• बुधबार ६-२८-२०८३/Wednesday 10-14-2026
देश/प्रदेश

काङ्ग्रेसले विनिताको नतिजा होल्ड गर्ने

काठमाडौँ।नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुला केन्द्रीय सदस्य पदमा निर्वाचित हुने मत पाएपनि उम्मेदवार विनिता खड्काको नतिजालाई पार्टी केन्द्रीय निर्वाचन समितिले हाललाई 'होल्ड' मा राख्ने भएको छ। खड्काविरुद्ध अदालतमा मुद्दा विचाराधीन रहेका कारण विजेता सूचीमा परेर पनि उनलाई औपचारिक रूपमा निर्वाचित घोषणा नगरी यथास्थितिमा राखिएको निर्वाचन समितिले जनाएको छ।


१५ जना निर्वाचित हुनुपर्ने महिला खुला कोटामा खड्काको नतिजा रोकिएपछि हाललाई १४ जना मात्र केन्द्रीय सदस्य निर्वाचित भएको घोषणा गरिएको छ। प्राप्त मतपरिणाम अनुसार विनिता खड्काले २ हजार ८६६ मत प्राप्त गरेकी थिइन्, जुन निर्वाचित हुन पर्याप्त मत संख्या हो। तर, कानुनी प्रक्रियाको टुंगो नलागेसम्म उनको नतिजा औपचारिक रूपमा सार्वजनिक नगरी होल्डमै राख्न पार्टीका उच्च पदाधिकारीले आग्रह गरेपछि  समितिले होल्ड राखेको हो।


महिला खुलातर्फको १५ पदका लागि ३६ जना उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका थिए। घोषित अन्तिम मतपरिणाम अनुसार वासना थापा सर्वाधिक ५ हजार १९३ मत प्राप्त गर्दै पहिलो स्थानमा निर्वाचित भएकी छिन्। त्यस्तै उर्मिला थपलिया ३ हजार ९७० मतसहित दोस्रो र निमा गिरी ३ हजार ९०६ मत प्राप्त गरी तेस्रो स्थानमा विजयी भएका छन्। कुसुमदेवी थापाले ३ हजार २५० मतसहित चौथो र धनाकुमारी खतिवडाले ३ हजार २३१ मतसहित पाँचौँ स्थान सुरक्षित गरेका छन्।


निर्वाचित हुने अन्य सदस्यहरूमा अनिता देवकोटा (२ हजार ८५३), रीता सेन ओली (२ हजार ७००), सृजना अधिकारी (२ हजार ६५८), मुना भुसाल (२ हजार ५१४), गीता सत्याल (२ हजार ४२०), कल्पना तिवारी (२ हजार ३६३), रीता थापा मगर (२ हजार ३०८), गंगा दाहाल (२ हजार २९८) र उमा दाहाल (२ हजार २१५ मत) रहेका छन्।


१५औँ महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय नेतृत्व चयन गर्ने क्रममा पदाधिकारीसँगै विभिन्न समावेशी समूह र खुलातर्फका केन्द्रीय सदस्यहरूको मतपरिणाम सार्वजनिक गर्ने कार्य अन्तिम चरणमा पुगेको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार