजिलो ? त्यसपछि भेटमा साथीभाईसँग नयाँ विषयमा गफगर्दा, त्यहाँ पनि समय कट्छ मज्जाले, आ-आफनो तर्क राख्न सक्छन्, जानेको अनुभव भन्न सक्छन् र सम्भावना भन्न सक्छन् । कोरोना महामारी पछि कौशी बनैँचाको हल्लाले सहरीयालाई च्यापेको छ । सोखका लागि पनि गमलामा फुल तथा कलमी बिरुवा लाउने र सामाजिक सञ्जालमा ईख्याउने बेग्रील्ती छन् । तपाईँ पनि त्यस्तै घरमा बस्नुहुन्छ भने अनुमति लिएर यसो गोडमेल तथा सिँचाईमा सहभागी हुन सक्नुहुन्छ । हेर्नुहोस्, त्यतिमाथि पूतली र माहुरीहरू आईपुग्छन् कि ? कुनै प्रजातिका कीरा देखा पर्छन् कि ? चिप्लेकीरा, गँड्यौला, खुम्रे र लाहिकीराहरू लाग्या छ कि ? कसरी त्यहाँ, त्यति माथि पुगे होलान ? बडो गहन अनुसन्धान गर्नुपर्ने हुन्छ थाहा पाउँन ।अनुमति प्राप्त छ भने कौशीमा रहेका बिस्कुन र सुकाएका लुगाहरू तयारी भएकाछन् भने उठाईदिन सक्नुहुन्छ । तर अनुमति नभए त्यस्तो आँट नगर्नोस् नि, फेरी अर्को झँटाई भेट्न बेर लाग्दैन । त्यसरी तपाईँको समय पनि अघि बढछ अनि काम पनि हुन्छ, नतिजा थाह भए, सरोकारवालाले करबल कृतज्ञता जाहेर गरे तपाईँ कति मख्ख, होइन त ? यही कुरा भेटिने साथिसँग नयाँ विषयमा गफिँदा कम्ता मज्जा आउला ? ज्यान पनि कसरत हुने मज्जा पनि आउने, फाइदै फाइदा ।

 

आँगन
कौशीमा उक्लन गाह्रो भए आँगनतिर ओर्लेर हल्लिनु मजै हुन्छ। आँगन वरपर त्यता गमला छन् वा करेसाबारी यसो बिचार्नोस् त। गमलामा त कौशीकै प्रक्रिया भईहाल्यो, करेसाबारीमा अझैं कसरत गर्ने ठाउँ हुन्छ है। तुलनात्मक हिसाबले कौशी भन्दा बढि झारपात जमिन र नजिक ठाउँमा उम्रन्छन् । झारपात केलाउन नै धेरै समय लाग्छ, गन्धे, कुरो, कालीमुन्टे, सिरु, थाकल आदि उम्रने प्रसस्त सँभावना हुन्छ, तिनको गोडमेल बहुत आवश्यक हुन्छ । त्यस्तै, मौशमी तरकारी, सागपात, अल्पकालिन बोटबिरुवाहरू तथा दिर्घकालिन फलफुल र सदाबहार बोटबिरुवा कता रोप्दा र सार्दा राम्रो त्यो गर्न सक्नुहुन्छ । अनुभविले मात्र सबै काम नलाग्ने झार चिन्छन् र बोटबिरुवाको सप्लाउने तरिका थाहा पाउँछन्, तपाईँको अनुभव गज्जब काम लाग्छ, त्यसबाट तपाईँको समय काटिने र श्रम गरेर सन्तोष प्राप्त गर्न सक्नुहुन्छ । त्यस्तै, घरकाले पालेका कुकुर, चराचुरुङ्गी छन् भन्ने तिनको पानी र खानाको अवस्था अनि सफाईमा ध्यानदिएर अनुकुल बनाईदिन सक्नुहुन्छ। धारो,इनार र पानीको स्थितिको आंकलन नगरी पानीको जगेर्ना गर्न सक्नुहुन्छ। बरु अनुमति लिन चैँ नबिर्सनोस्, नत्र आफु ताक्छु मुढो, बन्चरो ताक्छ घुँडो होला १ मलाई कहिलेकाहीँ बिबल्याँटो परेकाले सम्झाई हाल्या !


अन्त्यमा
बाहिर फेर गएर काम गर्न सक्ने सारिरीक अवस्था छ भने सकेसम्म बढि समय काममा लाग्न कोशिस गर्नुहोस् । काम नै नभएपनि दिनमा एकपटक सकेको र इच्छा लागेको ठाउँतिर घुमफिर गर्नुहोस् । बाटोघाटोमा आएका परिबर्तनबारे आनन्द मानी बिश्लेषण गर्नुहोस्। सकेसम्म हरियोपरियो बोटबिरुवा भएतिर आफ्नो भ्रमण क्षेत्र बनाउनुहोस् । आफ्ना उमेर समुह र बिचार समुहका महिला पुरुषहरूसँगको भेटघाट बढाउनुहोस् । यदि सारिरीक अवस्था धेरै चलखेल गर्न नसक्ने छ र पढनलेख्न मन लाग्छ भने मनपर्ने राम्रा पुस्तकहरू जम्मा गरेर पालैपालो पढन प्रयाश गर्नुहोस् । यो बानित् घुमफिर गर्नसक्ता पनि गरे हुन्छ । पढने एकाग्रताले परिवारसँग अनावश्यक बादबिबादबाट पनि बचिन्छ । पढिसके पछि ससानो टिप्पणी लेख्नेगरे झन राम्रो, चाहिएको बेला उल्लेखगर्न सजिलो हुन्छ। शरिरको अवस्थाले साथ नदिएर तथा बुढ्यौली लागेर घरपरिवार वरपर नै तपाईँ सिमित हुनुहुन्छ भने केहि कुरा पहिला गर्ने भएपनि अब सुधार गर्नोस्। हैकम, आदेश, ठूलो स्वर, हकारपकार, गाली, रिस, सल्लाह, जस्ता शासकीय गुण छोड्नोस् । कम बोल्न थाल्नोस्, कसैले केही भने पनि कडा प्रतिक्रीया नदिनोस्, सुनिरहनोस्, थोरै कुरा भन्नोस् । अरुलाई मनपर्ने काम मनलागे गर्नोस् नलागे केहि नभन्नोस्, सहनशिल हुनुहोस् । आफुलाई चाहिने र आवस्यक कुरा समयमा नपाए पनि केही नभन्नोस्, दिने सरोकारवालाले भ्याएनन होला भनि चित्त बुझाउनोस् । खाना पनि जे पाईन्छ बुध्दले जस्तै ज्यानराख्न हो भनि निःसंकोच मिठो मानेर खानुहोस्, मिठो लाग्ने र ईच्छा लागेको खानेकुरा नभएपनि निर्धक्कसँग बाँचिन्छ भनि सन्तोषी बन्नुहोस् । अति आवस्यक आफ्ना कुरा आफैले पुग्ने ठाउँमै राख्नोस्, कसैलाई सोध्ने वा माग्ने नगर्नोस् । आफुले गरेका असल र सार्बजनिक काम सम्झेर मख्ख पर्नुहोस्, सुन्न ईच्छा गर्ने साथी-भाईलाई भने पनि परिवारमा नभन्नु होस्, उनीहरूलाई सँधै सुन्दा झर्को लाग्छ । परिवारकाले जे गरे पनि अहा कति राम्रो भन्ने आँट गर्नुहोस् । भविष्य अब के हुन्छर भनि चिन्ता नगर्नोस् बरु जति बाँचिन्छ आनन्दलाग्ने कुरा सोचिन्छ र बाँचिन्छ भनि प्रफुल्ल रहनुहोस् । अब गर्न सक्ने यति नै हो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार