• सोमबार ३-२०-२०७९/Monday 07-04-2022
मनोरञ्जन

मेरो सांगीतिक यात्रा – भाग ३

मैले २०३७ सालमा रेडियो नेपालको स्वर परीक्षा दिन जाँदा म केही अल्लारे स्वभावको भएको र संगीतको कम ज्ञान हुनुका साथै राम्ररी अभ्यास पनि नगरेर गएकोले होला म स्वर परीक्षामा अनुत्तिर्ण भएँ । त्यसपछि मैले शक्तिवल्लभ दाजुसँग केही महिना स्वर परीक्षाको निम्ति संगीतका आधारभुत कुराहरू सिक्नुका साथै दुई–तीनप्रकारका गीतहरूको खुबै अभ्यास गरेँ । रेडियो नेपालमा २०३८ सालतिर नियमित स्वर परीक्षा हुने कुनै संकेत नदेखेर म तत्कालीन महानिर्देशक भोग्यप्रसाद शाहको कार्यकक्षमा गएँ । उनले मलाई गुनगुनाउन लगाएर सुनेपछि मेरो स्वर परीक्षा लिइदिन त्यहाँका अधिकारीहरूलाई आग्रह गरे । मैले त्यतिबेला सात मात्रा (रुपक ताल) को केही जटिल गीत नै गाएर रेकर्ड गराएँ र स्वर परीक्षामा मैले राम्रोसँग गाएको कुरा शक्तिवल्लभले पनि बताएका थिए । तर धेरै दिनसम्म नातीकाजीलाई मेरो गीतको रेकर्ड सुनेर निर्णय गर्न विनम्र अनुरोध गर्दा पनि केही सिप नलागे पछि एकदिन म अलिक झोक्किएर उनीसँग पेश भएँ । त्यसपछि भने उनले मेरो रेकर्ड मगाएर सुन्छु मात्र भने तर सुन्दै नसुनी कोठा बाहिर आएर ‘हामीले सुन्यौँ, यस्तो स्वरले पनि गीत गाइन्छ ? फेल भयौ, जाउ’ भने । त्यतिबेला उनको साथमा शिवशंकर र तारादेवी पनि थिए । मेरो गीत सुन्दै नसुनी मलाई यस्तो जवाफ दिएको देखेर म ज्यादै दुखित भएँ रमेरो युवावयको जोशले गर्दा उनीसँग केही गरमा गरम वादविवाद नै हुन गयो तथा यो कुरा उप–महानिर्देशक राममणी रिसाल कहाँ सम्म पुगेछ । उनी तत्काल नातीकाजीको कार्यकक्षमा आएर कुरा बुझेपछि ‘ए नातीदाई यो केटोलाई किन यसरी झुलाएको, एकचोटी मेरै अगाडि यसको गीत सुनिदिनुस् त’ भने । त्यसपछि बल्ल मेरो गीत त्यहाँ बजाइयो । गीत सुने पछि भने स्वयम् नातीकाजी, शिवशंकर र तारादेवी सहित राममणी रिसाल समेत मसँग निक्कै खुशी भए र म उत्तिर्ण भएको कुरा बताउँदै मलाई ‘ग’ श्रेणीको गायकको प्रमाणपत्र तत्कालै दिए । वास्तवमा नातीकाजी रिसाउनुको मुख्य कारणमा पहिलो त म महानिर्देशकको खोपीमा स्वर परीक्षाको सिफारिस गर्न गएँ भनेर पनि हुन सक्छ भने, दोस्रो कारण चाहिँ उनी जहिले जहिले रेडियो नेपालको स्टुडियोमा गीत रेकर्ड भइरहेको बेलामा आउँथे, उनले मलाई गीतार बजाइरहेको नै देख्दथे । गुह्येश्वरीको भजनमण्डलीमा हार्मोनियम बजाएर पूर्वीय शास्त्रिय संगीत मार्पmतसांगीतिक यात्रा शुरू गरेका उनलाई गीतार बजाउने ठिटाहरू उरण्ठ्याउला हुन्छन् भन्ने छाप पर्नु र हामी जस्ता ठीटाहरूसँग एक प्रकारको नफरत नै हुनु पनि स्वाभाविकै हो । मैले त्यसपछि रेडियो नेपालमा केही गीतहरू रेकर्ड गराउनुका साथै मेरो संगीतमा कैयन् गायकहरूका गीतहरू रेडियोमा रेकर्ड पनि भए । संयोगवश नातीकाजीकै संगीतको एउटा राष्ट्रभक्तिको समूह गीतको रेडियो नेपालमा रेकर्ड हुँदा र राष्ट्रिय सभागृहमा रानीको सामु प्रस्तुत गर्ने बेलामा म पनि सहभागी हुने मौका पाएँ ।

 

नातीकाजीले धेरै कालजयी गीतहरूमा संगीत भर्नुका साथै उनले आपैmले पनि निक्कै राम्रा गीतहरू गाएर नेपालको संगीत क्षेत्रमा आफ्नो अलग पहिचान र महान अस्तित्व कायम गर्न सफल भएका छन् । तारादेवीलाई त श्वरकिन्नरी भनेरै चिनिन्छ । उनले गाएका सबैजसा गीतहरू ज्यादै नै कर्णप्रिय र स्तरिय छन् भने लोकप्रिय पनि भएका छन् । शिवशंकर नेपालका अग्रणी सिने अभिनेता हुनुका साथै स्वर र संगीतका अर्का विशाल हस्ती हुन् । उनको सितारवादनमा पनि त्यत्तिकै दखल थियो । तर मैले पाकिस्तानमा मेहदी हसन तथा अन्य उच्चकोटीका कलाकारहरूको स्वरमा निक्कै धेरै सुनेको त्यहाँको प्रख्यात देशभक्तीकोगीत ‘ये वतन तुम्हारा है’लाई शिवशंकरको शव्द र संगीत भन्दै उनैको स्वरमा सितार र सम्पुर्ण धुन उही नै उतारेर नेपालीमा उल्था गरि ‘यो देश तिम्रो हो’ शिर्षकमा गाएर रेडियो नेपालमा घन्कन थालेपछि भने उनी माथिको एकप्रकारको श्रद्धा ज्यादै नै घट्न थाल्यो । यति भएपनि उनी नेपालको संगीत क्षेत्रका एक धरोहर नै हुन् ।

 

रेडियो नेपालको हालको भव्य स्टुडियो भवन जापान सरकारले बनाइ दिएको हो । सो भन्दा पहिले त्यहाँ अमेरिकी सहयोगमा बनेको स्टुडियो भवन थियो,जुन हालसम्म पनि प्रयोगमा नै रहेको छ । पुरानो स्टुडियो भवनमा चार वटा ठूला–साना स्टुडियोहरू छन् । वि.सं. २०४० को पूवार्धतिर देखि नेपालमा नीजि क्षेत्रको लगानीमा सांगीतिक स्टुडियोहरू खुल्न थाले र तिनमा गीतहरू रेकर्ड गर्दा स्वर परीक्षा गर्नु नपर्ने भएकोले शुरुका दिनमा त्यहाँ रेकर्ड भएका अधिकांश गीतहरूको स्तर निक्कै घटेको थियो तर राम्रा स्वर भएकाहरूको लागि भने नीजि स्टुडियोहरू बरदान पनि सावित हुन पुगे । नीजि स्टुडियो र संगीत विक्री तथा वितरण कम्पनीहरूको स्थापना पछि नै नेपालमा संगीत उद्योग उँभो लाग्न थालेको हो र राम्रा गीत–संगीतको बजार पनि स्थापित हुँदै गएको हो । आज आएर लोक दोहोरी होस् वा आधुनिक, समसामयीक वा पप गीतहरू हुन् तीनको विश्वव्यापी बजार नै स्थापित हुन पुगेको छ। नेपालमा चलचित्र उत्पादनको विकास राम्रोसँग हुनु र टेलिभिजन तथा एफएम रेडियोको सञ्जाल दक्षिण एशियामा नै सबैभन्दा बढी पैmलिँदै जानाले पनि यसो भएको हो । तर पनि सरकारी रेडियो नेपाल र नेपाल टेलिभिजनले नीजिक्षेत्रका असंख्य सेवाप्रदायकहरूसँग प्रतिष्पर्धा गरेर आफ्नो पुरानो साख जोगाउनुका साथै प्रतिष्ठाका साथ बस्न सकेका छन् ।

 

कलेजमा भर्खर भर्ना हुँदा राजिव उपाध्याय, राजेन्द्र थापा, विमल बस्नेत, ज्योति घिमिरे, बिजय लामा, म आदि मिलेर ‘द ग्राण्ड स्ल्याम’ नामको ब्याण्डको स्थापना गरेका थियौँ । सो ब्याण्डको शुरूका दिनको अभ्यास हुने स्थल मित्र बिजय लामाको घर थियो । त्यो ब्याण्डमा अङ्ग्रेजी र नेपाली गीतहरू गाइन्थ्यो र म प्रायःजसो नेपाली पप गीत गाउँथेँ । बिजयका पिता हेम लामा पनि बेला बेलामा आफ्नो खोपीबाट हामी अभ्यास गर्ने हलमा आएर हामीलाई संगीत बारे विभिन्न कुरा र तरिकाहरू सिकाउँथे । सँधै निक्कै सौहार्द्रपूर्ण तवरमा हाम्रा कार्यक्रमहरूको आयोजना हुने गरेकोमा एकचोटी हाम्रा आफ्नै साथिहरूले मैले र अन्य साथिहरूले गीत गाउँदा ज्यादै होहल्ला (हुटिङ) गरेकाले मैले मेरो गीत गाएर सकेपनि त्यसपछि धेरै समयसम्म मलाई रङ्गमञ्चमा गीत गाउने आँट नै आएन । हुनत म कलेजमा छँदा पनि धेरै नाटकहरूमा अग्रणी भूमिकामा नै अभिनय गर्ने गरेको कलाकार थिएँ । एउटा नाटकमा मैले ८० वर्ष नाघिसकेका वृद्धको भूमिकामा अभिनय गरेको थिएँ र त्यतिबेला मेरो उमेर करिव १९ वर्षको मात्र थियो ।

 

केही समय मैले नेपालकै अग्रणीमध्येका रक गायक मुकुन्द (माइक) खड्का, ज्योति घिमिरे, उदेश श्रेष्ठ र सुचन्द्र सेलालिक (च्वँचा)सँग मिलेर ‘काठमाण्डु क्याट्स’ भन्ने व्याण्डमा किबोर्ड बजाउने अवसर पाएँ । सो ब्याण्डमा हामी भन्दा पहिले भानु तण्डुकार, शैलेन्द्र श्रेष्ठ, महेशराज थापा, प्रख्यात गीतारवादक निरञ्जनमुनी बज्राचार्य र मानसिंह गुरुङ पनि आवद्ध थिए । त्यतिबेला मैले एउटा समूहमा बसेर आफुभन्दा अग्रजहरूसँग प्रख्यात पश्चिमा गीतहरूमा संगीत बजाउने र धेरै कुरा सिक्ने अवसर पनि पाएँ । त्यस्तै बेला तिर सुनिल पराजुलीको गीति एल्बम ‘सुनसान रातमा’ तयार गर्ने क्रममा महिनौँसम्म ज्ञानेश्वरस्थित अम्बर गुरुङको घरमा उनका सुविख्यात संगीतज्ञ छोराहरू किशोर गुरुङ र शरद गुरुङसँग काम गर्ने र धेरै कुरा सिक्ने अवसर पनि पाएँ ।त्यतिबेला चार ट्¥याकको रेकर्ड गर्ने सानो मेसिनमा तयार गरिएको त्यो एल्बम नै सम्भवतः नेपाली पप संगीतको पहिलो एल्बम थियो र नेपाल टेलिभिजनमा सांगीतिक प्रस्तुति दिने पनि हामी नै पहिलो समूह थियौँ । साधारण कोठामा रेकर्ड गर्ने क्रममा एक पटक सँगैको घरका छिमेकी पूर्व प्रधानमन्त्री कीर्तिनिधि विष्टले ‘गाईलाई घाँस हाल्नु पर्दैन ?’ भनेर घरको काम गर्ने मानिसलाई गाली गरेको कुरा पनि गीतसँगै रेकर्ड भएछ । हामी निक्कै हाँसेका थियौँ त्यतिबेला । त्यस्तै एकजना स्याक्सोफोन र कन्सर्टो फ्लुट बजाउने अमेरिकी संगीतज्ञ ‘व्यारी सुल्मान’ सँग पनि त्यतिबेला काम गर्ने अवसर मिल्यो । सो एल्बमका कैयन् गीतहरूमा मैले हार्मोनाइज र हमिङ गर्नुका साथै केही ताल वाद्य पनि बजाएको थिएँ भने त्यसैमा भएको किशोर गुरुङको संकलनको लोक गीत ‘गाडी त जर्मनको बाटो चाइनाको’मा मेरो र सुनिता सुव्वाको मुख्य गायन रहेको थियो । सो गीतले निक्कै ख्याती कमाएको थियो ।

 

कलेज जीवनमै हामीले ‘कला परिवार’ नामक सांगीतिक संस्था खोलेका थियौँ । म, नरेन्द्र प्यासी र अन्य साथिहरू मिलेर स्थापना गरेको यो समूहमा कलेजका प्रमोद पाण्डे, गणेश थापा, किरण पाण्डे, रजनी थापा, स्वस्तिका भट्टराई, सरला अर्याल, मिना पाण्डे आदि गायनमा सक्रिय थिए भने हाम्रा कार्यक्रमहरूमा मिलन मोक्तान, विजय वैद्य, प्रेमराजा महत आदिको पनि निक्कै साथ रहन्थ्यो । त्यस्तै कलेजका साथिहरू प्रकाश सायमी, मिरा गजुरेल, ब्रजेश खनाल, प्रमोद ढुङ्गाना, सप्तरत्न बज्राचार्य, उत्तम राजकर्णीकार, बिमल भौकाजी, अमृतशोभा तुलाधर, विजयप्रकाश प्रधान आदि त्यतिबेला गीतका शव्दहरू बुन्न सक्ने हाम्रो समूहका महत्वपूर्ण सदस्यहरू थिए । प्रकाश सायमीले त हाम्रा सांगीतिक कार्यक्रमहरूमा सफल उद्घोषकको भूमिकामा पनि ख्याती कमाएका थिए । गीतार, हार्मोनियम, तवला, मादल आदि मैले घरमा आमासँग र मामाघरकी हजुरआमासँग हारगुहार गरेर रकम झारेर किनेको थिएँ । त्यस्तै हामीले चन्दा उठाएर रतिहारमा देउँसी खेलेर पनि केही रकम संकलन गरि वाद्यवादनका साधनहरू किन्यौँ र कैयन् सांगीतिक कार्यक्रमहरूको आयोजना ग¥यौँ । मेरै संगीत संयोजनमा पटक पटकसांगीतिक कार्यक्रमहरूको आयोजना भएको थियो । कला परिवार मार्पmत नै हामीले धेरै जना संगीतप्रेमी युवाहरूलाई संगीत र गायनको प्रशिक्षण समेत दिएका थियौँ । पछि मैले एक संगीत प्रशिक्षण केन्द्र पनि सञ्चालन गरेको थिएँ, जसमा म लगायत दिपक थापा र सुवर्ण लिम्बुले संगीतको प्रशिक्षण दिने गरेका थियौँ ।

 

त्यतिबेला मेरो संगीत संयोजनमा कैयन् नाटकहरूका संगीत र जिङगल पनि बनेका थिए भने नेपाल टेलिभिजनको शुरुवाती समयमा सन्तोष पन्तको ‘हिजो आजको कुरा’का कैयन् श्रृंखलाका निम्ति ब्रजेश खनालको आग्रहमा मैले संगीत संयोजन गरेको थिए । केही समय गोपाल योञ्जनको स्टुडियोमा उनीसँग पनि साक्षात्कार हुने अवसर मिलेको थियो तर उनी स्वास्थ्योपचारको निम्ति भारत जानु परेको र त्यसको लगत्तै उनको दुखद निधन भएकोले उनी जस्ता महान हस्तीसँग संगीत सिक्न पाउने ठूलो अवसरबाट म वञ्चित हुन पुगेँ । आफुलेसानैदेखि सुनि आएको र ज्यादै मन पर्ने नेपाली गीत–संगीतका सुविख्यात सर्जकहरू अम्बर गुरुङ, अरुणा लामा, कोइलीदेवी, गङ्गा मल्ल, उही गोविन्दबहादुर, गोपाल योञ्जन, झलकमान गन्दर्भ, दिव्य खालिङ, तारादेवी, धर्मराज थापा, नातीकाजी, नारायण गोपाल, पन्नाकाजी, पाण्डव सुनुवार, फत्तेमान, बासुदेव मुनाल, बिजयसिंह मुनाल, मदन परियार, मास्टर रत्नदास प्रकाश, रुबी जोशी, लालबहादुर खाती, शिवशंकर, हरिप्रसाद रिमाल, ज्ञानबहादुर आदिलाई गुमाउनु पर्दा निक्कै दुख लागेको थियो । नारायण गोपाल बिरामी परेर हप्तौँ सम्म वीर अस्पतालमा भर्ना हुँदा प्रत्येक दिन म बिहान–बेलुका अस्पताल पुग्ने गर्दथेँ । अरुण थापा दुव्र्यसनको कारण केन्द्रिय कारागारमा छँदा पनि महिनामा एक पटक जस्तो भेट्न जान्थेँ ।

 

आजको दिनमा पनि नेपाली संगीत क्षेत्रमा विशेष योगदान पुर्‍याई रहेका धेरै सर्जकहरू छन् । उनीहरू सबैको दिर्घायु र खुसहाल जीवनको कामना गर्दछु । दोश्रो पिँढीका नेपाली गीत–संगीतका सर्जकहरूमाकल्याण–बिजु रिमाल, कुमार बस्नेत, गणेश रसिक, डेजी बराइली, तीर्थकुमारी, दिप श्रेष्ठ, निर्मला श्रेष्ठ, बच्चु कैलाश, बद्रीदुर्गा खरेल, भक्तराज आचार्य,भोला रिजाल, मञ्जुल, मिरा राणा, सी.के. रसाइली, शान्ती ठटाल, रञ्जित गजमेर, रामेश, हिरण्य भोजपुरे, ज्ञानु राणा आदि धेरै हस्तीहरूर त्यसपछिकामाओमविक्रम विष्ट, कुन्ती मोक्तान, बुलु मुकारुङ, सूर्य थुलुङ, पवन गोले, तारा थापा, मधु क्षेत्री, दिपक खरेल, प्रकाश श्रेष्ठ, शुभबहादुर सुनाम,मदनसिंह नेपाली, मानसिंह थुलुङ, प्रकाश गुरुङ, सुक्मित गुरुङ, शम्भुजीत बाँस्कोटा, राजकुमार श्रेष्ठ, शक्ति वल्लभ, रविन शर्मा, शिलाबहादुर मोक्तान आदि धेरै धेरै जना छन् । हाम्रो पिँढी र त्यसपछिका पिँढीका त सयौँ सर्जकहरू आज नेपाली संगीतको विकासमा लागी परि नै रहेका छन् । हाम्रै पिँढीका कैयन् सर्जकहरूका गीत रेकर्ड भएका र उनले फेसबुक तथा अन्य सामाजिक सञ्जालमा गीत गाएर राखेको हेर्न पाउँदा ज्यादै खुशी लाग्दछ । प्रत्येक पिँढी पिच्छे संगीतलाई बुझ्ने र अझ बढी योगदान गर्छु भन्ने जमातको पनि संख्या बढ्दै गएको छ । नेपाली चलचित्रको द्रुततर विकास र विद्युतीय सञ्चार माध्यमका साथै नेपालको जनसङ्ख्या र नेपालीहरूको चेतना शक्ति र समृद्धिमा समेत बृद्धि हुँदै गएको भएर पनि संगीतको विकासमा यी कुराको ठूलो प्रभाव परेको छ । आज संगीतलाई नै व्यवसाय बनाएर धेरै सर्जकहरू राम्रै जीवन यापन गरिरहेका छन् । विगतमा यस्ता दिन पनि थिए जुन बेला लालबहादुर खातीको शव पशुपति आर्यघाटमा बेवारिसे रूपमा राखिएर ‘यो शव प्रख्यात गायक लालबहादुर खातीको हो, कृपया दाहसंस्कारको निम्ति केही रकम सहयोग गरिदिनु होला’ भनेर लास माथि कागजमा लेखेर राखिएको । अथवा वयोवृद्धा कोइलीदेवीले आफुलाई हेरविचार गरिदिने कोही नभएर काठमाडौँको सडकका पेटीमा विलाप गरेर बसिरहेका क्षण ।

 

हामी साना छँदाका नेपाली गीतका रचनाकारहरू मध्येइश्वर वल्लभ, चाँदनी शाह, चेतन कार्की, भैरवनाथ रिमाल कदम, मविवि शाह, रत्नशमशेर थापा, रमोलादेवी शाह (छिन्नलता), हरिभक्त कटुवाल, क्षेत्रप्रताप अधिकारी जस्ता धेरै कालजयी गीतकारहरूले हामीलाई छोडेर विलिन भइसकेका भएता पनि हाम्रा माझ आज पनि विलक्षण गीति प्रतिभाहरू जस्तै उन्नती बोहरा, कालीप्रसाद रिजाल, किरण खरेल, दिनेश अधिकारी, दुर्गालाल श्रेष्ठ, नगेन्द्र थापा, नीर शाह, मनबहादुर मुखिया, यादव खरेल, राजेन्द्र थापा, विप्लव प्रतीक, विश्वम्भर प्याकुर्‍याल, विश्वभल्लभ, व्याकुल माहिला, श्रीपुरुष ढकाल आदि छन् भने थुप्रै हाम्रा र नयाँ पिँढीका युवाहरूउत्कृष्ट गीत रचनामा व्यस्त छन् । 

 

.... बाँकी अर्को अङ्कमा ।


-लेखक विकास अर्थशास्त्री र पुर्वबैंकर तथा नेपाल एकल व्यक्तित्व समाजका अध्यक्ष समेत हुन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार