कविता : विवेक नबितोस्
जति बिते पनि अझ धेरै बितोस्
'कलकलाउँदो वसन्त' अझै बितोस्
वितेकोमा होइन बिताउनुमा छ अब
खुसी-खुसीको जिन्दगी जिउनुमा छ अब
खेलौना पाउँदाको रमाइलो बित्यो
पाङ्ग्रा गुडाउँदाको उपलब्धि बित्यो
साथीसँग मुक्कामुक्की पछिको
अंकमलमा आएको आँसु सुक्यो
हनहनी आएको परीक्षकको ज्वरो
तरुनो हुँदाको कुतकुती
अभावले गाँजेको अभाव भित्रको जिन्दगी
बित्यो, बित्यो खै कता पो बित्यो ?
शिक्षक हुँदाको त्यो जिन्दगी
ज्ञान पीएको भ्रमानन्द
परिसर पुग्दा फुकेको छाती
अझै नखुम्चिएर फुकेको छ
प्रभुत्व कसको कति नै कहाँ छ र ?
ऐश्वर्याको सधैँ पखेटा पलाएको छ
फुकेको छातीले फुलाएको अहम् बितोस्
उज्यालो छर्ने विवेक नबितोस् !
प्रतिकृया दिनुहोस