• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
देश/प्रदेश

वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन

काठमाडौं । वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको ८६ वर्षको उमेरमा निधन भएको छ । उहाँको गएराति न्युरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।


निमोनियाबाट पीडित ताम्राकारको काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचार भइरहेकोमा उपचारकै क्रममा चैत्र ९ गते बिहीबार राति १०ः१० बजे निधन भएको हो । उहाँका तीन छोरी हुनुहुन्छ । जसमध्ये एक छोरी ग्रिष्मा राजभण्डारी सञ्चारकर्मी हुनुहुन्छ । स्वर्गीय ताम्राकारको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

 

वि.सं. २०१८ साल जेठ २४ गते रेडियो नेपालको सेवामा प्रवेश गरेकी ताम्राकारले २०४९ सालसम्म रेडियो नेपालमा समाचार वाचनसँगै समाचार सम्पादकको रूपमा पनि काम गर्नुभएको थियो ।

 

 समाचार वाचनसँगै उहाँले रेडियो नेपालमा नासो तथा वन र वातावरणसम्बन्धी कार्यक्रम सञ्चालन गरेवापत सन् १९८९ मा उहाँलाई राष्ट्रसंघीय वातावरण कार्यक्रम ९युनेप० अन्तर्गत ग्लोबल ५०० रोल अफ अनर अवार्ड प्रदान गरिएको थियो ।

 

पछिल्लो समय इमेज एफएम ९७.९ मा उज्यालो कार्यक्रम सञ्चालन गर्दै आएकी ताम्राकारलाई नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले २०७४ सालमा वरिष्ठ पत्रकार सम्मान गरेको थियो ।

 

 

नेपाल पत्रकार महासंघले स्वर्गीय ताम्राकारप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना प्रकट गरेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार