• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
खेलकुद

नेपालसँग बङ्गलादेश ३–१ ले पराजित

काठमाडौँ । अञ्जन विष्टको ह्याट्रिकमा नेपालले मङ्गलबार बङ्गलादेशलाई ३–१ ले हराएर अन्तर्राष्ट्रिय मैत्री फुटबल खेलमा जित हात पारेको छ । दशरथ रङ्गशालामा मङ्गलबार भएको खेलमा अञ्जनले पूर्वाद्र्धमा नै ह्याट्रिक पूरा गरे ।

 

खेलको १८ औँ मिनेट अञ्जनले गोलको खाता खोलेका थिए । मैदानको बायाँ भागबाट विमलघर्ती मगरले फ्रिकिकमा उत्कृष्ट क्रसमार्फत् उपलब्ध गराइदिएको बललाई अञ्जनले हेडमार्फत् गोल गरे । 

 

अञ्जनले नौ मिनेटपछि अग्रता दोब्बर पारे । त्यसपछि पूर्वाद्र्ध सकिन सात मिनेट बाँकी छँदा विशाल राईको फ्रिकिकलाई सदुपयोग गर्दे अञ्जनले हेडमार्फत् नै गोल गरी आफनो ह्याट्रक पूरा गरे । यसअघि खेलको १७ औँ मिनेटमा बङगलादेशका कप्तान जमान भुयानले डिबक्स बाहिरबाट फ्रिकिकमा प्रहार गरेको बल गोलपोस्टमा लागेर फर्केपछि नै आज भाग्य नेपालको पक्षमा देखिएको थियो ।

 

प्रदीप हुमागाईँले पनि राष्ट्रिय टिमको प्रशिक्षकको रुपमा पहिलो खेलमा नै जित हात पारेका छन् । फिफा डेजमा भएको यस अन्तर्राष्ट्रिय मैत्री खेलमा राष्ट्रिय टिमबाट निकालिएका कप्तान किरण चेम्जोङसहित रोहित चन्द, अनन्त तामाङ, विमलघर्ती मगर, विशाल राई, विशाल श्रेष्ठ, तेज तामाङ, सुमन लामा, अञ्जन विष्ट, सुजल श्रेष्ठ र दिनेश राजवंशीलाई पुनरागमन गराएपछि प्रशिक्षक हुमागाईँ चर्चामा थिए । 

 

खेलको ८४ औँ मिनेटमा ऋतिक खड्का र आसिस चौधरीले राष्ट्रिय टिमका लागि पदार्पण गर्नुभयो । प्रशिक्षक हुमागाईँलाई नेपालले ३–१ को अग्रता लिएकोले पनि यी दुई खेलाडीलाई मैदानमा छिराउन सहज भयो । आसिसले विमल र ऋतिकले सेसेहाङ आङडाम्बेलाई स्थानापन्न गरेका हुन।

 

यससँगै अन्जन नेपालका लागि अन्तराष्ट्रिय फुटबलमा ह्याट्रिक गर्ने छैटौं खेलाडी बनेका छन् । राष्ट्रिय टोलीका लागि अन्जनको यो १० औं गोल समेत हो । यस अघि नेपालका लागि गणेश थापा, नरेश जोशी, निराजन राइमाझी,भरत खवास र नवयुग श्रेष्ठले ह्याट्रिक गरेका छन् ।

 

खेलको ५५ औं मिनेटमा सजाद होसेनले गोल गर्दै बंगलादेशलाई ३-१ को स्थितिमा ल्याए । रोहित चन्दलाई बिट गर्दै रकिब होसेनले उपलब्ध गराएको क्रसमा सजादले हेडमार्फत गोल गरे । त्यसपछि दुबै टोलीले थप गोल गर्न सकेनन् र नेपाल ३-१ ले विजयी भयो ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार