'रंगमञ्च रोमाञ्चक र पीडा मिश्रित सुखको बाटो हो'
हामी कोही पनि जीवनको योजना बनाएर जन्मेका होइनौ, सायद जन्मिनु सबैको लागि एक संयोग मात्र हो । जन्मेपछि कर्मको उडानमा समय आफ्नो साथमा रहे वा समयलाई आफ्नो साथमा ल्याउन मानिसले नानाथरीका योजनाहरु बुन्न थाल्छन्, ती योजनाहरुले जीवनलाई जति सरल बनाउँछन् सायद त्यति नै जटिल पनि ।
रंगमञ्च मेरा लागि यही हो, मेरो कर्म र जीवनमा यो एक सुन्दर संयोग हो । म कुनै योजना बुनेर र सपना बोकेर रंगमञ्चमा प्रवेश गरेको होइन । मलाई लाग्छ, सायद रंगमञ्चका आन्द्राभुँडीको लम्बाई, चौडाई नापेर कोही पनि रंगमञ्चमा आउँदैनन् वा आउन सक्दैनन् । भनौ यो संयोगले डोहोर्याउने बाटो हो । रंगमञ्चमा आफ्ना समय, शीप र पसिना खर्चेर आन्द्राभुँडीको चुमुक्क खुम्चिएको क्षेत्रफल र आयतन थाहा पाइसके पछि पनि यसैमा लागिरहनु चाहिँ एउटा लत हो, आफ्नो काम र कलाप्रतिको प्रतिवद्धता हो । अनि यही प्रतिबद्धताबाट बुनिने हुन् योजनाहरु र सपनाहरु ।
गाउँमा काकाबाउँहरुले गर्ने सांस्कृतिक कार्यक्रमहरुमा ‘ट्वाक्क टुक्क टाइप’ को चुट्किलाहरुमा सानो केटाको भूमिकामा कोही नभएपछि जवर्जस्ती मलाई राख्नु एक संयोग थियो । त्यतिखेर सजाय पाए जस्तो लागेपनि अहिले लाग्छ, त्यो एक सुन्दर संंयोग थियो । ती सांस्कृतिक कार्यक्रमको रिहर्सल हुने धादिङ सुनखानीको आफ्नै घरको आगँन सायद मेरो पहिलो रंगमञ्च थियो, जुन हेरेर म मुस्कुराउथेँ, मस्किन्थेँ, धकाउथेँ लजाउथेँ । रंगकर्म हुन्छ भन्ने कल्पना नि नभएको त्यो समयमा कुनै दिन म रंगकर्मी बन्नेछु भन्ने कुनै कल्पना हुने त कुरै भएन ।
२०६१/६२ सालमा काठमाडौंमा ११, १२ पढ्दाको समय हो, गुरुकुलसँग साइनो गासिएको, दर्शकको रुपमा । पुरानो बानेश्वरको डाँडामा जब म पहिलोपटक नाटक हेर्न पुगेँ तब मलाई लागेको थियो, म नाटक हेरिरहेको छैन, कुनै अलौकिक संसारमा जादु हेरिरहेको छु । गाउँमा रात परेपछि मइन्टोल बालेर गाना बजाना गरेको मात्र देखेको केटो मञ्चमा लागेको सेट र लाइट देखेर सुरुमा त ट्वाँ पर्यो । जब कलाकारहरु मञ्चमा प्रवेश गरे, केटो झ्न छक्क पर्यो, सेट र पात्रतिर फोकस गरिएको लाइटले बनाएको बाटो देखेर केटो त्यो भन्दा बढी ट्वाँ पर्यो । यस्तो लाग्थ्यो केटो नाटक हेर्न गएको होइन केहि अनौठो कुरा हेर्न गएको हो ।
आनाकानी गर्दै २५ रुपैयाँको टिकट काटेर छिरेको त्यो परिवेश नै एक घटना जस्तो लागिरहेको थियो, उत्तिकै आश्चर्य र उत्साहजनक । अनि मञ्चमा घटना र परिस्थिति भन्दा पनि जताजताबाट लाइट बल्छ त्यता त्यता हेर्न थालेँ । हरेक पटकको लाइट सिफ्टिङले मेरो आँखाको फोकसलाई पनि लाइट तिरै सिफ्ट गराउथ्यो । त्यही भएर मैले नाटक ‘पुतलीको घर : डल्स हाउस’ बुझ्न अर्को पटक फेरि २५ रुपैयाँको जोहो गर्नुपर्यो ।
बिस्तारै २५ रुपैयाँ जोहो गर्ने लत बस्यो र अन्ततः त्यो आवश्यकताका रुपमा परिणत भयो । गुरुकुल मेरो लागि अर्को संयोग भएको थियो । तर रंगमञ्चतिर तान्ने यस्ता संयोगहरुले यत्तिकै छाडेनन् ।
आर.आर. क्याम्पसमा स्नातक पढ्दै गर्दा एकदिन फोनमा निम्तो आयो आफू अभिनित नाटक हेर्न, साथी सञ्जोग ठकुरीको । रसियन कल्चरल सेन्टर मेरा लागि नौलो त थियो नै, यहाँ अरु सुन्दर संयोग बन्दै गए । नाटक हेर्दै जाँदा मैले चिनेको अर्को एक जना पनि मञ्चमा जोडदार अभिनय गरिरहेका थिए, आर.आरमा रेडियो पत्रकारिताको प्रयोगात्मक कक्षा लिने समन्त आचार्य सर । केही दिनपछि क्याम्पसमा सरलाई उडन्ते पारामा भनियो, ‘सरले त खतरा अभिनय गर्नुहुँदोरहेछ’ ‘ए तिमीहरुले हेर्यौ ?’ सरले उत्साहित हुँदै भन्नुभयो, ‘अर्को नाटकको रिहर्सल हुदैछ धेरै क्यारेक्टर छ, खेल्ने हो ?’ सातादिन पछि सुरु हुने परीक्षाको तयारी गरिरहेको यो केटोले अनयासै फुत्तै बोल्यो, ‘खेल्ने हो सर, कहाँ आउँ ?’
सायद मेरो उत्तर एउटा संयोग मात्र थिएन, गाउँमा गरेको ट्वाक्क टुक्क अभिनय, गुरुकुलको जादुमयी प्रस्तुति प्रतिको मोहबाट अन्तरकुन्तरमा अचेत रुपमा बनेको रंगमञ्च प्रतिको चाहनाको विष्फोटन थियो । त्यही दिनदेखि रसियन कल्चर सेन्टरको यात्रा सुरु भयो, रङ्गकर्मी नवराज बुढाथोकी र शैली थिएटरको साथमा । साना ठेसले पनि हिडदा हिडदैं दिशा परिवर्तन गरे जस्तै मलाई पनि ठेस लाग्यो तर उल्टै उत्साहित हुँदै ठेसले देखाइदिएको दिशातिर हिडे परिक्षाको तयारी छाडेर । अहिलेसम्म यही दिशामा हिंडिरहेको छु ।
संयोगहरुले निर्माण गरेको यात्रामा थिएटर मल नाटकघर खोल्नु चाहि कुनै संयोग थिएन । यो योजनालाई मूर्त रुप दिन हामीले थिएटर मलको यात्रा गरेका थियौं । तर हाम्रो योजना र सपनाले बुनेको नाटकघर भत्काउन बाध्य हुनु चाही एउटा दुर्घटनाको संयोग भै दियो ।
कुनै प्रशिक्षण नलिई मनको हुटहुटी र नाटक हेरेको भरमा सुरु गरेको रंगयात्रा बिस्तारै औपचारिक, अनौपचारिक रुपमा प्रशिक्षित हुँदै विदेशका केही नाट्य महोत्सवहरु र कार्यशालाहरुसम्म आइपुगेको छ । यो अनुभवबाट के अनुभूति भईरहेको छ भने, हाम्रोमा मात्र होइन अन्यत्र पनि रंगमञ्च एउटा रोमाञ्चक र पीडा मिश्रित सुखको बाटो हो ।
अहिले नेपाली रंगमञ्चमा हामी व्यवसायिकताको बहस गरिरहेका छौं । मलाई लाग्छ यो बहसमा हामी सबै रंगकर्मीले बुझ्नै पर्ने कुरा हो, रमञ्चको व्यवसायिकतामा हामी ‘प्रोफेसनालिज्म’ खोजिरहेका छौं कि ‘विजनेस’ ?
सम्बन्धित समाचार




प्रतिकृया दिनुहोस