• मंगलबार ८-८-२०८३/Tuesday 11-24-2026
देश/प्रदेश

स्थानीय सरकारको विपद् प्रतिकार्य क्षमता अभिवृद्धि हुनु अपरिहार्य : डा. धर्मराज उप्रेती

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख  डा. धर्मराज उप्रेतीले रसुवा-भोटेकोशी बाढीले स्थानीय सरकारहरुको विपद् प्रतिकार्य क्षमता अभिवृद्धि हुनु निकै नै अपरिहार्य रहेको देखाएको बताउनुभएको छ। 

 

स्थानीय तहहरूको विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्न आवश्यक जनशक्ति, स्रोतसाधन, आपत्कालीन कोष, उद्धार तथा राहत सामग्री र उपकरणहरूको पर्याप्त व्यवस्था गर्नुपर्नेमा जोड दिँदै डा.उप्रेतीले पालिकाहरूबीच समन्वयात्मक, द्रुत तथा प्रभावकारी विपद् प्रतिकार्य प्रणाली सुदृढ गर्नुपर्ने बताउनुभयो।

 

 

बेदकोट नगरपालिकाको आयोजनामा आज सम्पन्न छैठौं कञ्चनपुर सम्मेलनमा अतिथिका हैसियतमा मन्तव्य राख्दै डा. उप्रेतीले पूर्वसूचना प्रणाली (EWS) तथा बहुप्रकोपीय जोखिम आकलनको स्थानीयकरण गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो। उहाँले जलवायु परिवर्तनका दीर्घकालीन प्रभावहरू तथा आकस्मिक विपद्जन्य घटनाहरू दुवैका लागि स्थानीय तहहरू पूर्वतयारी अवस्थामा रहनुपर्ने आवश्यकता औँल्याउनुभयो।

 

 

आगामी वर्ष अर्थात् सन् २०२७ 'सुपर एल निनो' अर्थात् इतिहासकै तातो वर्ष हुने प्रक्षेषण भएको उल्लेख गर्दै डा. उप्रेतीले यसबाट हिमाली क्षेत्रमा थप जोखिमहरु निम्तनसक्ने एवं हिउँदहरु सुख्खा हुँदा बालीनाली, कृषि तथा वायु प्रणालीमा नकरात्मक प्रभाव पर्ने पनि बताउनुभयो।


 
रसुवा-भोटेकोशी बाढीमा परी बेपत्ता व्यक्तिका हकदारलाई मृतकसरह राहत उपलब्ध गराउने प्रक्रिया सुरु भइसकेको उल्लेख गर्दै गृह मन्त्रालयले उनीहरुलाई शीघ्र राहत उपलब्ध गराउन सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको जानकारी पनि दिनुभयो।विपद जोखिम न्यूनीकरणका लागि कञ्चनपुरका सबै स्थानीय तहबीच सामूहिक सहकार्य, समन्वय र योजनाबद्ध कार्य संचालन गर्ने उद्देश्यले कञ्चनपुर सम्मेलन आयोजना हुँदै आएको छ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार