आर्सनलले फेरि जित्न सक्ला त उपाधि
काठमाडौं । पछिल्लो लीग सिजनमा लामो अन्तरालपश्चात् आर्सनल टोलीले उपाधि जित्यो। अर्थात् यो सिजनमा उसले उपाधिको रक्षा गर्नु पर्नेछ – सन् २००४-०५ को लीग सिजनपछि पहिलोपल्ट। यसपालि पनि 'गनर्स' टोली उपाधि जित्ने बलियो दाबेदार हो – तर इतिहासको पानामा उपाधि रक्षकहरूको प्रदर्शन कस्तो रहेको पाइन्छ, अनि मिकेल आर्टेटाको टोलीले लगालग दोस्रो प्रिमिअर लीग उपाधि जित्न सक्ला ? पछिल्ला वर्षहरूमा म्यान्चेस्टर सिटी टोलीका म्यानेजर पेप गार्डिओलाले उपाधि रक्षाको कार्य सरल रहेको देखाए।
सन् २०१७/१८ मा सिटी टोलीलाई गार्डिओलाले म्यानेजरका रूपमा पहिलोपल्ट उपाधि दिलाएका थिए। त्यसपछि यो वर्ष क्लब छाड्नु अघि उनले चार पल्ट म्यान्चेस्टर सिटीलाई प्रिमिअर लीग उपाधि रक्षा गर्न सघाए। प्रिमिअर लीगमा उनको आगमनभन्दा पहिले लगालग दुई वा तीन पटक उपाधि जित्नु भनेको निकै कठिन कार्य देखिएको थियो। गार्डिओलाले पहिलो उपाधि जित्नु अगाडिका आठ सिजनमा कुनै एक टोलीले उपाधि रक्षा गर्न सकेको थिएन।
गार्डिओलाभन्दा अगाडि प्रिमिअर लीग कालमा जम्मा दुई जना म्यानेजरहरूले मात्र आफ्ना टोलीको उपाधि रक्षा गर्न सकेका थिए – म्यान्चेस्टर युनाइटेडका सर एलेक्स फर्गुसन र चेल्सीका जोजे मोरिन्योले। विजेता टोलीलाई उपाधि रक्षा गर्न किन यति धेरै कठिन हुन्छ भन्ने प्रश्नको एउटा जबाफ चाहिँ मनोवैज्ञानिक कारण भन्ने आउँछ।
एउटा पूरै सिजनभरि विजेता टोलीका खेलाडीहरूले लीगको जितका निम्ति निरन्तर परिश्रम गरेका हुन्छन्। जब उपाधि जितिन्छ स्वाभाविक रूपमा त्यो ठूलो सफलताका साथै राहतको क्षण पनि बन्न पुग्छ। अनि केही महिना नबित्दै तिनै खेलाडीहरूले सम्पूर्ण परिश्रम दोहोर्याउनु पर्ने हुन्छ – त्यो पनि उपाधि रक्षकको थप बोझका साथ।
त्यो काम निकै गाह्रो हुन्छ। यस्तै गाह्रो सन् २०१५-१६मा नाटकीय रूपमा लीग विजेता बनेको लेस्टर सिटी क्लबलाई भएको थियो। लगत्तैको सिजनमा उक्त क्लबलाई उपाधि रक्षामात्र होइन प्रिमिअर लीगमा टिकिरहन नै धौ धौ पर्यो। उपाधि जितेपछि लेस्टर सिटीका एक जना खेलाडीले विजेता टोलीका सदस्यहरूमाथि पर्ने मनोवैज्ञानिक प्रभावबारे गार्डिअनलाई भनेका थिए: "उपाधि जित्नु भनेको एभरेस्ट चढ्नु जस्तै थियो। त्यसपछि ओर्लँदा धाप मारिन्छ र फेरि सुरुदेखि चढ्न भनिन्छ।"
प्रिमिअर लीगका एक पूर्व खेलाडी एन्ड्रस टाउनसेन आर्सनललाई अघिल्लो सिजनको प्रदर्शन दोहोर्याउन कठिन हुने ठान्छन्। "लिभरपुल क्लबले यसअघि दुई चोटि उपाधि जित्दा उसले लगत्तैको सिजनमा उपाधि रक्षा गर्न सकेको थिएन। लगत्तैको सिजनमा उसको प्रदर्शन तुलनात्मक कमजोर रहे," टाउनसेनले बीबीसी रेडिओ फाइभ लाइभलाई बताए।" अन्तत: उपाधि जित्दा तपाईँले ठूलै राहत अनुभव गर्नुहुन्छ। तर के फेरि अर्को सिजनमा उही स्तरको आक्रामकता र मनस्थिति कायम हुन सक्छ?" बीबीसी
सम्बन्धित समाचार




प्रतिकृया दिनुहोस