लुम्बिनी लायन्स फाइनलमा प्रवेश
काठमाडौं । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ। मंगलबार सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले लगातार दोस्रो पटक उपाधि भिडन्तमा स्थान बनाएको हो।
सुदूरपश्चिमले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १६.४ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो। लुम्बिनीका निरोशन डिकवेलाले ३७ बलमा सात चौका र दुई छक्कासहित अविजित ५९ रन बनाए। कप्तान रोहित पौडेलले २८ बलमा २१ रन जोडे। दिलीप नाथ १० रन बनाएर अविजित रहे। सन्दीप जोराले आठ रन बनाए।
सुदूरपश्चिमका थारिन्दु रत्नायकेले दुई विकेट लिए। स्कट कुगेलेइन र हेमन्त धामीले एक–एक विकेट हात पारे। यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १०५ रन बनाएको थियो। उसका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५२ रन बनाए। इशान पाण्डेले २७ रन जोडे।
लुम्बिनीका रुबेन ट्रम्पलम्यान र शेर मल्लले दुई–दुई विकेट लिए। अभिषेक गौतम र किशोर महतोले एक–एक विकेट हात पारे। लुम्बिनीले अब क्वालिफायर–२ को विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ भने सुदूरपश्चिमले क्वालिफायर–२ मा एलिमिनेटरको विजेतासँग खेल्नेछ। एलिमिनेटरमा काठमाडौं गोर्खाज र चितवन राइनोज भिड्नेछन्।
सम्बन्धित समाचार




प्रतिकृया दिनुहोस