सियाटलमा नेपथ्यको पहिलो प्रस्तुति

सियाटल । विशाल ताल र हिउँ थुप्रिएका पर्वतहरूले घेरिएको मनमोहक सियाटलमा नेपथ्यले शुक्रबार सानदार उपस्थिति जनाएको छ । ब्यान्डले नयाँ-पुराना लोकरक गीत प्रस्तुत गरेर दर्शक(श्रोतालाई भरपूर मनोरञ्जन दिएको छ ।
सातौँ अमेरिका यात्रामा रहेको नेपथ्य सियाटलमा पहिलोपटक प्रस्तुत भएको हो । यस वर्षको अमेरिका यात्रामा भने ब्यान्डको यो दोस्रो शो हो । नेपथ्यले एक साताअघि टेक्सास राज्यको राजधानी अस्टिनमा पहिलो कन्सर्ट गरेको थियो।सियाटलको ‘मुर थिएटर’ का ढोकाहरू निर्धारित समय अनुसार नै शुक्रबार बेलुकी ठीक ७ बजे खुला गरिएका थिए भने त्यसको एक घण्टापछि शो सुरु भयो । नेपथ्यका मुख्य गायक अमृत गुरुङले गीत गाउँदा दर्शकले पनि सँगसँगै गाए, नाचे, रमाइलो गरे ।
संगीतमा रमाउने संसारभरिका श्रोता(दर्शकलाई नेपालीपनका माध्यमबाट जोड्दै आएको अग्रणी ब्यान्डलाई हेर्न यहाँ विभिन्न ठाउँबाट नेपाली ओइरिएका थिए । अमेरिकी सहरको कन्सर्टमा झुम्न क्यानाडाबाट समेत नेपाली दर्शक आइपुगेका थिए ।दर्शकमा नेपाली मात्रै थिएनन् । विदेशी अनुहारहरु पनि देखिन्थे । तिनैमध्येका थिए जोन सिमिङटन र कोल फोरम्यानको जोडी । भूकम्प गएका बेला एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको प्रतिनिधि भई नेपालको सेवामा लामो समय खटिएका जोनले नेपाली भाषा र संस्कृतिको पनि थोरै ज्ञान लिएका रहेछन् ।
‘मैले नेपथ्यबारे उतै थाहा पाएको थिएँ । त्यसपछि युट्युब र स्पोटिफाईमार्फत पछ्याउँदै आएको छु,’ जोनले सुनाए, ‘यो ब्यान्ड सियाटलमै आउँदै छ भन्ने थाहा पाएपछि पार्टनरसमेत लिएर आएको हुँ ।’ कन्सर्टमा प्रस्तुत अधिकांश गीतमा सबैजसो श्रोताले साथसाथै गाइरहेको देख्दा असाध्यै रमाइलो लागेको उनले बताए ।फोटो : दिपित राज
प्रतिकृया दिनुहोस