एभरेस्ट फिल्म महोत्सव ‘एआई फिल्म मेकिङ कन्फरेन्स’
काठमाडौं । नेपाली चलचित्रलाई चीनको विशाल बजारसँग जोड्ने उद्देश्यले आयोजित ‘नेपाल एभरेस्ट फिल्म फेस्टिभल’ ले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा गरिएको छ । चलचित्रकर्मीहरूले उक्त फेस्टिभललाई नेपाली चलचित्र उद्योगका लागि अन्तर्राष्ट्रिय बजार विस्तारको महत्वपूर्ण सुरुवातका रूपमा व्याख्या गरेका छन् ।
कार्यक्रममा नेपाल एआइ फिल्म एलायन्स् तथा एभरेस्ट फिल्म फेस्टिभलका अध्यक्ष करूण थापाले करिब तीन वर्षअघि चिनियाँ नागरिक ली होङ्गशू (शुग) ले नेपाली चलचित्रलाई चीनको बजारमा लैजाने प्रस्ताव राखेपछि यस अभियानको सुरुवात भएको बताए । उनले प्रारम्भमा यो योजना ‘सुन्दर सपना’ जस्तै लागेको भए पनि निरन्तर प्रयासपछि त्यसले मूर्त रूप लिन थालेको बताए । उनका अनुसार, नेपाली चलचित्रलाई चिनियाँ बजारमा पु¥याउनु केवल प्राविधिक प्रक्रिया मात्र नभई दुई फरक कानुन, संस्कार र कार्यशैलीबीच सेतु निर्माण गर्नुजत्तिकै चुनौतीपूर्ण कार्य थियो । “चीनको कडा सेन्सर प्रणाली र प्रक्रियागत जटिलताका बीच नेपाली चलचित्रलाई स्थापित गर्नु सगरमाथा आरोहणसरह चुनौतीपूर्ण थियो,” उनले भने ।
फेस्टिभलका लागि नेपालबाट २३ चलचित्र पठाइएकामा ११ चलचित्र छनोटमा परेका र अन्ततः ६ चलचित्रले चिनियाँ सेन्सर प्रक्रिया पार गरेको जानकारी दिइयो । छनोट भएका चलचित्रहरूमा ‘एन्जिला’, ‘छक्का पन्जा ५’, ‘तेल भिसा’, ‘महाजात्रा’, ‘कबड्डी ४’ र ‘होस्टेल’ रहेका छन् ।
फेस्टिभल अवधिमा आयोजित ‘एआई फिल्म मेकिङ कन्फरेन्स’ लाई पनि महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ । चीन एआई प्रविधिमा अग्रस्थानमा रहेको उल्लेख गर्दै नेपाली टोलीले चलचित्र निर्माणमा कृत्रिम बुद्धिमत्ताको प्रयोगसम्बन्धी प्राविधिक ज्ञान आदानप्रदान गर्ने अवसर पाएको जनाएको छ ।
अध्यक्ष करूण थापाले अप्रिल १४ देखि १९ मा चीनको हुनान प्रान्तका छाङ्शा र हेङयाङ सहरमा सम्पन्न ‘२०२६ नेपाल एभरेस्ट फिल्म फेस्टिभल’ ले नेपाली चलचित्र उद्योगका लागि अन्तर्राष्ट्रिय बजार विस्तारको नयाँ सम्भावना सिर्जना गरेको जानकारी दिए ।
सम्बन्धित समाचार




प्रतिकृया दिनुहोस