• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
विचार

यो पार्टीलाई सरकार पनि चाहिएको छ र महाधिवेशन पनि

प्रधानमन्त्री शेरबहादुर देउवाले भदौ १६ गतेदेखि १९ गतेसम्मको लागि प्रस्तावित नेपाली कांग्रेसको चौधौं महाधिवेशनको उदघाटन भदौ १६ गते नै गर्ने चाहना रहेको बताएका छन। तर, समयले उनको त्यो चाहना पूरा हुनदिने लक्षण देखाएको छैन। कांग्रेस महाधिवेशनको नियमित अनुगमन गरी रहेका राजनीतिक संवाददाता र टिप्पणीकारहरुले यो स्तम्भकारलाई बताए अनुसार, नेपाली कांग्रेसको नेतृत्वले निर्वाचन आयोगसंगको सल्लाहमा महाधिवेशनको तिथि पुन : संयोजन गर्ने तयारी गरेको छ। निर्वाचन आयोगले कांग्रेसको महाधिवेशन गर्न पुस सम्मको समय उपलब्ध गराउने सहमति दिइसकेको छ। कोभिड महामारीको विकराल स्वरुप देखाएर कांग्रेसले महाधिवेशनको तिथि अगाडि सार्न अनुरोध गरेको थियो । अहिलेसम्म कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धी बिवाद नै टुंगिएको छैन। सभापति देउवाको प्रधानमन्त्रीमा पदारोहणपछि सरकारी काममा उनी अत्यधिक ब्यस्त रहनु परेकोले पनि महाधिवेशनको काम अलमलमा परेको छ ।

 

पार्टीका नेता तथा कार्यसमितिका सदस्यहरुले सभापति देउवामाथि पार्टीको काममा भन्दा सरकारको काममा ब्यस्त रहेकोले पार्टीको काममा अवरोध उत्पन्न भएको बताएका छन।तर, प्रधानमन्त्रीका रुपमा सभापति देउवाले सरकारको झिनामसीना काम पनि गर्न भ्याएको देखिएको छैन। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी सरकारमा सम्मिलित हुन तयार भएपनि माधव नेपाल पक्षको एमालेले यी पंक्ति लेखिंदासम्म सरकारमा जाने वा नजाने निर्णय गर्न सकेको छैन। प्रधानमन्त्रीले माधव नेपाल पक्षलाई बढी दवाव दिन खोजेको पनि देखिदैन । यसै हो भने, नयाँ हिसाबबाट सरकारको संयोजन गर्दा नहुने होइन। तर, प्रधानमन्त्री देउवालाई थाह छ : यो सरकारको महत्वपूर्ण चरित्र भनेको एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल नै हुन । उनले खतरा नमोलेको भए ओली नेतृत्वको सरकार परिवर्तन हुने थिएन । तर, अहिले सरकारमा जान माधव नेपाल किन आलटाल गरी रहेका छन त्यो कुरा सरकार चलाउने दलहरुको शीर्ष नेतृत्वलाई नै थाहा होला । जहाँसम्म नेपाली कांग्रेसको प्रश्न छ – यो पार्टीलाई सरकार पनि चाहिएको छ र महाधिवेशन पनि चाहिएको छ । यी दुइमा कुन छाड्ने वा कुन समात्नेभन्ने प्रश्नै उठदैन । तर, पार्टीका शीर्षस्थ भनिने नेताहरुमा बिश्वासको चरम संकट छ । पार्टी भित्रका कुनैपनि नेतासंग सभापति देउवाको भर–बिश्वासको सम्बन्ध छैन। आफनो पदलोलुप प्रबृत्ति र बेहोराका कारण सभापति देउवाले बिमलेन्द्र निधिजस्ता लामो समयसम्म आफुलाई साथ दिने दुःख–सुखका सहयात्री मित्र गुमाएका छन। निधिका लागि कांग्रेस सभापतिको सिंहाशन खाली गरेर उनले राजनीतिबाट अत्यन्त सम्मानजनक निर्गमलिन सक्दथे । उनको नाम चम्किन्थ्यो ।

 

भर्खरै सभापतिको निकट पुगेका महामन्त्री तथा सरकारले गठन गरेको सर्वदलीय कार्यदलका संयोजक पूर्णबहादुर खड्काले कसैसंग सल्लाह नगरी, मनोमानी ढंगले र घरेलु हिसावले, उमेशप्रसाद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेकोमा प्रधानमन्त्रीका बिरुद्ध सार्वजनिक प्रतिक्रिया दिएका छन। कम बोल्ने र दक्षतापूर्वक आफनो काम गर्नेमा गनिएका महामन्त्री खडकाको प्रतिक्रिया निकै ‘सौम्य’ तर कडा थियो । एकातिर सभापति देउवाको मनोमानीको यो हालत छ भने अर्कोतिर संस्थापन पक्षका बिरोधीको मान–सम्मान पाएर बसेका बरिष्ठ नेता रामचन्द्र पौडेल सभापति देउवाभन्दा अलिकति पनि कम छैनन । यति हो कि देशको ‘राज्यलक्ष्मी’ बरिष्ठ नेता पौडेलको शीरमा बस्न चाहिनन । उनी पाँचपटकसम्म सभापति देउवाकै शीरमा बसिन, र पनि,देउवा सुध्रिएनन । उमेरले बरिष्ठ नेता पौडेल र प्रधानमन्त्री देउवा बर्ष डेढबर्षले जेठा कान्छा होलान । शक्ति र सत्ताको सन्दर्भमा उनीहरु दुबैको स्वभाव उत्तिकै लोभी छ । अहिले देशको राज्य ब्यबस्थामा ‘दलतन्त्र’ हावी भएको अवस्थाको फाइदा उठाउन चाहन्छन दुबै नेता । नेता पौडेलकै कुरागर्ने हो भने, उनी समयातीत भै सकेका छन । यतिवेला कुनै अर्को नेतालाई हटाएर बरिष्ठ नेता पौडेललाई सत्ताको शीर्षमा स्थापितगर्ने यो देशमा कोही देखिएको छैन । कांग्रेसभित्र अहिले जब्बर मानिएका प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, बिमलेन्द्र निधि, शेखर कोइराला, शशांक कोइराला र सुजाता कोइराला कसैले पनि बरिष्ठ नेता पौडेललाई अघि बढाउने नियत राखेका छैनन । थप बरिष्ठ नेताहरुमा डा.रामशरण महत, अर्जुननरसिंह केसी, गोपालमान श्रेष्ठ सबै आफनै धूनमा छन । बरिष्ठ नेता पौडेलले कांग्रेसको सभापति हुने आफनो रहर मेटाउन आफना कथित साथीभाइसंग जति आग्रह र अनुनय गरेपनि त्यो घटना हुन गाह्रो छ । सरकारी तामदानमा चढाएर, सिंहदरबार पुर् याउने सपूत कोही छ कि भनेर त सोच्नै परेन । बिभिन्न शक्ति केन्द्रको स्वार्थसंग अनुकुल अवस्था सिर्जना गर्ने साँचो नभएको भए सभापति शेरबहादुर देउवा पनि बरिष्ठ नेता पौडेलकै हालतमा हुन्थे। उनी अहिले प्रधानमन्त्री नै हुने थिएनन ।

 

नेपाल कम्युनिष्ट पार्टीको बिभाजन पछि एमाले पार्टी अध्यक्ष ओली र बरिष्ठ नेता नेपालको समूहमा बिभाजित नभएको भए नेतृत्व ओलीकै हातमा रहने स्थितिको सिर्जना हुन्थ्यो। त्यतिबेला तेस्रो पटक संसद बिघटन भएर चुनावको घोषणा हुने बलियो सम्भावना रहन्थ्यो। शक्ति र सत्ताको यो खेलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अदृश्य भूमिका र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको चतुर चालले कांग्रेस सभापतिको हातमा सत्ताको बागडोर परेको हो। यो तथ्यलाई बिर्सिन हुँदैन। कांग्रेस महाधिवेशनको चर्चागर्दा सभापति पदमा आफनो हक देखाउने नेताहरुमा शशांक कोइराला, शेखर कोइराला, बिमलेन्द्र निधि, प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला मुख्य चर्चामा छन। कांग्रेस र देशको दुर्भाग्य यही नै हो कि जनताले युवा भनेर हेरिएका र चिनिएका नेता नै बूढा भइसके। कांग्रेसजस्तो गतिशील पार्टीमा यस प्रकारको बिचित्र अवस्था देखिनु नै दुर्भाग्यपूर्ण हो । यो अवस्थामा पनि शेरबहादुर देउवा र रामचन्द्र पौडेल जस्ता नेता सभापति पदका लागि र्‍याल चुहाएर बसेका छन । उनीहरुलाई मात दिनु कांग्रेस भित्रका तन्नेरीहरुको कर्तब्य हो । तर, यो कर्तब्य निर्वाह गर्न कांग्रेसका युवाहरु तत्पर देखिएका छैनन। अहिले चर्चामा रहेका कांग्रेस सभापति पदका उम्मेदवारहरुमा सबैको आ–आफनै खूवी र दक्षता छ । कोइराला परिवारको पहिलो उत्तराधिकारीका हिसावले शशांक कोइरालाबाटै कुरा शुरु गर्नु उचित होला । उनी बीपी कोइरालाका कान्छा सुपुत्र हुन । उनमा राजनीतिक छलकपट देखिदैन । उनीमाथि मानिसले बिश्वास गर्न सक्दछन। शशांकमा राजनीतिक गतिशीलता पनि त्यतिसारो देखिदैन । बीपीका सुपुत्र भएर पनि, उत्तराधिकारको चमत्कारिक प्रयोगगर्ने र तमाशा देखाउने उनको स्वभाव देखिदैन । यसपछि शेखर कोइरालाको चर्चा समीचिन हुनेछ ।

 

केशवप्रसाद कोइराला र कांग्रेसको जब्बर महिला नेतृ नोना कोइरालाका कान्छा सुपुत्र शेखर कोइरालाले तेह्रौ महाधिवेशन सम्पन्न भए लगत्तै आफुलाई चौधौं महाधिवेशनमा कांग्रेस सभापति पदमा निर्वाचन लडनका लागि आफुलाई तयार पारेका हुन । आफनो ध्येयमा उनको समर्पण निकै आकर्षक छ। उनलाई आफनो लक्ष र त्यसको महत्वको ज्ञान छ। ‘कोशु दाजु–नोना भाउजु’ लाई छाडेर शेखरले कुनै उत्तराधिकारित्वको जिम्मा पनि लिनु पर्दैन। उनले देशभरिका कार्यकर्तामा आफनो राजनीतिक सम्पर्कको जालो बिछ्याएका छन। अन्तर्राष्ट्रिय सम्बन्धमा पनि उनी अव्वल छन । बिमलेन्द्र निधि – बीपी कोइरालाको आशिर्वादले २०३६ सालमा नेपाल बिद्यार्थी संघको अध्यक्षका रुपमा स्थापित भएका थिए बिमलेन्द्र निधि । त्यसपछि उनले अहिलेसम्म पछाडि फर्किएर हेरेका छैनन। निर्भय र हक्की स्वभावका नेताका रुपमा उनको पहिचान बनेकोछ । बीपीले बिमलेन्द्रको हात समातेर मन्चमा तान्नुको सांकेतिक महत्व थियो। बिमलेन्द्रले पिता महेन्द्रनारायण निधिबाट हक्की स्वभाव सिकेका हुन। राजनीतिक रुपले गतिशील बिमलेन्द्र योजना स्तरीय चिन्तकका रुपमा चिनिन्छन। मूल रुपले मधेशी भएपनि बिमलेन्द्र नेपालका हरेक भागमा सुपरिचित छन ।

 

नेपाली लोकतान्त्रिक राजनीतिका लौहपुरुष तथा राष्ट्रिय जन आन्दोलनका सर्वमान्य नेता गणेशमान सिंह तथा महिला नेतृ मंगलादेवी सिंहका सुपुत्र प्रकाशमान सिंह आफनो लक्ष्यमा समर्पित हक्की ब्यक्तित्व हुन। उनका बारेमा यो भन्दा बढी अरु केही भनिरहनु पर्दैन। संघीय राजधानीका केन्द्रीय नेताका रुपमा उनको ब्यक्तित्व प्रभावशाली छ। लोकतान्त्रिक हिसावले शक्तिको प्रयोग प्रकाशमान सिंहको उद्देश्य देखिन्छ। सम्बन्धहरुको चीरामा बिरोधाभाश र बिसंगत अवस्था सिर्जना गरेर फुत्त निस्किएका नेताका रुपमा चिनिन्छन कृष्ण सिटौला । उनी २०३६ मा कानून ब्यवसायी भैसकेका थिए । त्यतिखेर भर्खरको केटो थिए।

 

गिरिजाप्रसाद कोइरालाका तर्फबाट माओवादी विद्रोहीसंगको वार्तामा शेखर कोइरालासंगै उनको उपस्थिति रहन्थ्यो । राजा ज्ञानेन्द्रलाई नारायणहिटी दरबारबाट बाहिर पठाउने समयमा तत्कालीन राष्ट्रप्रमुख गिरिजाप्रसाद कोइरालाका दूतका रुपमा सिटौला दरवार गएका थिए ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार