सुरुङमा १७ दिन थुनिँदा 'मोबाइल गेम र योगको सहारा'

भारतको उत्तराखण्डमा निर्माणाधीन सुरुङको प्रवेश मार्ग थुनिएपछि १७ दिनपछि उद्धार गरिएका कामदारहरूले आफूले सुरुङभित्र मन बुझाउन र समय बिताउन अपनाएका जुक्तिबारे बताएका छन्।
मङ्गलवार उद्धार गरेर उनीहरूलाई स्थानीय अस्पतालमा लगिएको थियो। उनीहरूको मनोबल उच्च देखिन्छ। अस्पतालमा उनीहरूले खाना खाँदै गरेको भिडिओ सार्वजनिक भएको छ।
सुरुङमा फसेका ४१ जनालाई सकुशल उद्धार गरिएपछि भारतमा ठूलो राहत महसुस गरिएको थियो र मानिसहरूले हर्षोल्लास मनाएका थिए। सुरुङको प्रवेशमार्ग थुनिएको ठाउँबाट छिराइएको ९० सेन्टिमिटर चौडा पाइपबाट उनीहरूलाई एकएक गर्दै बाहिर निकाल्दा भारतमा रात छिप्पिइसकेको थियो।
लामो समयदेखि उद्धारकार्य अवरुद्ध हुँदै आएको थियो। मङ्गलवार अपराह्ण उनीहरूलाई बाहिर निकाल्न मिल्ने गरी पाइप सुरुङभित्र पुर्याउने काम सफल भएपछि सबै जना ढुक्क भएका थिए। बाहिर आएका कामदारहरूले लामालामा पाइला चालेको, हाँसेको र हात हल्लाएको अनि अरू मानिससँग हात मिलाएको देखिने भिडिओ सार्वजनिक भएको थियो।
उनीहरूका आफन्त र सहकर्मीहरू सुरुङबाहिर उद्धारको पर्खाइमा कैयौँ दिनदेखि बसेका थिए। उनीहरूले उद्धार भएका ती कामदारहरूलाई फूलको माला लगाइदिनुका साथै अँगालो हालेका थिए र मिठाई पनि दिएका थिए। उद्धार गरिएका एक कामदार मञ्जितलाई उनका बुबा चौधरी लालले चुम्बन गर्दै गरेको तस्बिर सञ्चारमाध्यममा आएको थियो।
उनले आफ्ना छोरालाई देख्न पाउँदा खुसी र राहत मिलेको बीबीसीसँग बताए। “निर्माण क्षेत्रमै भएको एउटा दुर्घटनामा मैले एक छोरालाई गुमाइसकेको छु। म अर्को छोरा पनि गुमाउने कुरा सोच्न पनि सक्दिनँ,” उनले भने। बीबीसी
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस