• शनिबार २-५-२०८१/Saturday 05-18-2024
डबली

बालचलचित्र प्रदर्शनी तथा संवाद कार्यक्रम सम्पन्न

काठमाडौं । चलचित्र विकास बोर्डको विशेष सहकार्यमा शैली थिएटरले शुक्रबार बालचलचित्र प्रदर्शनी तथा संवाद कार्यक्रम सम्पन्न गरेको छ। दिवंगत हुनुभएका वरिष्ठ कलाकार सानु कुमार ताम्रकार र अभिनेता शारुख ताम्रकारको तस्वीरमा माल्यार्पण तथा दीप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरिएको थियो ।

 

नेपालमा बाल चलचित्रको महत्त्व र आवश्यकता भन्ने मूल विषयमा रहेको संवादमा वक्ताको रूपमा कलाकार दिपक कुमार आचार्य (काकु),सहिन प्रजापति, र कुशल बिष्ट हुनुहुन्थ्यो। कामपा वार्ड नं ७ का वडाध्यक्ष बिमल कुमार होडा को प्रमुख आतित्यतामा भएको कार्यक्रममा कलाकार दीपक आचार्य (काकु) र अभिनेता कुशल बिष्टलाई विशेष सम्मान गरिएको थियो। बालबालिकामा चलचित्र, नाटक जस्ता प्रदर्शनकलाको विकास गर्नको लागि महानगरले विशेष काम गरेको प्रमुख अतिथि होडाले बताउनुभयो।

 

वक्ताहरूले नेपालमा बाल चलचित्रको विकास गर्नका लागि सम्बन्धित निकायले ध्यान दिनुपर्ने र बालबालिकालाई रचनात्मक बनाउनका लागि विशेष कदम चाल्नुपर्ने बताउनुभएको थियो। साथै उहाँहरुले पहिला र अहिलेको तुलनामा प्रविधिले ठूलो फड्को मारेको हुँदा अहिलेको बालबालिकाहरु प्रविधिसँग नजिक जोडिएका हुनाले उनीहरुले भविष्यमा अझ बढी चलचित्रको क्षेत्रमा योगदान गर्न सक्ने बताउनुभयो।

 

करिब ३०० जना बालबालिकाहरूको प्रत्यक्ष सहभागी भएको कार्यक्रममा बालबालिकाहरूले चलचित्र क्षेत्रको ज्ञान तथा चलचित्र हेरेर शिक्षा तथा मनोरञ्जन लिएका थिए। बाल चलचित्र प्रदर्शनीको क्रममा नेपाली, हिन्दी र इजिप्टमा बनेको छोटा बालबालिकासँग सम्बन्धित चलचित्रहरूको विशेष प्रदर्शनी गरिएको थियो। सिफलस्थित बालव्यवसायी स्कुलको कार्यक्रम हलमा भएको कार्यक्रममा फाउन्डेसन फर हेल्प,जीपी कलेज जस्ता संस्थाहरूको विशेष सहभागिता रहेको थियो।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार