न बत्ती, न बाटो, न सञ्चार - रसुवाका बाढीपीडितको व्यथा
काठमाडौं । बाढीले व्यापक क्षति पुर्याएका जिल्लामध्ये रसुवाको एक क्षेत्रका प्रभावित व्यक्तिहरूले राहत नपाएको मात्र नभई हालसम्म सडक र सञ्चारसम्पर्कविहीन समेत रहेको बीबीसीलाई बताएका छन्।
विगत पाँच दिनयता बिजुलीबिना बस्नुपरेको र टेलिफोन सम्पर्कका लागि मोबाइल चार्ज गर्न पनि समस्या रहेको उनीहरूको दुखेसो छ। "बाल्नलाई न बिजुली छ, कतै जानलाई न सडक छ, राहत त यहाँ पुगेकै छैन," आमाछोदिङमो गाउँपालिका-४ का ४० वर्षीय हेम्बे तामाङले आइतवार बीबीसीसँग भने।
हेम्बेकी छोरी काठमाण्डूमा छिन्, ज्वाइँ बाढीपछि हराइरहेका छन्। "जसका आफ्ना बितेका छन्, ती रोइरहेका छन्; जसका हराइरहेका छन्, ती तड्पिरहेका छन्," भारी आवाजमा उनले सुनाए।
बत्ती नभएर मोबाइल चार्ज गर्न नपाउँदा आफन्तसँग कुरा गर्न नपाउनुको फेरि बेग्लै पीडा छ। पालिका कार्यालयमा सोलर छ, जहाँ घण्टौँ पालो कुरेर मोबाइल चार्ज गर्न पाउनेहरूले थोरै राहत पाएको हेम्बेले बताए।
"दुईतीन घण्टा पालो कुरेर चार्ज गर्यो, थोरै कुराकानी गर्दा र समाचार हेर्दा मोबाइलको चार्ज सकिने रहेछ," उनले अगाडि थपे। "रोडको चिन्ता छ। बाटो खुल्न पाए हुन्थ्यो। राहत त खोइ आउँछ कि आउँदैन।"
सो गाउँपालिकाकी उपाध्यक्ष चण्डिका तामाङले राहतको नाममा अहिलेसम्म केही नआएको गुनासो गरिन्। "खाली मिडियाबाजी भएको छ। यहाँ एक थोपा राहत झरेको छैन," उनले गुनासो गरिन्। आफन्तसँग सञ्चारसम्पर्क हुन नपाएका अवस्थामा स्थानीयवासीहरूले पीडा व्यक्त गरिरहँदा उनीहरूको चासो सम्बोधन गर्न प्रयास गरिरहेको गाउँपालिका अध्यक्ष बुचुङ तामाङले बताए।
"हामीले केही जेनरेटर उपलब्ध गराइदिन आग्रह गरिरहेका छौँ। तर अहिले आएको छैन भन्ने जवाफ पाएका छौँ," बीबीसी न्यूज नेपालीसँग उनले भने। स्थानीय बासिन्दाले हाल आफूहरूसँग उपलब्ध खानेकुराले गर्जो टारिरहेका उपाध्यक्ष चण्डिकाले बताइन्। सञ्चारसम्पर्कको आवश्यकताबारे उनले भनिन्, "बरु तत्कालै भोकमरीले नमर्लान्, आफ्ना मान्छेहरूसँग टेलिफोन सम्पर्क नभएर पीरले पो मर्लान् जस्तो छ।"
विनाशकारी बाढीबाट प्रभावित नुवाकोटको बेत्रावतीमा पनि राहत नपुगेको प्रभावितका आफन्तले बताएका छन्। मामाघरका छ जना सदस्य गुमाएका नुवाकोट दरबारका सुरेन्द्रलाल श्रेष्ठले अहिलेसम्म राहत नपुगेको बीबीसीलाई बताए। "[आइतवार] भर्खरै गृहमन्त्रीज्यू आउनुभएको थियो। उहाँले हेलिप्याड बनाउन भन्नुभयो। हेलिप्याड बन्नासाथ हेलिकप्टरबाट राहत पठाउने कुरा छ। अहिलेसम्म त केही छैन," बीबीसी न्यूज नेपालीसँग उनले सुनाए। त्यहाँ घरका छतमा रहेका केही शव उठाउन बाँकी रहेको पनि श्रेष्ठले सुनाए। गनी अन्सारी/बीबीसी न्यूज नेपाली
सम्बन्धित समाचार





प्रतिकृया दिनुहोस