• आइतबार २-१९-२०८२/Sunday 06-01-2025
देश/प्रदेश

जनकपुरधाममा विपद् संवाद,तातो हावाले पार्न सक्ने असर कम गर्ने उपायबारे छलफल

जनकपुर । तातो हावाको लहरले मधेश प्रदेशको जनजीवन र जीविकोपार्जनमा पर्न सक्ने गम्भीर असरहरु कम गर्ने उपाय तथा सरोकारवालाको प्रतिबद्धताहरुबारे जनकपुरधाममा विपद् संवाद गरिएको छ।

 


राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आयोजना र मधेश प्रदेश सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयको सहकार्यमा आयोजित संवादमा सरोकारवालाले तातो हावाको लहर मधेश प्रदेशका मुख्य प्रकोपहरुमध्ये एक भएको मान्दै यसबाट जनजीवनमा पर्ने नकरात्मक असर कम गर्न आ-आफ्नो जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभएको छ।

 


संवादका प्रमुख अतिथि एवं राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का विज्ञ सदस्य डा. गंगालाल तुलाधारले जल तथा मौसम विज्ञान विभागले यस बर्षको मनसुनमा सरदरभन्दा बढी बर्षाका साथसाथै अधिकतम तापक्रम पनि बढी हुने आकलन गरेकोले प्रदेश सरकारका साथै स्थानीय तहहरु विशेष चनाखो हुनुपर्ने बताउनुभयो।

 

 
मधेश प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव मदन भुजेलले तातो हावाको जोखिमलाई प्रदेश सरकारले गम्भीर रुपमा लिएको उल्लेख गर्दै उचित स्रोत विनियोजन र परिचालनमा ध्यान दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।त्यसैगरी, मधेश प्रदेश सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव विमल प्रसाद बरालले तातो हावाको लहरले मधेश प्रदेशमा पार्न सक्ने प्रभावहरु कम गर्न हरित अनुकूलन कार्यहरुलाई प्रबर्द्धन गरिने भन्नुभयो। 

 

 

प्राधिकरणका उपसचिव वेदनिधि खनालको अध्यक्षता भएको संवादको आयोजना  स्टार्ट फण्ड नेपाल, मर्सी कोर नेपाल, केयर नेपाल, रेन परियोजना, डीपीनेट नेपालले समन्वय तथा सहयोग गरेका छन ।जल तथा मौसम विज्ञान विभागका अनुसार यो मनसुनमा मधेश प्रदेशको पश्चिमी भूभागमा अधिकतम तापक्रम सरदरभन्दा बढी रहने सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशतसम्म रहेको छ भने यसै प्रदेशको पूर्वी भूभागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशतसम्म रहेको छ।

 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार