• बिहीबार ६-८-२०८३/Thursday 09-24-2026
मनोरञ्जन

महासङ्घकी पूर्वअध्यक्ष भवानी राणाको 'शिव ताण्डव' सार्वजनिक

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घकी पूर्वअध्यक्ष भवानी राणाको स्वरमा रहेको 'शिव ताण्डव' सार्वजनिक भएको छ। राणाको प्रस्तुतिमा राणा र सरस्वती खत्रीको स्वर रहेको उक्त स्तोत्रमा सुरसुधा सुरेन्द्रको संगीत संयोजन रहेको छ। पाटनमा आइतबार साँझ आयोजित विशेष समारोहबीच नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले 'शिव ताण्डव'को औपचारिक विमोचन गरे।

 

कार्यक्रममा राणाले 'शिव ताण्डव'लाई भगवान् शिवप्रति समर्पित सांगीतिक अर्पणका रूपमा प्रस्तुत गरेको बताइन्। हालैको बाढी तथा पहिरोमा परी ज्यान गुमाएका नेपाली तथा भारतीय नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले विपत्तिबाट प्रभावित परिवारप्रति गहिरो समवेदना प्रकट गरिन्। "'शिव ताण्डव' केवल एउटा सांगीतिक प्रस्तुति होइन, भगवान् शिवप्रति समर्पित एउटा विनम्र प्रार्थना हो। नेपालले अहिले भोगिरहेको पीडाका बीच यो सिर्जना आशा, शक्ति र शान्तिको सन्देश बनोस् भन्ने हाम्रो चाहना हो," राणाले भनिन्।

 

 

राणाले 'शिव ताण्डव'ले नेपाल र भारतबीचको शताब्दीयौँ पुरानो सांस्कृतिक तथा आध्यात्मिक सम्बन्धलाई अझ नजिक ल्याउने विश्वास व्यक्त गरिन्। कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले 'शिव ताण्डव'ले नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। भारतीय दूतावासको सुरसुधा र सरस्वती खत्रीसँग लामो समयदेखिको सहकार्य रहेको उल्लेख गर्दै उनले गान्धी जयन्ती तथा लुम्बिनीमा आयोजना हुँदै आएका नेपाल-भारत सांस्कृतिक कार्यक्रममा उनीहरूले पुर्‍याउँदै आएको योगदानको प्रशंसा गरे।

 

राजदूत श्रीवास्तवले भवानी राणाको व्यावसायिक तथा सांस्कृतिक योगदानको समेत प्रशंसा गरे। सफल व्यवसायी तथा एफएनसीसीआईकी पूर्वअध्यक्षका रूपमा आफूले राणालाई चिनेको उल्लेख गर्दै उनले नेपाल–भारतबीचको आर्थिक साझेदारीलाई अघि बढाउन राणाले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए। राणाको बहुप्रतिभाशाली व्यक्तित्वको चर्चा गर्दै उनले आगामी दिनमा पनि यस्ता सांगीतिक सिर्जना प्रस्तुत हुने अपेक्षा व्यक्त गरे।

 

नेपाल र भारतबीचको ऐतिहासिक तथा धार्मिक सम्बन्धको चर्चा गर्दै राजदूत श्रीवास्तवले काठमाडौँ र वाराणसीलाई सांस्कृतिक रूपमा एकअर्कासँग जोडिएका सहरका रूपमा व्याख्या गरे। "काठमाडौँ भगवान् पशुपतिनाथको सहर हो भने वाराणसी काशी विश्वनाथको सहर हो। यी दुई सहरलाई सांस्कृतिक रूपमा एकअर्काका सहोदर सहरका रूपमा हेर्न सकिन्छ," उनले भने। काशी विश्वनाथमा नेपाली मन्दिर तथा पशुपतिनाथ मन्दिरमा भारतीय पुजारी रहने परम्पराले दुई देशबीचको सम्बन्धको गहिराइलाई प्रतिबिम्बित गर्ने उनको भनाइ थियो।

 

भिडियोः Shiva Tandav || Bhawani Rana, Saraswoti Khatri || Nepali Shiva Bhajan Song || Sur Sudha Surendra

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार