के हो 'भीएआर' ?
काठमाडौं। यस पटकको फुटबल विश्वकपमा 'भिडिओ असिस्टन्ट रेफरी' (भीएआर) पहिलेदेखि नै चर्चामा थियो तर ७ जुलाईको अन्तिम सोह्रको खेलमा इजिप्टविरुद्ध आर्जेन्टिनाको रोमाञ्चक जितपछि यससम्बन्धी बहस नयाँ उचाइमा पुगेको छ।
खेल सकिन ११ मिनेट बाँकी हुँदासम्म इजिप्ट २–० ले अगाडि थियो। त्यसपछि लिओनेल मेस्सीको नेतृत्वमा आर्जेन्टिनाले लगातार तीन गोल गर्दै खेल आफ्नो पक्षमा पार्यो। आफ्नो एउटा गोल रद्द गरिएको तथा अन्तिम समयमा पेनल्टीको माग गर्दा भीएआर समीक्षा नगरिएको भन्दै इजिप्टको टोली निकै आक्रोशित बन्यो।
"सायद उनीहरू विश्वविजेता (आर्जेन्टिना) लाई प्रतियोगितामा टिकाइराख्न चाहन्थे। सायद उनीहरू मेस्सीलाई उपाधिको होडमा कायम राखिराख्न चाहन्थे," खेलपछि इजिप्टका व्यवस्थापक होस्सम हसनले भने।
विशेष गरी इजिप्ट १-० ले अगाडि रहेका बेला खेलको उत्तरार्धमा मोस्तफा जिकोले गरेको गोल रद्द गरिएकामा उनीहरू अत्यन्तै असन्तुष्ट थिए। उक्त गोल हुनुअघिको 'मूभ'मा मिड्फील्डर मारवान आतियाले लिसान्ड्रो मार्टिनेजको खुट्टामा टेकेको भन्दै 'फाउल' दिइएको थियो।
इजिप्टको दाबीचाहिँ आर्जेन्टिनाले निर्णायक गोल गर्नुअघि पेनल्टी क्षेत्रभित्र मोहम्मद सलाहमाथि पनि त्यस्तै प्रकारको 'फाउल' भएको थियो, तर त्यस बेला कुनै 'फाउल' दिइएन।
विश्व फुटबलको नियामक संस्था फिफाले औपचारिक रूपमा सन् २०१८ मा 'भिडिओ असिस्टन्ट रेफरी (भीएआर)' प्रणाली लागु गरेको थियो। त्यति बेला फिफाका अध्यक्ष जानी इन्फन्टीनोले यसलाई रेफरीहरूलाई "अझ राम्रो निर्णय लिन" सहयोग गर्ने साधनको रूपमा अर्थ्याएका थिए।
सजिलोसँग भन्नुपर्दा 'भीएआर' भनेको भिडिओ प्रविधिको उपयोगमार्फत् मैदानमा रहेका रेफरी टोलीलाई निर्णय लिन सघाउने प्रणाली हो। त्यो भनेको रेफरीले मैदानमा भएका कुनै महत्त्वपूर्ण घटना देखेनन् वा स्पष्ट हुन सकेनन् र त्यसका कारण कुनै महत्त्वपूर्ण निर्णयमा स्पष्ट त्रुटि भयो भने 'भीएआर' प्रयोग गरिन्छ।
यो प्रविधिले रेफरीलाई विभिन्न क्यामरा कोणबाट भिडिओ हेरेर आफ्नो वा आफ्नो टोलीको तात्कालिक निर्णय सही थियो वा थिएन भन्ने विषयलाई पुनः मूल्याङ्कन गर्ने अवसर दिन्छ। फिफाका अनुसार हाल विश्वभर ३०० भन्दा बढी प्रतियोगितामा यो प्रविधि उपयोग भएको छ।
खेलमैदानबाट टाढा अवस्थित भिडिओ कक्षमा बसेका अधिकारीहरूले खेलको भिडिओको विश्लेषण गर्छन्। सन् २०२६ विश्वकपमा यस्तो केन्द्र अमेरिकाको ड्यालस सहरस्थित प्रसारण केन्द्रमा राखिएको छ।
यदि आवश्यक ठहरिएमा रेफरीलाई मैदानको छेउमा राखिएको मनिटरमा सम्बन्धित भिडिओ हेर्न भनिन्छ। अन्तिम निर्णय भने उक्त भिडिओ हेरेपछि त्यसको समीक्षाका आधारमा मैदानका रेफरीले नै लिन्छन्।बीबीसी
सम्बन्धित समाचार




प्रतिकृया दिनुहोस