• बिहीबार ८-२३-२०७८/Thursday 12-09-2021
विचार

न्यायमूर्तिहरूको जुधाई चाउरेको मिचाई

जाडो यामको तातो घाम ताप्दै हालसालै मात्र अवकाश पाएका ज्ञानमणि जैसी दैनिक छापा पल्टाउँदै बसिरहेका थिए। उनको आँखा न्यायालयमा भइरहेको हडताल र बन्दाबन्दी बारेको खवर माथि पर्न गयो । उनी अझै पनि आफ्नो पुर्खौली घर–जग्गा अरूले हडपेकोले वर्षौँसम्म मुद्दा खेपिरहेको मान्छे। तर आफ्ना बाउबाजेको पालादेखि त्यतिका वर्ष भोगचलन गर्दै आएको घरजग्गा कुनै परचक्रीले आएर हडपेपछि मुद्दा नजितुञ्जेलसम्म अर्काकै रहिरहने र पैसाको खोलो बगाउन नसकेकोले मुद्दासमेत कमजोर हुँदै गएर ज्यादै निराश र आजित भएर थाकिसकेका । उनको लागि न त त्यो प्रधान न्यायमूर्ति ठीक न नै अन्य न्यायमूर्ति र वकिलहरू । यिनीहरूको झगडाले गर्दा बरू उनको मुद्दाको पेसी पो सरेको सर्‍यै। हिजो उनि सर्वोच्च न्यायालयमा आफ्नो मुद्दाबारे बुझ्न जाँदा त्यहाँ भिडमा भएका सबैजना उनको मुद्दा सम्बन्धि प्रश्न सुनेर निकै हाँसेछन् । हृष्टपुष्ट र रगतै झर्ला जस्ता राता गाला भएका आन्दोलित वकिल र न्यायधिशहरू उनको कुरा सुनेर पेट मिची मिची हाँसेछन् । उनी जस्तै त्यहाँ कैयन् सिधासाधा व्यक्तिहरू कोही अनाहक प्रहरी हिरासतमा रहेका आफन्तको रिहाइको निम्ति आएका रहेछन् त कोही पारपाचुके पश्चात पनि पाउनु पर्ने सम्पत्ति र आफुले जन्माएको सन्तान आफुसँग राख्न नपाएर आएका रहेछन् । यस्तै अनेक मुद्दा–मामिलाका कारण मुलुकका विभिन्न ठाउँहरूबाट आएका व्यक्तिहरू त्यहाँ अलपत्रमा परिरहेका रहेछन् । सुरक्षाकर्मीहरू भने हडताल गर्नेको सामुन्ने मुकदर्शक मात्र भएर बस्ने र कामैले त्यहाँ पुगेकाहरूलाई घचेटेर लाठो बर्साउँदै तितर वितर पार्दै रहेछन् ।

 

हप्तौँ बित्दा पनि ती चाम्रा प्रधान न्यायमूर्ति त गल्दै नगल्ने खालका रहेछन् । त्यहीँ उपस्थित एकजना पिडितले सुनाए अनुसार आन्दोलन खेप्ने र गर्ने अधिकांश मूर्तिहरूको विगतनै ज्यादै रोमाञ्चकारी थियो रे । कुनै सिनेमाको हिरो वा भिलेनले गरेका कुनै पनि मोज–मस्ती उनीहरूले गर्न पाएका छैनन् रे । उनीहरूको दिमाग पनि यति छिटो चल्छ रे की जस्तै खुराफातीले बनाएको योजनाको पनि जवाफ उनिहरूसँग हुन्छ रे । एकचोटी त एकजना मूर्तिको निकै जिग्री साथि जुवाको खालबाट पक्राउमा परेछ । अब के गर्ने, जसरी भएपनि छुटाउनु नै प¥यो । उनको पालो तासका खेलाहरूमा पनि पप्लु र म्यारेज त निकै दिमाग लगाएर खेल्नु पर्ने खेला भएकोले यसलाई जुवामा गन्न नहुने तर्क गरेछन् । उनको भनाई अनुसार तासका यी खेला जुवा हुन् भने चेस र बाघचाल पनि जुवा नै हुन् र तत्काल घर घरबाट चेसका वोर्डहरू वरामद गर्नुपर्ने र खेल्नेलाई सख्त कारवाही गर्नुपर्ने राय दिएछन् । यसरी उनका परम मित्र बाइज्जत रिहा भएछन् र त्यो रात ठूलै भतेर पनि लागेछ । 

 

त्यहीँ उभिइरहेका अर्का व्यक्तिको घरसँगै एकजना ठुलै मूुर्ति बस्दा रहेछन् । उनका अनुसार ती पहिले ज्यादै ख्याउटे थिए रे । साधारण अधिवक्ताबाट काम सिकेका उनले सर्वसाधारणको मुद्दा हेर्दा वादी र प्रतिवादी दुवैसँग गोप्य भेट गरेर जोबाट धेरै नगद झार्न सक्यो त्यसलाई जिताइ दिन ठुलाको घर घर धाउने गरेका रहेछन् । यसरी कैयन् फटाहाहरूको मुद्दा जिताई दिएर र सोझा व्यक्तिहरूलाई नाङ्गो पारेर धन आर्जन गरेका रहेछन् । भरे त विस्तारै उनको ख्याउटे गाला पुष्ट हुनुका साथै स्याप्प भुँडी पनि हुप्प हुन थालेछन् र घरको ढुकुटी पनि बिस्तारै भरिँदै गएछ । न्यायमूर्तिले नै जायज गरिदिएको तासको खेला यहाँ नेर पनि काम लागेछ । जिल्लाँ बसेर न्याय क्षेत्रमा काम गर्दा विदाका दिनहरूमा सरकारी अड्डाका हाकिमहरू, प्रशासन र सुरक्षाका अधिकारीहरू र ठेकेदारहरूसँग विभिन्न थरीका मासु र सुकुटी तथा सुराका साथ जुवातास खेल्ने र हारजित जे भएपछि खल्ती भरिने वातावरण बनाएर लामो बिदामा घर आएको वखत जग्गाजमिन खरिद गर्ने, दुलहीलाई गहना किनिदिने र घरको तला थप्ने कार्यले निकै तिव्रता पाउँदो रहेछ । कदाचित कसैले यत्रा घर–घडेरी र सम्पत्ति कसरी जोडिए भनेर प्रश्न गरेमा सबैभन्दा सरल जवाफ नै जिल्लाँ बिदाको दिनमा काम हुँदैन, तास खेल्यो, सधैँ जितिन्छ भन्ने हुँदो रहेछ ।

 

ज्ञानमणिकै एकजना पूर्वन्यायमुर्ति साथी सरलप्रसादको जीवनवृत्ति निकै साधारण तवरको रहेछ । उनले बेला बेलामा सोध्ने पनि गरेका रहेछन् सरललाई कि पोष्टाँ हुँदा कुम्लाएको धन केका लागि साँचेर राखेको भनेर । सरलप्रसादका छोराछोरीहरू अन्य मुर्तिहरूका जस्ता विदेशमा अध्ययन गर्न पनि गएका रहेनछन् र रहन सहन पनि साधारण नै रहेछ । ज्ञानमणिको प्रश्नमा एकचोटी सरलले सबै न्यायमुर्ति द्रव्यपिचास नै हुँदैनन् । धेरैजना असल र आफुजस्तै सरल र इमान्दार नै छन् भनेका रहेछन् । उच्च पदमा बसेका न्यायमुर्ति र सरकार हाँक्ने राजनैतिक नेताहरू असल भएका बेला इमान्दार न्यायमुर्तिहरूको पनि राम्रो कदर हुने रहेछ भने, खराब र भ्रष्ट सरकार र हाकिमहरूले भनेको नमान्दा अप्ठ्यारा र जोखिमयुक्त जिल्लाहरूमा वारम्वार खटिइ रहनु पर्ने र बढुवामा पनि पछाडि परिने कुरा बताएका रहेछन् । उसो भए के वारम्वार यस्ता अप्ठ्यारा ठाउँहरूमा खटिएर काम गर्नुपर्नेहरू सबै असल मान्छे हुन् त ? भन्ने प्रश्नमा ‘यस्ता अधिकांश पिडितहरू इमान्दार नै हुन् तर केहीले भने माथि भाग नबुझाएर फटाईँका साथ कुकार्य गरेर कमाएको सबै रकम आपैm हसुर्ने गरेकाले पनि बेला बेलामा त्यस्तै सजाय पाउँछन्’ भनेछन् सरलप्रसादले ।

 

त्यहीँ हडतालमा सामेल एक अधिवक्ताले सारा न्यायमुर्तिहरू र न्याय क्षेत्र एकातिर, प्रधान न्यायमुर्ति अर्कातिर हुँदा पनि केही लछार पाटो लाउन सकिएन । अब त घर परिवारले पनि ताना मार्न लागि सके भनेछन् । अब त प्रहरी पनि हाम्रा माइक खोस्ने र उनिलाई अदालत परिसरबाट घोक्रेठ्याक लगाउने सुरमा पुगिसकेको भान भइरहेको छ रे । हिजो बेलुकीमात्र आन्दोलन सकेर पुतलीसडकको सेकुवा पसलमा खाजा र थकाई मेट्ने औषधी खाएर घर गएपछि स्वास्नीले निकै व्यङ्ग्यात्मक ढङ्गले गाली गर्न थाली रे उनलाई । सर्वोच्चका न्यायमुर्ति तथा हडतालमा उपस्थित हामी सम्पूर्ण वकिलहरू टेलिभिजनमा ज्यादै सुकिला मुकिला र राता पिरा देखिएका थियौँ रे । हामीले आन्दोलन केका लागि गरेका रे । खराव व्यक्तिले त्यति ठूलो पद पाउँदा मौन भएर बसेर त्यतिबेला किन नउफ्रेका रे हामी । हामीलाई कसको पो साथ छ अरे । हुन पनि हो जस्तो लाग्न थालेको छ अब त । पाँच जना न्यायमुर्ति त उतैपट्टि लुत्रिनगइसकेछन् । अब केही दिनमा केही अरू पनि मिल्न जालान् । सबै भेँडे चाल त होनी यो देशाँ । अनि हामी त हेर्दा हेर्दै जोक्कर पो हुने हो कि क्या हो ।

 

हिजो एकजना वकिलले त बेलुकी सोमरसको सुरमा होटेलमा सबै सहकर्मीहरूकै अगाडि भनेको पनि थियो किप्रधान न्यायमुर्ति पहिले देखि कै निकै चतुर खेलाडी हुन् रे । झन् अहिले त यिनकै पैmसलाले गफी बाको सरकार ढलेर अहिलेको लाटा बाको सरकार बनेकोले यिनी हटे भने त यिनले गरेका सबै निर्णय पनि स्वतः खारेज हुन्छन् रे । यसो भयो भने त माकु, झल्लु सबै चट् भएर फेरि गफी बाको खाँडो पो जाग्ने सम्भावना हुन्छ रे । भैमाले पार्टी पनि न्यायमूर्तिको खारेजीसँगै सुभाष र अन्यका सल्लाहमा त्यस्तै व्यहोराको मुद्दा हाल्न तयार भएर बसेको छ रे ।  त्यसैले पनि सरकार पक्ष चुपचाप बसेका हुन् रे । तर रामचन्द्रजी भने आफ्ना हनुमानहरूसँग यही मौकामा प्रधानमन्त्री र पार्टी अध्यक्ष पड्काउन पाइहालिन्छ कि भनेर झिँगे दाउ खेल्दै प्रधान न्यायमुर्तिलाई हटाउन पार्टी र सरकारले पहल शुरु गर्नुपर्ने कुरा बोल्दै हिँडेका छन् रे । पुर्खौली पेशा पुरेत्याईँमा लागेका भए निकै मान–प्रतिष्ठा कमाउन सक्ने यी चेपारे बाजे पनि यसै गरेर साँढेको झर्ला र खाउँला भनेर आशै आशमा बस्दा बस्दै बर्बाद हुने भए । अझसम्म शेरूसँग केही नलागे पछि उनी आम नागरिक भएर बसेका राजाले बोल्न नपाउने, बोलेमा डाँडा कटाइदिने वा खोरमा थुनिदिने हुँकारका साथ शेरुको सँगसंँगै उही सामन्ती बोली नै रटेर बसिरहेका रहेछन् । 

 

सर्वोच्च न्यायालयको गर्मागर्मीलाई बिस्तारै दमकलले निभाउन थालेको जस्तो भान भइरहेको छ। अब कदाचित प्रधान न्यायमुर्तिलाई ठेगान लगाउन सकेनन् भने त्यत्रो दिनसम्म इजलास वहिष्कार गरेर बसेका न्यायमुर्तिहरू कुन मुखले काममा फर्कने होलान् । अँ साँँच्ची त्यस्तो अवस्थामा तिनले चाहिँ नैतिकताको आधारमा राजीनामा गर्नु पर्ला या नपर्ला त ?

 

नेपालमा राणाहरूले त खुनखराबा र अङ्ग्रेजको चाकडीकै भरमा १०४ वर्षसम्म एकछत्र शासन गरे। न्यायालय नि तिनै, सरकार पनि तिनै, सेना पनि तिनै र प्रहरी पनि तिनै भएर शासन गरे । संसद त हुने कुरै भएन। तर २००७ सालमा प्रजातन्त्र आएपछि पनि केही ज्यादै कम मात्र न्यायमुर्तिहरूले स्वविवेकले काम गर्न पाएका भएपनि अधिकांंशले शासकवर्गकै स्वार्थपुर्तिका लागि काम गरे र आफ्नो पनि केही हदसम्म दुनो सोझाए । तर अब नेतानै राजा भएको युगमा त कसले कसलाई पो पुज्ने र । नजिककोछिमेकी दक्षिणवाहुको आशिर्वाद नभई गोर्खामा कसैको पनि दाल गल्दैन भने अब त बिस्तारै उत्तरवाहु र ध्रुवतारारूपी अम्रिका र युरोप पनि चम्कँदै पो आएका छन् त । संसदमा फुट र फरेबीको राजनीति हावी हुन थालेको त दशकौँ नै भइसक्यो । त्यस्तै सरकारलाई कमजोर बनाउने खेला पनि ज्यादै पुरानो भइसकेको छ । अब अनुशाषित भएर बसेकामा त्यही न्यायपालिका र सेना मात्र बाँकी थिए तर तिनलाई पनि भैmँझगडा र अनुशासनहिनताको विद्यालय बनाइदिन पाए त मुलुक स्वतः पराया हुने भइगयो नि ।

 

यिनै कुरा सोच्दा सोच्दै ज्ञानमणिको शरीर घाम ताप्दा पनि चिसो हुँदै गएछ। उनलाई आफ्नो मुलुक, निरिह जनताको र आफ्नै बेहाल हुँदै गएकोमा निकै दुख लाग्न थालेछ। आफ्नो घरको कुरा छिमेकी र दुनियाको अगाडि छताछुल्ल पारेर उनीहरूलाई हाँस्ने र बोल्ने मौका दिएर हामी आफैले के गर्न खोजेका होलाउँ कुन्नि भन्ने लागेछ उनलाई । खराब नै भएपनि बाउको बदमासी जगजाहेर गर्दा आफ्नै बेइज्जती भइरहेको हामीले किन बुझ्न नसकेका होलाउँ । सबैका गुनासा, काटमार र झै-झगडाका दर्शक र श्रोताको रूपमा निरिह आम जनता नै रहनु पर्ने, चाहे यी सब कुराबाट सबैभन्दा बढी असर यिनै जनता जनार्दनलाई किन नपरोस् । अझैं कति पुस्तासम्म हामी सभ्यताको बाटोमा पछि पर्दै जाने होला । यो सब कुरा सोच्दासोच्दै घाम अझ तल डुब्न थालेकोले ज्ञानमणि पनि लुसुक्क घरभित्र पसेछन् न्यायमूर्तिहरू पालै पालो इजलासमा फर्केजस्तै ।  

 

-लेखक विकास अर्थशास्त्री र पुर्वबैंकर तथा नेपाल एकल व्यक्तित्व समाजका अध्यक्ष समेत हुन् ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार