• बिहीबार २-२-२०८२/Thursday 05-15-2025
मनोरञ्जन

घर हुने र बनाउन चाहनेहरूको कथा सिनेमामा

काठमाडौं । अभिनेत्री केकी अधिकारी एक वर्षपछि पर्दामा देखिने भएकी छन् । ‘के घर के डेरा : घर नं २’ मार्फत उनी एक वर्षपछि सेतो पर्दामा देखिने भएकी हुन्।केकी ‘बोक्सीको घर’पछि हालम्म कुनै पनि चलचित्रमा देखिएकी छैनन् । ‘बोक्सीको घर’मा मुख्य भूमिकामा अभिनय सँगै उनी निर्मात्री पनि थिइन् ।




एउटै व्यक्तिले धेरै काम लिँदा त्यसको तनाव र दौडधुपले केही समय ब्रेक लिएको उनले बताएकी छन् । एक वर्षपछि आफूले चाहे अनुसारको काम गर्न पाएको केकीले बताइन् ।‘के घर के डेरा : घर नं २’ लाई दीपेन्द्र के खनालले निर्देशन गरेका छन् । केकी यो सिनेमाको मुख्य भूमिकामध्ये एकमा छिन्।केकी र दीपेन्द्रको यो पहिलो सहकार्य हो । केकी अभिनेत्रीका रूपमा र दीपेन्द्र निर्देशकका रूपमा स्थापित भए पनि यी दुईले हालसम्म कुनै पनि सिनेमामा सहकार्य गरेका थिएनन् ।




“उहाँ (दीपेन्द्र के खनाल) आफैँमा अब्बल कथावाचक हो । तर, उहाँसँग काम गर्ने अवसर मिलेको थिएन,” केकीले भनिन्, “पहिलोपटक यति राम्रो सिनेमामा काम गर्ने मौका मिल्यो ।”केकीले मौलिक र आम नेपालीको कथामा सिनेमा ‘के घर के डेरा : घर नं २’ बनेको बताइन् । घर हुने र बनाउन चाहनेहरूको कथा सिनेमामा रहेका उनको भनाइ छ।गाउँबाट काठमाडौं आएर संघर्ष गर्नेहरूको कथा सिनेमामा रहेको उनको भनाइ छ । काठमाडौंका कथालाई मौलिक होइनन् भन्ने बुझाइ पनि कतिपय अवस्था रहेको उनले बताएकी छन् ।



“अमेरिकामा बसेर नासामा काम गर्ने नेपालीको कथा पनि नेपाली मौलिक कथा हो । नेपाली साइन्स फिक्सन पनि नेपाली कथा हो,” उनले भनिन्, “अब गाउँ मात्रै होइन यतातर्फ पनि कथा भनिनुपर्छ । गाउँ, सहर, विदेशका नेपालीका कथा पनि हाम्रै हुन् ।”‘के घर के डेरा : घर नं २’को सबैभन्दा बलियो पक्ष यसको स्क्रिप्ट निर्देशन रहेको उनको भनाइ छ । कथा, निर्देशन, अनुभवी कलाकार र कामप्रतिको डेडिकेसनले सिनेमा राम्रो बनेको उनको विश्वास छ ।




चलचित्रको कथा साहित्यकार बुद्धिसागरले लेखेका छन् । उनको यो पहिलो स्क्रिप्ट हो ।चलचित्रमा केकीसँगै खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारको अभिनय छ । ‘के घर के डेरा : घर नं २’ जेठ २ गते रिलिज हुँदैछ ।



चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो । कृष्णबहादुर थापाको सिनेमामा छायांकन रहेको छ ।‘के घर के डेरा : घर नं २’को कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् । निर्माताका रूपमा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन रहेका छन् ।

 
 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार