बुढ्यौलीपन
बुढ्यौलीपन साँचेर आँखाका कोस खुम्चिए
शिरको केश पाकेर धाँजा निधारमा भए
गालामाझ छ खोपिल्टो झुण्डियो किन लुर्कन ?
जुगाँ दाह्री भए लम्बा साधु सन्त नभैकन
टोपी खोलिदियो हेर्दा तालु खल्वाट जीवन
पाकेछन् कानका भुत्ला रूप रङ्ग गयो किन ?
आँसु झर्छ बनी झर्ना दृृष्टिदोष छ बादल
ओठ काम्दैछ बोलून् के ? खुट्टा थर्थर कायर
पहिल्याइन्न आबाज बोल्दैछ कोही लाग्दछ
बढ्ने स्वाँस्वाँ गरी स्वास लठ्ठीको भर पर्दछ
थोते बुझिन्न रे बोली बरालिन्छ कि लट्पट
जुरुक्क उठ्छ खै ज्यान ? उचालिन्छ र झट्पट
बुढ्यौली जिन्दगी सोध्ने प्रश्नै प्रश्न हरेकमा
आशामुखी छ संवेद्य करुणामय जीवन
रूपरङ्ग गयो सारा गर्छ को आड आदर ?
कठै ! इन्द्रिय खङ्ग्रङ्ग वृद्ध बन्धक भो घर
प्रतिकृया दिनुहोस