• बिहीबार ७-२६-२०८३/Thursday 11-12-2026
खेलकुद

सुदूरपश्चिमको रोमाञ्चक जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)  अन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सले २७ रनको जित निकालेको छ ।  प्रतियोगितामा सुदूरपश्चिम रोयल्सको यो चौथो जित हो । जनकपुर बोल्ट्सले भने लगातार तेस्रो खेलमा पराजय व्यहोरेको छ । 

 

सुदूरपश्चिम रोयल्सले दिएको १२१ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले १९.५ ओभरमा सवै विकेट गुमाएर ९३ रन मात्र बनाउन सक्यो । जनकपुर बोल्ट्सका लागि तृतराज दासले २१, जेम्स निशमले २०, राहुल यादवले ११ र आदित्य महताले १० रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अङ्कमा समेत रन जोड्न सकेनन् । बलिङतर्फ सुदूरपश्चिमका लागि स्कट कुग्लाइनले ३ तथा कप्तान दीपेन्द्रसिंह ऐरी, ईशान पाण्डे, अनिल खरेल, हेमन्त धामी र थरिन्दु रत्नायकेले समान एक एक विकेट लिए । 

 

कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२० रन बनाएको थियो । सुदूरपश्चिम रोयल्सका लागि ब्रेण्डन म्याक्मुलेनले ३३, थरिन्दु रत्नायकेले अविजित २६, आरिफ शेखले ११, सैफ जेब र विनोद भण्डारीले समान १०–१० रन बनाए ।  

 

बलिङतर्फ जनकपुर बोल्ट्सका लागि कप्तान हरमित सिंहले ४ तथा आदित्य महता, अभिषेक तिवारी, ह्यारी टेक्टर र राहुल यादवले समान एक एक विकेट लिए । जितपछि सुदूरपश्चिम रोयल्स अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । सुदूरपश्चिम रोयल्सले छ खेलबाट ८ अङ्क जोडेको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार