• बुधबार ६-१३-२०७८/Wednesday 09-29-2021
देश/प्रदेश

धर्मपरिवर्तन, बेरोजगारका बिषयमा शसक्त आवाज उठाउँदै पार्टी आन्दोलित हुने थापाको चेतावनी

 काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामी दिनमा पार्टीलाई आन्दोलित रुपमा अगाडी बढाउने बताएका छन् ।


आन्दोलन र अभियानको क्रममा संगठन सुदृढीकरण गर्दै महाधिवेशनलाई केन्द्रमा राख्ने थापाले बताए। पार्टीको स्थानीय तह निर्वाचन परिचालन समितीको आयोजनामा आज आयोजित भर्चुअल बैठकलाई सम्बोधन गर्दै समिती संयोजक समेत रहेका थापाले स्थानीय निकाय निर्वाचनको तयारीलाई तिब्रता दिन समेत थापाले सहभागीहरुलाई आग्रह गरे ।

 

महाधिवेशन अघि पार्टीको स्थानीय तह गठन,पुनर्गठन र अधिवेशनलाई उच्च प्राथमिकता दिई अघि बढ्नुपर्ने आवश्यकता औल्याउँदै थापाले महाधिवेशन पश्चात् भ्रष्टाचार,सर्वसत्ताबाद, धर्मपरिबर्तन, बेरोजगारका बिषयमा शसक्त आवाज उठाउदै पार्टी आन्दोलित हुने बताए ।

 

राप्रपालाई अग्रणी राष्ट्रबादी प्रजातान्त्रिक शक्ति बनाउनको निमित्त सबैले शसक्त भुमिका निर्वाह गर्नुपर्नेमा थापाको जोड थियो। महाधिवेशन,स्थानीय निकाय निर्वाचन र संसदीय निर्वाचन दृष्टिगत गर्दै कार्ययोजना अनुरुप कार्यतालिका बनाएर प्रभाबकारी रुपमा परिचालित हुन थापाको आग्रह थियो ।

 

थापाको संयोजकत्वमा केही समय अघि परिचालन समिती गठन भएको थियो। आजको बैठकमा प्रदेश १, २ र बागमती प्रदेशको पार्टीका जिल्ला अध्यक्षहरुको सहभागीता रहेको राप्रपा सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए । बैठकमा केन्द्रिय सचिवालय प्रमुखद्वय ध्रुब बहादुर प्रधान ,भाष्कर भद्रा, प्रदेश अध्यक्षहरु र समितका सदस्यहरुको सहभागीता रहेको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार