• मंगलबार १-१८-२०८१/Tuesday 04-30-2024
पत्रपत्रिका

खोपको मात्रा पूरा गरेका विदेशी नागरिकले अनअराइभल भिसा पाउने

काठमाडौं । कोभिड खोपको मात्रा पूरा गरेका विदेशी नागरिकले नेपालमा अनअराइभल भिसा प्राप्त गर्ने भएका छन् । खोपको मात्रा पूरा गरेको १४ दिन पूरा गरेको प्रमाणपत्र र हवाई उडानमा चेकइन हुनुभन्दा ७२ घण्टाभित्रको कोभिड–१९ परीक्षणको रिपोर्ट नेगेटिभ भएको प्रमाण पेश गरी अनअराइभल भिसा प्रदान गरिनेछ ।


यसरी नेपाल भ्रमण गर्न चाहने विदेशी पर्यटकले नेपालमा होटल बुक गरेको प्रमाण र कोभिड संकट व्यवस्थापन केन्द्रमा अन्तर्राष्ट्रिय ट्राभलर अनलाइन फारम भरेको हुनुपर्ने छ । नेपाल प्रवेश गर्ने अध्यागमन विन्दुमा एन्टिजेन परीक्षण गराउनुपर्ने छ । त्यसरी परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएमा आइसोलेसन वा अस्पतालमा पठाइनेछ । रिपोर्ट नेगेटिभ आएमा मात्र गन्तव्यमा जान दिदनेछ।

 


खोपको मात्रा पूरा नगरेकाहरुले विदेशस्थित नेपाली नियोगहरुबाट भिसा लिएर आउनुपर्ने छ । यसको लागि नेपालमा आगमन गर्ने कोभिड–१९ विरुद्धको खोप नलगाएको, खोपको मात्रा पूरा नगरेका र खोपको मात्रा पूरा गरेको १४ दिन नपुगेका कूटनीतिक नियोगका पदाधिकारीहरु तथा कर्मचारीहरु र तिनका परिवारका सदस्यहरुले विदेशस्थित नेपाली कूटनीतिक नियोगबाट प्राप्त गरेको भिसा सहित नेपाल आउन चाहेमा नियोगले तोकेको स्थानमा कम्तिमा पाँच दिन क्वारेन्टिन बस्ने र सो कुराको अनुगमन सम्बन्धित नियोगले गर्ने शर्तमा आगमन अनुमति दिइने अध्यागमन विभागले जनाएको छ ।

 

पर्वतारोहण र पदयात्रा तथा अनुमति लिनुपर्ने अन्य विषयको हकमा सो सम्बन्धी अनुमतिको प्रतिलिपि पेस गर्नुपर्ने छ । विदेशस्थित नेपाली नियोगबाट प्राप्त हुने भिसामा भने सम्बन्धित मुलुकमा रहेको वा सम्बन्धित मुलुकको लागि तोकिएको नेपाली नियोगबाट भिसा लिएर आउन सक्ने छन् ।


नेपालमा रहेका विदेशी नागरिकहरुले कोभिड–१९ को लक्षण देखिएमा नेपालस्थित अध्यागमन प्रवेश विन्दुमा एन्टिजेन परीक्षण गर्नुपर्ने छ । त्यस्तो परीक्षणबाट पोजेटिभ देखिएमा अनिवार्य रुपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको आइसोलेसन वा अस्पतालमा र नेगेटिभ देखिएमा पाँच दिन होटल क्वारेन्टिनमा बस्नुपर्नेछ ।

 

अध्यागमन प्रवेश विन्दुमा एन्टिजेन परीक्षण हुन नसकेमा बस्ने होटलमा प्रवेश गर्नुअघि एन्टिजेन परीक्षण गराउनुपर्ने छ । त्यसरी परीक्षण गर्दा पोजेटिभ देखिएमा अनिवार्य रुपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको आइसोलेसन वा अस्पतालमा र नेगेटिभ देखिएमा पाँच दिन होटलमा नै क्वारेन्टिनमा बस्नुपर्ने छ ।कारोबार 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार