• सोमबार १२-३०-२०८२/Monday 04-13-2026
स्वास्थ्य

केएमसी अस्पतालको अत्याधुनिक उपचार सेवा सुरु

भक्तपुर । भक्तपुरको दुवाकोटमा काठमाडौँ मेडिकल कलेज (केएमसी) अस्पतालले अत्याधुनिक उपचार सेवा आइतबारदेखि औपचारिक रूपमा सुरु गरेको छ। अस्पतालका सञ्चालक एवं प्रतिनिधिसभाका निवर्तमान सांसद डा. सुनील शर्माले एक विशेष समारोहका बिच अस्पतालको सेवा शुभारम्भ गरेका हुन । हृदयघात र मस्तिष्कघात (ब्रेन स्ट्रोक) जस्ता जटिल अवस्थाका बिरामीलाई समयमै उपचार दिने गरी उक्त शाखा विस्तार गरिएको डा. शर्माले बताए ।

 

भक्तपुरबाट काठमाडौँका ठुला अस्पताल पुग्न लाग्ने समय र ट्राफिक जामका कारण बिरामीले ज्यान गुमाउनुपर्ने अवस्थालाई ध्यानमा राखेर गर्दै १५ देखि २० मिनेटभित्रै आकस्मिक उपचार सम्भव तुल्याउन  अस्पताल सञ्चालनमा ल्याइएको उनको भनाई छ । उनका अनुसार, विशेष गरी ब्रेन स्ट्रोक भएर टाउकोको नसा फुट्दा वा ब्लक हुँदा टाउको नचिरीकन हात वा खुट्टाको नसाबाट तार र बेलुन पठाएर गरिने उपचार पद्धति यहाँ उपलब्ध छ । यस्तो प्रविधि काठमाडौँ उपत्यका बाहिरका थोरै स्थानमा मात्र सम्भव रहेको र दुवाकोटमा यसको सुरुवात गरेका हौ । 

 

अस्पताल मार्फत स्थानीय बासिन्दालाई गुणस्तरीय र सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य राखिएको अस्पताल प्रशासनले जनाएको छ । तीन सय शय्याको क्षमता सहित सञ्चालनमा आएको उक्त अस्पतालले २४ सै घण्टा विशेषज्ञ चिकित्सकमार्फत सेवा प्रदान गर्ने जनाएको छ । विशेषगरी मुटु तथा रक्तनलीसम्बन्धी जटिल रोगहरूको उपचारका लागि यहाँ अत्याधुनिक क्याथल्याब सेवा उपलब्ध गराइएको छ, जसले हृदयघातजस्ता संवेदनशील अवस्थामा बिना ठूलो शल्यक्रिया उपचार सम्भव बनाउने विश्वास लिइएको छ । 

 

ईआरसीपी सेवामार्फत पित्तनलीमा जमेको ढुंगा बिना शल्यक्रिया निकाल्न सकिने सुविधा पनि अस्पतालले उपलब्ध गराएको जनाएको छ । मिर्गौला तथा कलेजो प्रत्यारोपणका लागि छुट्टाछुट्टै तर आपसमा समन्वयित अत्याधुनिक शल्यक्रिया कक्षहरू निर्माण गरिएको छ, जसले जटिल शल्यक्रियालाई थप सुरक्षित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । 

 

यस्तै आमा र शिशुको स्वास्थ्यलाई विशेष प्राथमिकता दिँदै अस्पतालले स्त्री तथा प्रसूति सेवा सुदृढ बनाएको छ। नवजात शिशुका लागि भेन्टिलेटरसहितको एनआईसीयू सुविधा उपलब्ध गराइएको छ, जसले जटिल अवस्थाका शिशुहरूको उपचारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । यसैगरी, इन्डोस्कोपी, कोलोनोस्कोपी, एक्स–रे, एमआरआई तथा सीटी स्क्यानजस्ता आधुनिक परीक्षण सेवाहरू पनि अस्पतालमा सञ्चालनमा छन्, जसले रोगको समयमै पहिचान र उपचारमा सहयोग पु¥याउनेछ । 

 

अस्पतालले निःशुल्क डायलाइसिस सेवा समेत सञ्चालनमा ल्याएको छ । साथै, नेपाल सरकार अन्तर्गतका स्वास्थ्य बिमा, सामाजिक सुरक्षा तथा विपन्न नागरिकलाई लक्षित विभिन्न कार्यक्रमहरू पनि यहाँ लागू गरिएको छ । विपन्न वर्गका बिरामीका लागि निःशुल्क औषधि र उपचारको विशेष व्यवस्था समेत गरिएको अस्पताल प्रशासनले जनाएको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार