• बिहीबार ८-२३-२०७८/Thursday 12-09-2021
शिक्षा

कोभिड संक्रमण र शिक्षा क्षेत्रको अनिश्चितता

सुजन तिमल्सिना,काठमाडौं । कोभिड–१९ ले देशभर पारेको प्रभाव आंशिक रूपमा अझै पनि हामी माझ यथावत नै छ। त्यसमा पनि कोभिडको संक्रमणका कारण शैक्षिक क्षेत्रमा देखिएको पछिल्लो अवस्था अन्योलमा छ। नयाँ शैक्षिक सत्र आरम्भमा पनि त्यतिकै अल्मल र अनिश्चत जस्तै बन्यो । प्राथमिक तहदेखी विश्वविद्यलयका शैक्षिक गतिविधीमा कोरोनाको प्रत्यक्ष असर देखियो।

 

हालै युनाइटेड वल्र्ड स्कुलले सार्वजनिक गरेको तथ्यांकका आधारमा सन् २०२० मा गरिएको अध्ययन अनुसार लामो समयसम्म विद्यालय बन्द रहदाँ बालबालिकामा संक्रमणका कारण घर भित्रै बस्नु पर्दा अधिकांशमा मानसिक तथा एक्लोपन जस्ता समस्याहरू देखिएको सार्वजनिक विवरणमा उल्लेख छ। वास्तवमा महामारीका कारण बालबालिकाको सिकाइमा अत्यन्तै चिन्ताजनक असरहरू देखिन थालिसकेको छ। 

 

घर भित्रको परिवेशमा रहँदा बालबालिकामा गतिशीलतामा बन्देज लाग्ने र बन्दाबन्दीले विद्यार्थीहरूको स्वास्थ्यका साथसाथै परिवार र समुदायलाई पनि थप तनाव भई नकारात्मक असरहरू सिर्जना भएको भन्दै अभिभावकहरुले आफ्ना सन्तानहरुका लागि सिकाइका बैकल्पिक माध्यमहरु समेत खोजेको पाइन्छ। 

 

हाल पहुँच पुगेका तथा सहरी क्षेत्रहरूका धेरै जसो विद्यालयहरूले सूचना प्रविधिमार्फत, दूर शिक्षाका कार्यक्रम, अर्थात भर्चुअल माध्यमबाट आफ्ना बालबालिका, विद्यार्थीहरूलाई शिक्षा दिइरहेका छन भने, विकट ठाउँ परिवेशका बालबालिकाहरू यस अवसरबाट वञ्चित रहेका छन । जसका विविध कारणहरू रहेको पाइन्छ । धेरैजसो विद्यार्थीहरू सामाजिक, आर्थिक आवश्यकताका कारण तथा पारिवारिक अवस्थाका कारण उनीहरु शैक्षिक क्षेत्रबाट टाढिएका छन । 

 

सिकाइको क्षेत्रमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा धेरै असरहरू परेका छन्। एकातर्फ भन्ने हो भने, कोभिड–१९ ले शिक्षाको क्षेत्र साँघुरो बनाइदिएको छ। सामुदायिक विद्यालयहरुबारे गरिएको एक अध्ययनका अनुसार २५ प्रतिशत अभिभावकले आफ्ना बालबालिकाको सिकाइलाई कुनै पनि समय दिन नसकेको तथ्याङ्कमा पाइन्छ। जसले समय दिए उनिहरूले पनि हप्ताको औसतमा ९.३ घण्टामात्र दिने गरेको तथ्यांकहरुमा उल्लेख छ। 

 

 

जुन बालबालिकाले विद्यालयमा पाउने हेरचाह भन्दा निकै कम भएको यस क्षेत्रका विज्ञहरु बताउछन। हालको अवस्थामा लगभग ३१ प्रतिशत विद्यार्थीले मात्र शिक्षकसँग राम्रोसँग अन्तरक्रिया गर्न पाएका छन। विद्यालय बन्द रहदाँ बालबालिकाको दुरसिकाइमा पहुँच सक्रिय सहायता निकै न्युन रहेको अध्यायनहरूले प्रष्ट पारेका छन्, जसको आधारमा हर्ने हो भने पहुँच नपुगेका बालबालिकाहरू यस अवसरबाट शून्य प्रायः रहेका छन्। युनेस्कोका अछाम फिल्ड संयोजक दिवेशराज गीरीका अनुसार बालबालिकाको सिकाईलाई प्रभावकारी बनाउन प्रसाशन र विद्ययालय व्यवस्थापन समितीको महत्वपूर्ण भूमिका हुन्छ ।

 

कोभिड पछि परिस्थीति बदलियो, बिभिन्न दातृ निकाय लगायत सरकारले पनि विद्ययालयको अध्ययन अध्यापनमा समस्या नहोस भनेर बिभिन्न सामाग्री विद्ययालयहरुलाई बितरण गरे पनि केहि समय पछि विद्ययालयहरुले नै त्यस्ता गतिबीधिलाई व्यवस्थीत बनाउन नसक्दा विद्यार्थी पढ्न जान मानिरहेका छैन्न । दशै लगतै पनि कतिपय शैक्षिक संघसस्था सुचारु भए तर कोभिड हुनु पुर्वको तुलनामा छात्र–छात्राको उपस्थीति अत्यन्तै कम छ। गिरीले थपे  ‘एउटै बेन्चमा ५ जनासम्म बसेर पढेको पनि देखियो डिस्टेन्स मेन्टेन्ड भनेर त भन्यौं तर व्यवहारमा त्यो देखिएन।, आवश्यक सावधानी बारेमा जानकारी भए पनि लापरबाही देखियो ।’ 

 

सुचना प्रविधिको माध्यमबाट अभिभावकहरूले बालबालिकाहरूको शिक्षालाई निरन्तरता दिनु एउटा विकल्प हुन सक्छ । तर नेपालको सन्दर्भमा यसले तत्कालै सबैको पहुँचमा पुग्ने मूलधारको स्वरुप निर्दृष्ट गर्न सक्दैन । हाम्रो जस्तो भौगोलिक विभिदता भएका ठाउँहरुमा वैकल्पिक शिक्षण प्रणाली सोचेको जस्तो प्रभावकारी हुन सकेन।

 

नेपालका सहरी र ग्रामीण क्षेत्रबीच ठूलो डिजिटल खाडल विद्यमान छ । सन् २०२० मा युनाइटेड वर्ल्ड स्कुल्सले गरेको एक अध्ययन अनुसार प्रविधिको विकल्पहरूमा पहुँच र दूर शिक्षण प्रदान गर्ने शिक्षकको क्षमतामा व्यापक असमानता विद्यमान रहेको पाइएको छ । संक्रमणकै बिचमा हालको यस्तो अवस्थामा के विद्यालयहरू पुनः सुचारू गर्न उचित होला त रु भन्ने प्रश्नहरु पनि आइरहेका छन ।

 

देशका सम्पूर्ण बालबालिकालाई आधारभूत शिक्षाको सुनिश्चितता गरि हालको अवस्थामा शैक्षिक क्षेत्रलाई व्यवस्थीत र सुरक्षित बनाउदैं अगाडि बढ्नुको बिकल्प छैन। कोभिड–१९ को सतर्कतालाई मध्यनजर गर्दै अनुमती पाए लगत्तै विद्यालय सञ्चालन गर्नु एउटा आवश्यकता पनि हो तर कतिपय क्षेत्रमा भने पूर्वतयारी र आवश्यक साबधानी  नअपनाएको पनि देखियो । यसरी जथाभावी कक्षा संचालन गर्दा थप जोखिम बढ्न सक्छ यस तर्फ पनि विद्ययालयहरु सचेत हुन आवश्यक छ। अहिले आंशिक रूपमा स्वास्थ्य सतर्कता सहित विभिन्न मापदण्ड पुरा गरेर मात्र विद्यालय खोल्ने अनुमति पाएका अधिकांश विद्यालयहरू विद्यार्थीको अभावमा वा विद्यार्थी हरूमाझ सुचनाको माध्यम नपुगेका कारणले केहि विद्यालयहरू हालको अवस्थामा पूर्णरुपमा संचालनमा आउन सकेका छैन्न भने कतिपय बन्द नै छन । 

 


  

पहिल्लो अध्ययनलाई हेरौं, कोभिड पछि त्रिभुवन विश्वविद्यालयका केन्द्रिय शिक्षा विभागका एसोसिएट प्रोफेसरको नेत्तृत्वमा काठमाडौं उपत्यकाका सामुदायिक, संस्थागत र गुठी अन्तर्गत रहेका  विद्यालयका व्यवस्थापकहरू, प्रधानाध्यापक र सहायक– प्रधानाध्यापकहरू गरी ३२५ उत्तरदाताहरूलाई समावेश गरि गरिएको एक अध्ययन अनुसार २७ प्रतिशत विद्यालयहरूले महामारी अगाडि कै स्थितीमा विद्यालय खोल्ने मानसिकता बनाएता पनि यस विषयमा विद्यालयका तर्फबाट आफ्नो अवधारणा यस प्रकार रहेको छ । ४१.९ प्रतिशत विद्यालयहरूले दुई शिफ्ट गरेर विद्यालय खोल्ने बताएका थिए भने, १२.९ प्रतिशत विद्यालयहरूले कसरी विद्यालय पुनः खोल्ने भन्ने यकिन नभएको जानकारी दिएका छन । त्यसैगरी, ५०.२ प्रतिशत विद्यालयहरूले मात्र दुई मिटर दुरी कायम राख्न सकिने बताए पनि, ४२.२ प्रतिशत विद्यालयहरूले विद्यालयमा स्वास्थ्यकर्मीको व्यवस्था गरेर  बालबालिका को पठनपाठन लाई अगाडि बढाउन सकिने बताएका थिए । 

 

त्यसैगरी ७५.७ प्रतिशत विद्यालयहरूले शिक्षक र विद्यार्थीहरूले मास्कको प्रयोग  गरि भौतिक उपस्थितमै पठनपाठन गर्न सकिने धारणा व्यक्त गरेका थिए । यसै आधारमा धेरै परिसूचकहरूले विद्यालय व्यवहारिक रूपमा तयार नभएको र सुरक्षाको प्रतिबद्धता व्यक्त गर्न नसकेकाले तत्कालिन अवस्थामा विद्यालय सुचारू गरिहाल्नु सुरक्षित नभएको उल्लेख गरेका थिए । यसै अवस्थाको चित्रणले गर्दा  महामारीका कारण  बालबालिकाको शिक्षा पूर्ण रूपमा अवरुद्ध हुने जोखिम बढेको पाइएको छ । 

 

कोभिडको समयमा बालबालिकाहरू बढी फुर्सदिलो रहने, छिमेकी साथीसंगीको दवावमा रहने तथा शैक्षिक निर्देशनको कमीले गर्दा थुप्रै बालबालिकाहरू लागु पदार्थ दुरुपयोगको जोखिम तर्फ अग्रसर भएको देखिन्छ। जुन परिवार, समाजकै लागि चुनौतिूर्ण बनिरहेको छ । सहर र सुविधा अनि पहुँच भएकाहरु गलत व्यवहारमा फस्ने गरेका छन भने निम्न वर्गिय अभिभावकहरूले बालबालिकाहरूलाई बढी मात्रामा घरायसी तथा शारीरिक श्रममा संलग्न गराउने जोखिम पनि बढेको छ । विद्यार्थीहरूले विद्यालयमा पाइरहेको दिवा खाजा नपाउने, शिक्षकबाट निरन्तर पृष्ठपोषण र उत्प्रेरणाको अभाव भईरहने, विद्यालबाट घर–दैलो कार्यक्रमको अभावका कारणले नियमित शिक्षामा लामो रोकावटले गर्दा कतिपय विद्यार्थीहरू पुनः विद्यार्थी कै अवस्थामा सिकाइमा संलग्न हुन नसकेको पनि देखिएको छ ।

 

कोभिड–१९ महामारीका कारण बढ्दै गइरहेको यस्ता जोखिमहरूलाई समयमा नै अभिभावकहरूले ख्याल नगर्दा अभिभावकहरूबाट बालबालिका टाढिने जस्ता समस्याहरू पनि देखिने हुन सक्छ । अभिभावकहरूले विशेषगरी कोभिड–१९ महामारीले निम्त्याएको चुनौतीहरूलाई कसरी सामना गर्दै बालिकाहरूको शिक्षामा पहुँच बढाउने यो कुरा बुभ्न जरुरी छ । कोभिड–१९ महामारी फैलिन नदिन प्रयास स्वरूप नेपालले पनि विश्वका अधिकांश देशहरूले जस्तै  प्रयासहरु गरेको छ ।

 

हामी सबैले ती आवश्यक उपायहरु सावधानीहरु अपनाउनु पर्छ । तसर्थ, यतिबेला महामारीका कारण बालबालिकाको शिक्षा पूर्ण अवरुद्ध हुने जोखिम बढेको छ तसर्थ पनि आम अभिवावक र विद्ययालयहरुले नै उनीहरुको दैनीकीलाई कसरी सहज पूभावकारी र सिकाइ उन्मूख बनाउन सकिन्छ भनेर सम्बाद गर्दै उपायहरुको खोजि गर्न आवश्यक छ। विद्यालय बन्द हुँदा घरमै बसेर पढ्न, सिक्न सकिरहेका छैनन् । प्रायःजसो विद्यालयहरूले अनलाइन सिकाइका उपायहरु सुझाएका त छन तर बिभिन्न अबरोधका कारण पनि कक्षा प्रभावकारी हुन सकेका छैन्न भन्ने कुरा पछिल्लो समय विज्ञहरुले समेत बताउदैं आइरहेका छन ।

 

कोभिड–१९ ले विशेषगरी बालिकाहरू पुनः विद्यालय नजाने संभावनाका कारण विपन्न बालिकालाई धेरै असर गरेको छ । गत वर्ष निम्न आधारभूत (प्राथमिक) तहका २ लाख भन्दा बढी ९२,२३,२०१० बालिकाहरूले विद्यालय निरन्तर रुपमा गएनन भने, उच्च आधारभूत (निम्न माध्यमिक) तहका झण्डै १ लाख र (आधारभूत–माध्यमिक) तहका करिब ३ लाख ७० हजार बालिकाहरूले विद्यालय निरन्तर रुपमा उपस्थित नभएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रको प्रतिवेदनले देखाएको छ।

 

यदि यो तथ्याङ्क बढ्दै जाने हो भने, बालिकाहरू पुनः विद्यालय नजाने हो भने, यसले बालबालिकाको जीवनमा प्रत्यक्ष असर पर्ने देखिन्छ । जस्तै सानै उमेरमा हुने विवाह, जवरजस्ती विवाह तथा यौन दुव्र्यवहारका घटना उनीहरुमाथि बढ्न सक्छन् । नेपाल जस्तो विपन्न परिवार र बालबालिकाको सीमित निगरानी गरिने देशमा बस्ने बालिकाको हकमा यी जोखिमहरू उच्च हुने गर्दछन् ।

 

 

कोभिड–१९ ले सिर्जित यस अवस्थामा बालिकाहरूलाई सुरक्षित राख्न, बालिकाको सिकाइलाई निरन्तरता दिनु महत्वपूर्ण हुन्छ। उनीहरुको सिकाईको सुनिश्चित गर्न सामान्य प्रविधिको प्रयोग, वा अन्य माध्यम, सामान्य प्रविधि र अन्य प्रविधिको प्रयोग गर्न सकिन्छ । मिश्रित विधि लागू गर्न, बालिकालाई अन्य माध्यम मार्फत् निरन्तर पढ्न/सिक्न प्रोत्साहित गर्नु, परिवार र विद्यालयको दायित्व हो ।

 

शिक्षण संस्था बन्द हुँदा बालिकाहरूको संरक्षण, स्वास्थ्य र निरन्तर सिकाइ सुनिश्चित गर्नु, विद्यालय बाहिर हुँदा बालिकामाथि आइपर्न सक्ने सानै उमेरमा हुने विवाह, हिंसा र दुव्र्यवहार जस्ता जोखिम बारे प्रचारप्रसार गर्न, बालिकालाई सुरक्षित राख्न सक्ने उपायहरू प्रवद्र्धन गर्न, विद्यालय बाहिर रहेका सीमान्तकृत र बहिष्कृत बालिकाको आवाजलाई थप सशक्त बनाउने जस्ता धेरै कार्यहरू गर्न जरुरी देखिन्छ ।

 

विद्यालय बन्द भएको बेला सिकाइको निरन्तरता सुनिश्चित गर्ने र सुरक्षित, लैङ्गिक उत्तरदायी तथा बालमैत्री तरिकाले पुनः विद्यालय सुचारु गर्न विस्तृत, समयानुकूल योजना बनाउने जस्ता धेरै कार्यहरू गर्नु अहिलेको आवश्यकता हो । बालिकाको पढाइ÷सिकाइ प्रति अभिभावकहरूले चासो देखाइएन भने भोलि उनीहरुमा पर्ने असर डरलाग्दो हुन सक्छ ।

 

यदि विद्यालय बन्द भइरहेका छन् भने जतिसक्दो संभव भएका सबै माध्यम अपनाएर निरन्तरत सिकाइका लागि बालिकालाई सहयोग गर्नुपर्छ। बालबालिकाबीच कम्प्युटर,मोबाइल फोन र इन्टरनेटको पहुँचमा रहेको अन्तर हटाउनुपर्छ । बालिकाका लागि डिजिटल पहुँच र सीप प्रवद्र्धन गर्नु आवश्यक रहेको छ । 

 

हालको अवस्थामा पुनः विद्यालय खुले पछि पनि बालिकाहरू पुनः विद्यालय जान सक्ने सम्भावना न्युन रहेको पाइन्छ। बालिकाहरूलाई सुरक्षित साथ पुनः विद्यालय पठाउने कार्यमा लाग्न अभिभावकहरू  सक्रिय रहन जरुरी देखिन्छ । कोभिड पछिको अवस्था सामान्य रहे लगत्तै सुरक्षित अवस्थाको आकलन गरि बालिकालाई पुनः विद्यालय पठाउन जोड दिन जरुरी छ । त्यसैले बालिकालाई पुनः विद्यालय पठाउन परिवार र समुदायका अन्य सदस्यलाई प्रेरित गर्नुपर्दछ।

(यो सामग्री युनेस्को–UNFPA–UN Women को सहकार्यमा र KOICA को आर्थिक सहयोगमा किशोरकिशोरी र युवतीहरूलाई व्यापक यौन शिक्षा (CSE)प्रदान गरी शिक्षामा समान पहुँच सुनिश्चित गर्ने उद्देश्यले सुरु गरिएको संयुक्त कार्यक्रमको सहयोगमा तयार पारिएको हो ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँगको सहकार्यमा पाँच जिल्ला (अछाम, बाजुरा, रौतहट, सर्लाही र सुनसरी) मा यो कार्यक्रम लागू भएको हो ।)

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार